‘घण्टी विद्रोह’ र रित्तो ढुकुटी !

मध्य पश्चिमी एसिया एवम् उत्तरी अफ्रिकामा राजनैतिक भ्रष्टाचार, मानवअधिकारको उलङ्घन एवम् शोषण, प्रशासनमा नोकरशाही प्रवृत्ति, बेरोजगारी समस्या, चरम गरिबी, युवा वर्गमा मौलाएको असन्तोष र सत्ताको नालायकीले सर्वसाधारण मानिस निसास्सिँदै थिए । सन् २०१० मा ट्यूनीशियानिवासी फलफूलबिक्रेता मोहम्मद बोआजिजीले प्रहरीको भ्रष्टाचार एवम् दूर्व्यवहार सहन नसकी आत्मदाह गरे । उनको मृत्युले जनतामा ब्यापक आक्रोश उत्पन्न गरायो । सरकारविरोधी प्रदर्शनमा समाजका हरेक मानिस समावेश हुन थाले । अन्तत: उक्त प्रदर्शन ‘अरब विद्रोह’मा परिणत हुन पुग्यो । जसले थुप्रै शासकलाई सडकमा पुर्‍यायो । तथापि, ‘अरब स्प्रीङ्ग’को रापताप त्यसै सेलाएर गयो ।

४ अक्टोबर २००९ मा Beppe Grillo, एक हास्य कलाकार एवम् ब्लगर र Gianroberto Casaleggio, एक वेब रणनीतिकारद्वारा स्थापित ‘फाइभ स्टार मुभमेन्ट’ले संसारको ध्यान खिच्न सफल भयो । इटलीमा सुरु भएको फाइभ स्टार मुभमेन्टको नारा थियो- ‘राजनीतिको फोहर सफा गरौँ ।’ प्रविधि, प्रेस-सञ्चार, नैतिक उपभोक्तावाद जस्ता विषयमा ब्लग चलाउँदै, प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्रको प्रवर्द्धन, लोकपालको प्रत्यक्ष निर्वाचन, सहभागितामूलक बजेटको बहस पैरवी, सार्वजनिक प्रशासकहरूको लागि बाध्य जनादेश जस्ता आकर्षक नारा दिँदै उदाएको पाँच तारा आन्दोलन छोटो समयमा इटालीको सत्तामा पुग्न सफल भयो । दुर्भाग्य ! आफैले उठाएका मुद्दाको बस्तुनिष्ठ समाधान दिन असफल बन्दै अस्तित्वरक्षाको लडाइँ लड्दै छ ।

संसद् विघटन, नेकपाको रहस्यमयी विघटन, सर्वोच्च अदालतद्वारा निर्मित देउवासरकारको अल्छीलाग्दो सत्ता सञ्चालनपश्चात् मुलुकमा सनातन धर्मको पक्षधर र सङ्घीयताविरोधी शक्तिको उदय हुने सङ्केत पश्चिमी शक्तिले पाइसकेको थियो । ‘अरब स्प्रीङ्ग’ र ‘फाइभस्टार मुभमेन्ट’मा सोसल मिडियाको भूमिका र तागत बुझेको पश्चिमी शक्तिले नेकपाको विग्रहपश्चात् उठ्न सक्ने धार्मिक, सांस्कृतिक आन्दोलनलाई निस्तेज गर्न अवसरवादी र अति महत्वकाङ्क्षीलाई राजनीतिक मैदानमा उतार्ने तयारी गरिरहेको थियो । संसद् र सडक कब्जा गर्दै एमसीसी सम्झौताको संसदीय अनुमोदन गराउँदा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको घटेको वजन तत्काल बढाउन सम्भव देखिएन । कमल थापाको वीभत्स प्रयोगका बाबजुद खारिएको राजेन्द्र लिङ्देनको छविले सनातन धर्मको पक्षमा आउने चुनावी लहरलाई धिमा बनाउन प्लान ‘बि’अन्तर्गत ‘घण्टी विद्रोह’ जन्माइयो ।

