‘शिशुपाल डक्ट्रिन’ र लोकतन्त्रको आयु
संविधानसभाबाट संविधान जारी गर्ने तयारी अन्तिम अवस्थामा पुगेको समयमा तीन दिनको समय माग्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर तत्कालीन विदेशसचिव एस. जयशंकर काठमाडौँ ओर्लिए । माओवादी नेता प्रचण्डको बेडरुममा भारतीय विदेशसचिव जयशंकर र प्रचण्डबीच भएको तत्कालीन नमिठो सम्वाद भुल्दै बिजेपी पार्टीकार्यालयमा विदेशमन्त्री एस. जयशंकर र प्रचण्डपुत्री गङ्गा दाहालको उपस्थितिमा भएको राजनीतिक भेटघाटपश्चात् ‘शिशुपाल डक्ट्रिन’को नेपाल अध्याय नयाँ चरणमा प्रवेश गर्दैछ । नेपालको सत्ता-राजनीतिमा वैचारिक रूपले भिन्न दलहरूको सहकार्य गराउने पश्चिमा रणनीतिको सफल सुरुवातपश्चात् भारतीय जनता पार्टीले प्रचण्डको स्वागत बिजेपी हेडक्वार्टरमा गर्दै ‘देउवा-दाहाल’लाई शिशुपाल डक्ट्रिनको उपयुक्त पात्रमा चयन गरेका छन् ।
अध्यक्ष प्रचण्डको भारत भ्रमणको दौरान बिजेपीनेता जेपी नड्डाले व्यक्त गरेको कथित धारणा ‘हमें माओवादी केन्द्र के युवा नेताओं के एक प्रतिनिधि मण्डलका भारत में स्वागत करने में खुसी होगी’ भन्ने प्रतिक्रियापश्चात् प्रधानमन्त्री मोदीले प्रचण्डसँग भेट्न हतार गरेनन् । दक्षिण-पश्चिमको आशीर्वादमा जस्तोसुकै गल्ती गर्न नहिचकिचाउने देउवा-दाहालको राजनीतिक बाध्यता बुझेको चीनले दक्षिण-पश्चिमको ‘शिशुपाल डक्ट्रिन’लाई असफल बनाउने रणनीति सुरु गरे दक्षिण एसियाली राजनीति नयाँ द्वन्द्वको भुमरीमा फस्ने छ । सन् १९५० को सन्धिको मुख्य सुत्रधारहरूको रणनीतिक स्वार्थ जे-जस्तो रहेको भए पनि चीनको स्वशासित क्षेत्र तिब्बतको कारण भारतको दृष्टिमा नेपालको महत्त्व चुलिनु स्वाभाविक थियो । शीतयुद्धको राजनीतिक महत्त्व र शक्तिको बिस्तार दक्षिण एसियामा थप आक्रामक भएको समयमा तत्कालीन सत्ताको निम्ति भारतको साथ विशेष सम्बन्ध स्थापित गर्नु आवश्यकता मात्र हैन राजनीतिक बाध्यता थियो । दुर्भाग्य ! बेलायतमुक्त भारतले नेपालसँग सधैँ नागरिकताको राजनीति गरिरह्यो ।
झन्डै १८०० किलोमिटर खुला सीमा राखेर स्वतन्त्र, मजबुत र पारस्परिक सामाजिक-आर्थिक आवश्यकताको दुहाइ दिने नेपाली राजनीतिको बचकाना कार्यले ‘शिशुपाल डक्ट्रिन’लाई मलिलो जमिन उपलब्ध गराइरह्यो । नेपालको आन्तरिक समस्याको समाधान आफ्नै विवेक, क्षमता र पहलमा गर्न सक्ने शक्ति १२ बुँदेको जगमा समाप्त पारिएको नेपाली जनताले स्वीकार गरे पनि कुर्सीकेन्द्रित राजनीतिले अझै स्वीकार गर्न तयार देखिएन । नेपालको राजनीतिमा रणनीतिक र रचनात्मक नियन्त्रणको निम्ति महत्त्वपूर्ण हुने मधेसी