पटके परिवर्तनपश्चात् अन्याय, ढिलासुस्ती र भ्रष्टाचार घट्नुको सट्टा झनै मौलाउने वातावरण गज्जबले तयार गरियो । ढुकुटी र दलीय हैसियतभन्दा ज्यादा सपना बाँड्दै जनताको भावनासँग खेलबाड गरेको विषय मिडियामार्फत फैलाइयो । टाट पल्टेको कर्मचारी प्रशासन जीवित राख्दै राजनीतिक परिवर्तन जनतासम्म पुग्न दिइएन । फलस्वरूप राणा शासनदेखि लोकतन्त्रसम्म आइपुग्दा पनि जनताको इच्छा, चाहना सम्बोधन हुन सकेन । राजनीति फोहोर हुँदा मुलुकका सबै अङ्ग डुङ्डुङ्ती गन्हाए । नेपाली राजनीति सफा गर्ने नाममा थप फोहोर गर्नेहरूलाई सेलीब्रेटी बनाइयो । यसलाई अझ मलजल गर्ने काम सोसल मिडियाले गरिरहे । जसले गर्दा परिवर्तनको नाममा जनताले रवि लामिछाने, सिके राउत, रेशम चौधरीको पार्टीलाई स्वीकार गर्न हौसिने तर ठुला र पुराना राजनीतिक दलहरूलाई शुद्धीकरण गर्न जाँगरसमेत नदेखाउने अवस्था सिर्जना हुन पुग्यो । पुरानो फालेर नयाँ ल्याउने या वृद्ध फालेर युवा ल्याउनुलाई परिवर्तन ठान्ने र मान्ने ‘नवीन सिद्धान्त’ जबर्जस्ती स्थापित गर्दा मुलुक र राजनीति थप निरीह बन्दै छ ।

मुलुकको हरेक राजनीतिक परिवर्तनपश्चात् पार्टी नेतृत्व अन्तरपार्टी द्वन्द्व व्यवस्थापन गर्न अनिच्छुक रह्यो । जसको कारण दलहरूभित्र अन्तहीन शक्ति-सङ्घर्ष चर्कियो । फलस्वरूप मुलुकवासीले परिवर्तनको स्वाद चाख्नबाट वञ्चित हुनु पर्‍यो भने मुलुकविरोधी तत्वहरू अनुपयुक्त शक्ति आर्जन गर्न सफल भए । गरिब वर्गको गाँसबास नीति, शिक्षा र स्वास्थ्यको व्यापारिकरणमाथि रोक, सार्वजनिक यातायात प्रणालीमा आमूल परिवर्तन, ब्रेन ड्रेन रोक्ने कार्यक्रम, परिवारवादको अन्त्य, टीकेप्रथाबाट सांसद हुन पाइने समानुपातिक प्रणालीको खारेजी, राष्ट्रिय मुद्दामा जनमत सङ्ग्रह गर्ने वचनबद्धतालगायत अनेकौँ मुद्दामा घण्टी पार्टीको धारणासम्म आउन नसकेको अवस्थामा आवेग, असन्तुष्टि र भावनाको भुङ्ग्रोमा मुलुकलाई जाकियो

वैश्ययुगका युवाहरू ‘आटाले हैन डाटा’ले पेट भर्ने कुरा गर्छन् । अल्पकालीन सफलताको भावावेशमा सांसदको काम, कर्तव्य र अधिकारसमेत बिर्संदै भुइँ छोड्न सुरु गरिसकेका छन् । घण्टीको बाढीपश्चात् उनीहरू भन्न थाल्नेछन्- ‘पिठोले हैन ठिटो’ले पेट भर्ने छ । दुर्भाग्य ! ढुकुटी रित्तो छ । संसदीय अङ्कगणितले मात्र राजनीतिक स्थिरता र समृद्धि दिन सक्दैन भन्ने पुष्टि विगतमा भइसकेको हो । एउटा टेलिभिजन प्रस्तोताले बुझेको, जानेको र देखेको परिवर्तन संस्थागत गर्न टेलिभिजन काम लाग्दैन । फेसबुकमार्फत मतदातासम्म पुग्न सकिएला तर परिवर्तनलाई देख्न, भोग्न र महसूस गर्न सक्ने बनाउन सानोतिनो कर्मले सम्भव छैन । ओली, प्रचण्ड, देउवालाई राजनीतिक घृणा गर्न सकिन्छ । उनीहरूको कार्यशैलीको आलोचना गर्न सकिन्छ । राजनीतिक दलहरूले जान-अनजानमा गरेका तमाम गल्तीहरूको निर्मम आलोचना र विरोध गर्न सकिन्छ तर आलोचना समृद्धिको कोसेढुङ्गा बन्न सक्दैन भन्ने जनताले सुन्न समेत चाहेनन् ।