राजनीतिमा पकड र सिधा प्रभावको दीर्घकालीन व्यवस्थापन र सुनिश्चितता खोज्दै गर्दा छिटो-छिटो परिवर्तन हुने नेपाली सरकार भारत र भाजपामैत्री होस् भन्ने भारतीय संस्थापन पक्षले चाहेको देखियो । पटके राजनीतिक परिवर्तनपश्चात् मुलुकको राजनीतिमा राष्ट्रिय स्वाभिमान र एकताभन्दा ठुलो सत्ता, कुर्सी र पैसा बनाइएको समयमा भाजपाको सक्रियता नेपालमैत्री छ भन्न राजनीतिक विश्लेषकहरू तयार देखिँदैनन् ।
पार्टीभन्दा मुलुक ठुलो हो भन्ने मान्यताका धनी बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति असफल भएको देशमा घेराबन्दी र एकल नेतृत्व सफल हुन सक्ने थिएन । रणनीतिक रूपमा सुरु गराइएको माओवादी ध्वंशको समाधान बाह्यशक्तिको चाहनामा मुलुकबाहिर खोज्नेहरूले नारायणहिटी दरबारलाई एक्लो बनाएको पुरस्कार नेपाली जनताले नपाएको बुझ्न आफ्नै इतिहास पोलेर शिशुपाल बन्न हौसिने नेतृत्वको राजनीतिक सिद्धान्त, व्यवहार र कार्यक्रम काफी छ । माओवादी ध्वंशलाई तह लगाउने बहानामा शाही कदमका लागि राजा ज्ञानेन्द्रलाई उकास्ने तत्त्व र तप्काले राजतन्त्रको औपचारिक बिदाइको कथा सफलतापूर्वक सम्पन्न गरेकै शैलीमा आफ्नो प्रयोग हुँदै गरेको चतुर ओलीले बुझ्न चाहेनन् ।
अध्यक्ष प्रचण्ड र ओलीको कारण छोटो समय पश्चिमी नजरमा बरालिएको नेपाललाई राजनीतिक र सांस्कृतिक उपनिवेश तुल्याउन नाङ्गो रूपले मैदानमा उत्रिएको बाह्यशक्तिले तत्कालको निम्ति देउवा-प्रचण्डलाई मतियारको रूपमा चयन गर्ने प्रमुख कारण नेपालको वर्तमान संविधान हो भन्ने बझ्नु जरुरी छ । वर्तमान प्रणालीभित्र रहेका दलहरूबीच ‘खतरनाक आक्रमण र तथाकथित सम्झौता’ गराउँदै आफ्नो दीर्घकालीन अभियानलाई निरन्तरता दिने शिशुपाल डक्ट्रिनले राष्ट्रिय राजनीतिलाई ठुलो दलदलमा फसाउने तथाकथित खेल भुसको आगो बन्दै छ । समन्वय र सहिष्णुताको जगमा अड्दै आएको संवेदनशील समाजले दक्षिण-पश्चिमको शिशुपाल डक्ट्रिनलाई कहिलेसम्म धान्न सक्छ भन्ने यक्ष प्रश्नको जवाफ सानोतिनो नोक्सानीले प्राप्त गर्न मुस्किल देखिन्छ ।
महाभारत ग्रन्थमा शिशुपालको चर्चा अर्थपरक ढङ्गले हुने गर्दै आएको छ । राजा दमघोशका पुत्र शिशुपाल भगवान् कृष्णको नातेदार थिए । भगवान् कृष्णले शिशुपालका सय अपराध क्षमा गर्ने वचन दिएका थिए । इन्द्रप्रस्थ (खाण्डवप्रस्थ)मा सम्पन्न हुँदै गरेको पाण्डवहरूको राजसूय यज्ञमा जब शिशुपालले भगवान् श्रीकृष्णको विरुद्ध १०१ अपराध पूरा गरे तब भगवान् कृष्णले सुदर्शन चक्रको प्रयोग गर्दै चेदी नरेश शिशुपालको बध गरी दिए । वैदिक सनातन धर्मशास्त्रअनुसार महाभारतमा उल्लेखित शिशुपाल बधको घटनालाई क्षमाशीलता र दण्डको अनुपम उदाहरणको रूपमा लिने गरिन्छ ।
द्वापरयुगबाट दक्षिण-पश्चिमले धेरै कुरा सिक्यो । आफू शिशुपाल बन्दै समाप्त हुन चाहेन तर आफ्नै कारखानामा शिशुपाल जन्माउन सुरु गऱ्यो । फलस्वरूप ‘शिशुपाल डक्ट्रिन’को विकास गर्न हौसियो । वैश्य युगको राजनीतिले कुनै सकारात्मक परिणाम पस्किन असफल रहेको समयमा पौराणिक कहानीमा घटेका घटनाबाट पाठ सिक्न अनिच्छुक पात्रहरूलाई ‘शिशुपाल डक्ट्रिन’को विस्फोटक पदार्थको रूपमा प्रयोग गरिँदै छ । राजसंस्थाको षडयन्त्रमूलक समाप्तिपश्चात् जनताको शक्ति, चाहना र महत्त्वलाई नजर अन्दाज गर्दै कथित गल्तीमा राजनीतिक भविष्य देख्दै पटक-पटक गल्तीलाई दोहो¥याउन मरिहत्ते गर्ने पात्र र प्रवृत्तिलाई शिशुपाल डक्ट्रिन अन्तर्गत स्थापित गर्न दक्षिण-पश्चिम राजी छ ।
ग्राहम एलिसनले आफ्नो पुस्तक ‘Destined For War’मा ग्रीक पौराणिक कहानीमार्फत गज्जबको सन्देश दिएका छन् । एलिसनले प्राचीन कालको युनानी राज्यमा स्पार्टा र एथेन्सबीच भएको युद्धको हवाला दिँदै महाशक्ति अमेरिका र उदाउँदै गरेको महाशक्ति चीनको बीच ‘सत्ता र ताकत’को हस्तान्तरणलाई सम्झाएका छन् । युद्ध अपरिहार्य छैन भन्ने कुरामा जोड दिँदै, एलिसनले विगतमा कसरी द्वन्द्वकारी शक्तिहरूले शान्ति कायम राखेका थिए, अमेरिका र चीनले आज विपत्तिबाट बच्न के कस्ता पीडादायी कदमहरू चाल्नुपर्छ भन्ने कुरा प्रकट गरेका छन् । पौराणिक पात्र र कहानीमार्फत वर्तमानमा हुँदै गरेका गडबडीलाई रोक्न या गल्ती सच्याउन उनीहरूको याद गर्नु इतिहासप्रति सम्मान नै हुनेछ । अमेरिकी सांसद Ocasio-Cortezले सन् २०१८ मा आपराधिक न्याय प्रक्रियामा सुधार गर्न जोड दिँदै क्याथोलिक समुदायको धार्मिक विश्वासको सहारा लिएका थिए । अमेरिकी विदेशमन्त्रीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको युगलाई ‘एस्थर’ (Esther) बताउँदै भनेका थिए- ‘इजरायल र यहुदीको रक्षा गर्नेछु’ । एस्थर यहुदीको पौराणिक महिला पात्र थिइन्, उनी फारसको रानी थिइन् । जसले यहुदीलाई फारसी सेनाको नरसंहारबाट बचाएकी थिइन् । आध्यात्मिक भावना, पौराणिक कहानी र वैदिक सनातन धर्मको अपमान गर्दै सत्ता-राजनीतिको एकल रोडम्यापमा सम्पूर्ण सिद्धान्तको बली दिएका प्रचण्डलाई बिजेपी कार्यालयमा स्वागत गरिएको घटनाले मोदी र बिजेपीको धार्मिक मूल्य र मान्यतामा खोट रहेको आरोप लगाउन सकिन्छ ।