एउटा वीभत्स सङ्कटपश्चात् मानिसहरू आफ्नै लयमा फर्किने कोसिस गरिरहेका छन् । कोभिड-१९ र रुस-युक्रेन युद्धको कारण सुस्ताएको विश्वव्यापी आर्थिक वातावरणले मुलुकमा प्रवेश गर्ने भरपर्दो पैसाको स्रोत विश्वव्यापी र घरेलु परिस्थितिले खतरामा परेको छ । आयात बढ्ने र वैदेशिक रेमिटेन्स घट्ने अवस्थापश्चात् विदेशी लगानी या ऋणमा मुलुकले आफ्नो भविष्य निर्माण गर्न थप कठिन हुने देखिँदै छ । केवल युवा आएकै भरमा, भ्रष्टाचारको विरोध गरेको भरमा, अरूलाई खुइल्याएको भरमा चर्चामा आउन सकिन्छ तर देशलाई गहिरो आर्थिक सङ्कटबाट मुक्त गर्न सकिँदैन भन्ने घण्टी विद्रोहले बुझ्न पनि चाहेन । राजनीतिक परिवर्तनको नाममा समाप्त गरिएको उद्योग, बेरोजगार युवाको गन्तव्य, विध्वंश परिएको कृषि क्षेत्रलाई स्थिर बनाउन घण्टी पार्टीले कार्यक्रम पस्किनसम्म चाहेन । वैदेशिक अनुदान, ऋण सहयोग र ऋणपत्रले राजनीतिक अस्थिरताको निरन्तर खतरासँगै देशका बहुसङ्ख्यक क्षेत्रहरूको कमजोर प्रदर्शनबाट मुलुकले कसरी मुक्ति पाउँछ ? घण्टी पार्टीलाई कसैले सोध्न चाहेनन् । शिक्षा, स्वास्थ्य, न्यायपूर्ण समाज, आर्थिक नीतिबिना मौलाएको घण्टी राजनीतिले मुलुकलाई कसरी मजबुत बनाउँछ ? सिंहदरबारमा कसले सत्ता कायम राख्छ र कस्तो परिवर्तन हुन सक्छ भन्ने विषयमा घण्टी विद्रोहसँग कुनै जवाफ छैन । विदेशी लगानीकर्ताहरू पहिलेभन्दा अझ बढी अनिश्चिततामा फसिरहेको समयमा नागरिकता नीति, वैदेशिक नीति ल्याउन, आप्रवासी कामदारसम्बन्धी नीति परिवर्तन गर्न कस्तो दबाब सिर्जना गरिनेछ ? आधिकारिक समुदाय र मुलुकवासीले सोधिरहेका छन् ।

आप्रवासी कामदारहरूबाट प्राप्त रेमिट्यान्सले मुलुकको कुल गार्हस्थ उत्पादनमा महत्त्वपूर्ण स्थान ओगटेको छ । विश्व बैङ्क, एसियाली विकास बैङ्क र विदेशी सरकारहरूको पैसाको विपरीत, रेमिट्यान्सले ऋण थप गर्दैन । रेमिटेन्स रकमलाई अन्य पुँजी प्रवाहसँग तुलना गर्नु गलत छ । अन्य स्रोतहरूबाट आउने पैसाले रेमिटेन्स घटेको प्रारम्भिक झट्कालाई रोक्न सक्ने भए पनि दीर्घकालीन रूपमा त्यसो गर्ने सम्भावना छैन । आफ्नो विद्यमान ऋणहरू बढ्दै गएको बेलामा जनतालाई सेवा गर्न मुलुक सक्षम छ कि छैन ? देशको वर्तमान राजनीतिक उथलपुथलले आर्थिक उन्नति र वित्तीय विश्वसनीयतामाथि गम्भीर शङ्का उत्पन्न गरेको घण्टी विद्रोहलाई जानकारीसम्म देखिएन । अनिश्चितताले धेरै मानिसहरूलाई चिन्तित तुल्याउँछ । आफूलाई सुरक्षित राख्नको निम्ति अनौपचारिक माध्यमहरू प्रयोग गर्न बाध्य बनाउँछ । नि:सन्देह, यो विडम्बना भन्दा बाहिर छ कि नेपालमा सत्ता चलाउने सामन्ती, उद्योगपति र राजनीतिज्ञहरूले अनेकौँ घाटका पानी पिएका छन् । आफ्नो भाग्य देशले कब्जा गर्न सक्दैन भन्ने राम्रोसँग बुझेका यस वर्गका मानिसहरू घण्टी विद्रोहलाई दलीय वितृष्णा मात्र मान्छन् ।

मध्यमवर्गीय युवायुवती जो विदेशमा बस्छन्, मुलुकको राजनीति र शीर्ष नेतृत्वप्रति असन्तुष्ट छन् । उनीहरूले विकर्षणको रूपमा भोटको सदुपयोग गर्न हौस्याएका छन् । अनेकौँ बहानामा या बाध्यतामा देश छोडेर गएका सबै मध्यमवर्गहरूको ‘फ्रस्टेसन’ले मुलुकलाई सही निकास दिन नसक्ने बुझ्दाबुझ्दै उनीहरूबाट सम्पन्न गरिएका घटनाले वर्तमान व्यवस्था र मुलुक थप मर्माहत बन्न पुगेको छ । मध्यम वर्ग कहिल्यै देशद्रोही हुँदैनन् । यो वर्ग सधैँ चिन्तित रहन्छ । भविष्यप्रतिको चिन्ताले हरदम सताइएको यो वर्ग ढिलो तात्छ । छिट्टै सेलाउँछ । आफूमाथि धोका भएको ठान्छ । विश्वासको दुरुपयोग गर्न हौसिन्छ ।

देशमा बस्ने असीमित चाहनाका बाबजुद विदेशमा भविष्य देख्न बाध्य हुनु भनेको देशद्रोही हुनु होइन । पुर्खाले असाध्यै कष्टपूर्ण जीवन व्यतीत गर्दै निर्माण गरेको भाषा, धर्म, संस्कृति, परम्परालाई चटक्क बिर्सेर केवल भौतिकवादी बन्न मात्र युवायुवती विदेश आकर्षित भएका पनि होइनन् । धनी, टाठाबाठा र महत्वकाङ्क्षीहरूले मध्यम वर्ग र गरिबहरूलाई प्रभावमा पार्दै राज्यसत्ताको विरुद्ध आवाज उठाउने, उनीहरूको क्रियाकलापको विरुद्ध गोलबन्द गर्ने खेलमा रणनीतिक स्वार्थ बोकेका देशी विदेशी शक्तिको स्वार्थ हाबी हुँदा मुलुक पटक-पटक प्रयोगशाला बनेको छ । बनिरहने देखिँदै छ । धनीहरूले आफूलाई आर्थिक झट्काहरूबाट अलग राख्न सरकार र सत्तासँग सहकार्य जारी राख्ने गर्छ भने मध्यम वर्ग र गरिबहरू स्वार्थ समूहको लहलहैमा पटक-पटक झुक्किने गर्दछ । उत्पादन गर्ने कामदारहरूलाई देश छोड्न परेको पीडा र अपमानको रिस राजनीतिमाथि थोपर्दै छन् । परिवर्तनको नाममा सत्तामा पुगेका जुनसुकै राजनीतिक दल सत्तामा भए पनि उनीहरूप्रति सर्वसाधारणले गुमाएको विश्वास मतपत्रमा पोखिएको समयमा मुलुकले कसरी सकारात्मक बाटो समात्छ ? सङ्केतसम्म देखा पर्दैन ।

घृणा, घेराबन्दी र मिडिया राजनीतिको कारण समाज डरलाग्दो ढङ्गले विभाजित छ । सामान्य घटनाले ठुलो नोक्सानी निम्त्याउन सक्ने अनेकौँ विषवृक्ष हुर्किएको समाजमा नयाँ भडकाव साइत कुरेर बसेको छ । बजारको गतिशीलता, अन्तर्राष्ट्रिय बजारको रुझान, जियो पोलिटिक्सलाई मध्यनजर राख्दै निर्माण गर्ने ‘एक्सन प्लान’ भाषण र कागजमा मात्र सीमित छ । राष्ट्र बैङ्कले आयातमा नियन्त्रण गर्दै जोगाएको अर्थतन्त्रले तत्काल निर्यात गर्ने बस्तु फेला पारेको छैन । अर्थ मन्त्रालयले ढुक्कसँग सुत्न नपाउने अवस्थाको आर्थिक अवस्थाले विकासको सम्भावना कुन रफ्तारमा घट्ने छ भन्ने घण्टी राजनीतिले बुझ्न चाहेको देखिएन । मुद्रा स्फीति र महँगीको चपेटामा आर्थिक मन्दी थप भयावह बन्ने खतरा टरिसकेको छैन ।