सौभाग्य भनौँ कि दुर्भाग्य ! सन् २०१४ पश्चात् भारतीय राजनीतिको केन्द्रभागमा मोदीको शक्तिशाली उपस्थिति रहँदै आएको छ । उनको शब्द, व्यवहार र सोच वैदिक सनातन धर्मशास्त्रसँग अत्यन्त प्रभावित रहेको देखिन्छ । प्रसिद्ध धार्मिक ग्रन्थ भगवत् गीतासँग एकाकार हुँदाहुँदै संविधानसभाद्वारा जारी नेपालको संविधान लिएर विश्वयात्रा गर्न हौसिए । नेपाली जनताले कहिल्यै नगरेको गल्तीको सजाय दिन हौसिँदै नाकाबन्दी जस्तो अप्रिय निर्णय लाद्न राजी भए । संविधानको नाममा उत्पन्न गरिएको नेपाल-भारत बीचको असमझदारी कायम राख्दै शिशुपाल डक्ट्रिनको सफल प्रयोगको निम्ति प्रचण्ड-देउवासँग दोस्ती गाँस्ने कार्य नेपालको हितमा नहुने प्रस्ट छ । कुर्सीको निम्ति जुनसुकै स्तरको दलाली गर्ने वर्तमान ’देउवा-प्रचण्ड’को तथाकथित शिशुपाल डक्ट्रिनको फाइदा उठाउने मोदी सरकारको पछिल्लो कदम बिजेपीको पार्टी कार्यालयमार्फत चुहिएको छ । देउवादेखि प्रचण्डसम्मलाई बिजेपी कार्यालयमा स्वागत गर्दै चीन र नेपालको देशभक्त शक्तिलाई भारतको तागत, रणनीति र आगामी कदमको बारेमा अर्थपरक सन्देश दिन हौसिँदा विगतमा बिग्रेको इमेज सुधार्ने अवसरबाट भारतीय सत्ता वञ्चित हुन पुगेको छ ।
‘१२ बुँदे’पश्चात् नारायणहिटीको पावर दिल्ली दरबार सार्ने भारतीय सत्ताको सोच पश्चिमा उपलब्धिले भरिपूर्ण नेपालको संविधानलाई ‘नोटिस’मा राख्न बाध्य भएसँगै भत्कियो । पश्चिमा शक्तिको दीर्घकालीन रणनीति अनुरूप लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा संसद्बाट अनुमोदन भएसँगै थप चिढिएको भारतीय सत्ता ओली सरकारको नाटकीय पतनपश्चात् थप नोक्सानी ब्यहोर्न बाध्य भयो । एमसीसी सम्झौताको संसदीय अनुमोदन, ‘एसपीपी’को बढ्दो आक्रामकता र चीनको रणनीतिक दौडधुप देख्नासाथ भारतीय सत्ताले ओली बहिर्गमनको जमेर खुसी मनाउन समेत भ्याएन । मोदी नेतृत्वमा भारतको राजनीतिक र सामरिक शक्ति बढ्दै गरेको समयमा नेपाल मामिलामा उसको उपस्थिति कमजोर देखिँदा शिशुपाल डक्ट्रिन थप आक्रामक बन्ने देखिन्छ ।
भारतको रक्षा बजेट दिन-प्रतिदिन बढ्दै छ । दक्षिण एसियामा आफ्ना छिमेकीसँग सुमधुर सम्बन्ध बनाउन चुकेको भारतीय राजनीति आन्तरिक आतङ्कवाद र चीनको आर्थिक तरक्कीसँग दुःखी छ । कोभिड-१९ पछि आर्थिक विकासको रफ्तारमा आएको गतिरोध, न्यान्सी पेलोसीको भ्रमणपछि ताइवानसँग चुलिएको टेन्सन, पाकिस्तानको आर्थिक गडबडीको कारण सिर्जित हुने आतङ्कवादको असर भारतीय राजनीतिमा कुनै न कुनै ढङ्गले पर्ने नै छ । सन् २००३ को जुन महिनामा भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीको चीन भ्रमणको दौरान तिब्बत मामिलासँग सिक्किमको सौदाबाजी गरेकै शैलीमा कश्मीरको समस्या ताइवानसँग मिलान गर्ने चिनिया रणनीति थप