दक्षिण-पश्चिमको रणनीतिक लक्ष्य नेपाल मामिलामा गज्जबले सफल हुँदै छ । हरेक दश वर्षमा राजनीतिक परिवर्तन गराउने, संविधान फेर्न मात्र मुलुकको ऊर्जा खर्च गराउने, परिवर्तनको नाममा स्थापित संस्थाहरूलाई धराशायी तुल्याउने, एक-एक गर्दै राजनीतिक दललाई कमजोर बनाउने, अन्तिम विकल्प युवालाई समेत दिग्भ्रमित गर्दै राजनीतिको रिमोट आफ्नो कब्जामा लिन सफल पछिल्लो घटनापश्चात् मुलुकमा नियन्त्रित-अस्थिरता नयाँ चरणमा प्रवेश गरेको छ । राजनीतिक सेट फेर्न कोसिस गर्नेहरूले प्रोग्राम नयाँ दिन चाहेनन् । भूगोल नलाने तर सम्पूर्ण शासन रणनीतिक ढङ्गले गर्ने दक्षिण-पश्चिमको पछिल्लो कार्यक्रम निर्वाचनपश्चात् सर्वसाधारणले देख्न/भोग्न पाउने छन् । सडक-राजनीतिले उत्तेजित हुन सिकाउला तर अर्थ-राजनीतिले तपाईंलाई सधैँ चिन्तित र गम्भीर हुन बाध्य पारिरहेको हुन्छ । राजनीतिक बजार जति ताते पनि आर्थिक मन्दीले नछोडेको अवस्थामा सस्तो र अव्यवहारिक राजनीतिले गरेको सपनाको खेती मौलाउन सम्भव देखिँदैन । केवल युवा निर्यातमा भर परेको मुलुकले कृषि क्रान्तिसम्म गर्न असफल बन्नुले फेसबुक–राजनीति थप मौलाउने देखिन्छ ।

राजनीतिक विचार, सिद्धान्त, व्यवहार भन्दा व्यक्तिको महत्त्वाक्ङ्क्षा थप चुलिने तथाकथित परिवर्तनको आयु लामो हुँदैन । विधिको कुरा गर्ने तर आफ्नै कार्यकर्तालाई विधिपूर्वक नहिँडाउने घण्टी-जमातले चर्को ध्वनिप्रदूषण गरिरहेको बुझपचाउँदै छ । कडा कानुन र फाँसीको सजायले समेत भ्रष्टाचार नरोकिएको विश्व-राजनीतिमा हल्लाको भरमा सबै गर्छु र गर्न सकिन्छ भन्ने हावादारी दाबी कर्कलाको पानी बन्नेछ । लोकतान्त्रिक शैली, तार्किक, न्यायसङ्गत, आधुनिक बहस, वृहत् छलफल, अन्तरक्रिया र जन सहभागितामार्फत परिवर्तनको वकालत गर्नुको सट्टा आफै आरोप लगाउने, आफै फैसला गर्ने तथाकथित शैलीले भ्रष्टाचार रोकिँदैन र, परिवर्तन पनि सम्भव छैन भन्ने बुझपचाएको बुझ्न जनताले धेरै कुर्नुपर्ने छैन ।

विगतमा बुलेटमार्फत सत्ता कब्जाको वकालत गर्नेहरू सरकारमा पुग्दै गर्दा खै कुन परिबन्धमा परेर हो ! आफै बदलिन बाध्य भए । हिजोका खुँखार क्रान्तिकारी, भ्रष्टाचारविरोधी, सुशासनका प्रवक्ता र विकासवादीहरू आज जनताको नजरमा पखालिएका छन् । यतिबेला मुलुकबाट राजनीतिक आदर्श, सिद्धान्त, कार्यक्रम, नीति, विचार गायव पारिएको छ । शेरबहादुर ‘दाइ’, रवि ‘दाइ’ र ओली ‘बा’ नामको राजनीति स्थापित गरिएको छ । राजनीतिले खोज्न चाहेको विकल्प, सिद्धान्त, कार्यक्रम, अर्थ नीति, शिक्षा नीति, परराष्ट्र नीति भन्दा ठुलो ‘घण्टी नीति’ बनाइएको छ । शीर्ष नेतृत्वको कमजोरी र सोसल मिडियाको बलमा सबै गर्न सकिन्छ भन्ने सोच स्थापित गर्दै ‘रवि-अभियान’ छेडिँदै छ । रविहरूले बुझ्नैपर्छ- ढुकुटी रित्तो छ । विरोध र आलोचनाले जनताको जीवनशैली परिवर्तन हुँदैन । उनीहरूको चुलो बल्दैन । जब्बर आदर्शहरू निमेषभरमा पखाल्न सक्ने संसदीय पोखरीमा हामफाल्दै गर्दा ४८ वर्षे ठिटो ८० वर्षे वृद्धको दाइ बन्ने फिल्मी शैली धेरै चल्न मुस्किल छ । निराश मतदाताले पोखेको आक्रोश यथास्थितिका विरुद्ध हो । शीर्ष नेतृत्वप्रति हो । रविले आफ्नो सफलता र लोकप्रियता ठान्ने भूल गरे कथाले अर्कै मोड लिने निश्चित छ ।