सक्रिय बन्दै छ । कदाचित प्रधानमन्त्री मोदी नयाँ बाजपेयी बन्न चाहेमा भारत-चीन बीच अलिखित आन्तरिक सहमति हुनेछ । ततपश्चात् पाकिस्तानशासित ‘कश्मीर र नेपाल’को रणनीतिक महत्त्व पश्चिमी नजरमा अकस्मात् चुलिने छ । जसले गर्दा जानाजान गल्ती गर्न हौसिने स्वदेशी शिशुपालहरू ओली नेतृत्वको एमाले तागत र पश्चिमी दबाबको दोहोरो चेपुवामा पर्ने छन् । फलस्वरूप गठबन्धनको रूपमा रहेको देउवा-प्रचण्डको अलोकप्रिय छविले वर्तमान सरकार शक्ति केन्द्रसँग जस्तोसुकै सम्झौता गर्न बाध्य हुने छ । मजबुत विपक्षीसँग सत्ता बिना लड्न नसक्ने देउवा-प्रचण्डको काँचो गठबन्धनले एक कदम अगाडि र दुई कदम पछाडि हट्दै स्वीकार गरेको ‘शिशुपाल डक्ट्रिन’ ढिलो चाँडो देउवा-दाहालको दुर्भाग्य बन्ने छ ।
लोकतन्त्र र समाजवादउन्मुख संविधानको रक्षा गर्ने नाममा शिशुपालहरू उत्पादन गर्ने, उनीहरूमार्फत १०१ गल्ती गराउने, विद्रोह, आन्दोलन र परिवर्तनको नाममा नयाँ-नयाँ रङ्ग र ढङ्गका शिशुपाल जन्माउने तयारी दक्षिण-पश्चिमको कारखानामा भइरहेको बझ्ने ल्याकत ‘शिशुपाल डक्ट्रिन’को रक्षार्थ दिनरात सक्रिय देउवा–प्रचण्डसँग देखिएन । अध्यक्ष ओलीलाई देखाइदिने नाममा संसद्वादी कित्ताका शक्तिबीचको पूर्वाग्रह र वैमनस्यबाट निकट भविष्यमा आउन सक्ने परिणामको ख्याल गर्ने जाँगर पनि देखिएन । तत्कालीन दरबार र काङग्रेसबीच मनोवैज्ञानिक र राजनीतिक द्वन्द्वको स्थितिलाई दक्षिण-पश्चिमले कसरी नगदमा बदल्यो ? देउवा-प्रचण्डलाई चसक्क बिझाउने विषयसम्म नबनेको देख्दादेख्दै सत्ता सञ्चालनको दौरान आफैबाट सम्पन्न गडबडीको कारण शिशुपाल डक्ट्रिन थप मौलाउन सक्छ भन्ने अध्यक्ष ओलीले बझ्न सकेनन् ।
तत्कालीन नेकपाको आन्तरिक सत्ता-सङ्घर्षको ‘युरिया’ले मौलाएको शिशुपाल डक्ट्रिनले मुलुक र लोकतन्त्रलाई अनन्त कालसम्म पिर्नेछ भन्ने अध्यक्ष ओलीले भर्खरै महसूस गर्दैछन् । राजनीतिक नेतृत्वको कुकर्मको कारण ‘रहर र उत्साह’को निराशाजनक चरण पार गर्दै टिकाउन पर्ने अवस्थामा पुगेको लोकतन्त्र जोगाउन दक्षिण-पश्चिमले सामान्य कोसिससम्म गरे पनि जोखिम उठाउने सम्भावना ‘शिशुपाल डक्ट्रिन’को कारण देखिएन । देशभक्त र प्रमुख राजनीतिक शक्तिको मन मरेको अवस्थामा अन्तर्राष्ट्रिय शक्तिको पिछलग्गु बन्दै सत्ता स्वार्थको खातिर धमिलो पानीमा माछा मार्न उद्यत् शक्तिको सहयोगी बन्ने देउवा-दाहालको सत्ता गठबन्धनले आग्रह, पूर्वाग्रह र घेराबन्दीको मानसिकता र अराजनीतिलाई तत्काल नत्यागे लोकतन्त्रको हत्या हुने निश्चित छ । ततपश्चात् मुलुक पुर्णतः असफल राष्ट्रमा परिणत हुनेछ ।