‘अभियन्ता’ र ‘वामपन्थी’ले थला पारेको देश !

अमेरिकामा आतङ्कवादीद्वारा ९/११ मा घटाइएको घटना र एक गाईमा के अन्तर छ ? यही कि तपाईं एउटै गाईलाई निरन्तर रूपमा दश वर्षसम्म दुहुन सक्नुहुन्न । उक्त आतङ्कवादी घटनापश्चात् अमेरिकी समाजमा एक जोक खुब चर्चित बन्दैछ- के तपाईं बाँकी दुनियाँमा भोजनको कमी गर्न उपयुक्त र इमानदार राय दिन चाहनुहुन्छ भन्दै अमेरिकाले एक वैश्विक सर्वे गऱ्यो । सर्वे शत प्रतिशत असफल रह्यो । अफ्रिकामा ‘भोजन’को अर्थ कसैलाई थाहा थिएन । पूर्वी युरोपमा ‘इमानदार’को अर्थ, पश्चिमी युरोपमा ‘कमी’को अर्थ, चीनका जनतालाई ‘राय’को अर्थ थाहा थिएन । यसैगरी मध्यपूर्वका मानिसलाई ‘हल’को अर्थ, दक्षिण अमेरिकामा ‘कृपया’को अर्थ, अमेरिकी जनता र सत्तालाई ‘बाँकी दुनियाँ’को मतलब वा अर्थ थाहै थिएन ।

अमेरिकी सत्ताले आतङ्कवादलाई ‘गाई’ बनायो । एउटै गाईलाई लामो समयसम्म दुहुन हौसियो । दुर्भाग्य ! अफगानिस्तानमा दूध आएन र, रित्तै घर फर्कियो । अपवाद भनौँ कि सौभाग्य ! प्रजातन्त्र र लोकतन्त्रलाई गाई बनाएर ३३ वर्षदेखि दूध खाइरहेका शीर्ष नेतृत्व उल्लिखित जोक सुनेर झनै मुस्कुराउँदै छ । लोकतन्त्रमा मानवले पाउनु पर्ने न्यूनतम सेवा, सुविधा र अधिकार के हो भन्नेसमेत थाहा नपाएकाहरू दलीय लोकतन्त्रको जगमा सडक, सदन र सरकार कब्जा गरेर वामपन्थको बिगुल फुक्दै छन् । कपट, षड्यन्त्र र बेइमानी विश्वसनीय हतियार बनाइएको वैश्य युगमा समाजको पुनः रचना या पुनर्संरचना एक फ्लप विचारधारा वा कार्यक्रम बन्न पुगेको छ । अभिमान र प्रतिसोधको नवीन सिद्धान्त कुर्सीको निम्ति जन्मिँदै अनि मर्दैछ । फगत तर्क र तथ्यको जगमा छरिएका मुर्छित सपनाहरू सडकमा पछारिन बाध्य बन्दा घोषणा, प्रतिबद्धता र नारा हाँस्न नमिल्ने जोकमा परिणत भएका छन् । गम्भीर विषयलाई ‘हल्का’ बनाउँदै सत्ताको आयु लम्ब्याउने तथाकथित राजनीति लोकतन्त्रको गहना बनिसकेको छ ।

मुलुकमा राष्ट्रिय गौरवका लोभलाग्दा आयोजनाहरू छन् । समयमै काम सम्पन्न गर्नुपर्छ भन्छन् तर गर्दैनन् । फास्ट ट्र्याकले मुलुकको इन्धन लागतमा व्यापक कटौती गर्न सक्छ भन्छन्, काम सम्पन्न गर्न सक्दैनन् । संविधानमा जात छुट्ट्याएर जातीय विभेद अन्त्य गर्ने भन्छन् । विश्वविद्यालय, कलेजमा ताला लगाउन हुँदैन भन्छन्, दलीय कार्यकर्ताले ताला लगाउँछन् । फोहोरबाट मोहर बन्छ भन्छन्, फोहोर व्यवस्थापनको वैज्ञानिक योजना लागु गर्दैनन् । युवालाई विदेश जान बाध्य बनाउँछन् र गाउँ खाली भयो भन्छन् । वैदेशिक मुद्राको सञ्चिति घट्यो भन्छन्, आयात बढाउँछन् । कृषि उत्पादन बढाउने भन्छन्, मलमाथिको अनुदान घटाउँछन् । मुलुकमा अपार जलस्रोत छ र यसको प्रयोग गरे मुलुक स्वर्ग बन्न सक्छ भन्छन्, तर दुर्भाग्य ! मुलुकबासीलाई नर्कमा राखेर जिउँदै स्वर्गवासी बनाइरहेका छन् ।

सर्वविदितै छ- मुलुकमा दलीय लोकतन्त्र ल्याइएको छ । अनेकौँ नामका दलहरू छन् । उनीहरू सबै देशभक्त छन् । शान्ति, स्थिरता, विकास, समृद्धि, मानवअधिकार लगायतका मुद्दा उठाउँछन् । हरदम मुलुकवासीको समस्या समाधान गर्न वकालत गरिरहन्छन् । न्याय, समानता र अग्रगमनको पक्षमा रहेको सगौरव घोषणा गरिरहन्छन् । बा-आमाको अन्तिम संस्कार नगर्नेहरू समेत धर्म, संस्कार र परम्पराको रक्षा गर्न हौसिन्छन् । हरेक भाषण, घोषणापत्र र तमाम बहसहरूमा शिक्षा/स्वास्थ्यलाई राज्यको दायित्व मान्दै निःशुल्क बनाउने भन्छन् । माथि उल्लिखित तमाम बयानबाजी र गतिविधिलाई हेर्दा हाम्रो मुलुक वामपन्थीहरूको स्वर्गभूमि हो । भावुकताको स्थानमा संवेदना, उन्मादको स्थानमा विवेक, अन्धविश्वासको स्थानमा तार्किकता, जातिगत वर्चस्ववादको सट्टा लोकतान्त्रिक सहमति, इतिहासको सम्मान, साम्प्रदायिकता र जातिवादको निन्दा, मानवअधिकारको वकालत, स्वस्थ र आधुनिक नागरिकताको पक्षमा वकालत गर्ने ‘वामपन्थी’हरूले राज गरेको मुलुकमा यति धेरै समस्या किन ? जवाफ खोज्दा जताततै उनीहरूको असफलता र असक्षमता मात्र भेटिन्छ ।

साम्यवाद या कम्युनिज्म र वामपन्थबीच व्यापक अर्थमा फरक छ । वामपन्थीहरू केवल बहस/पैरवीमा विश्वास गर्छन् । अधिकांश समय बहस र विरोधमा बिताउँछन् । यसको ठिक उल्टो कम्युनिस्टहरू राज्यसत्ताबिना कुनै काम गर्न नसकिने कुरामा विश्वास गर्छन् । सामाजिक-आर्थिक समस्याको सम्पूर्ण दोष राज्यसत्तामाथि थोपार्छन् । राज्यसत्ता प्राप्त गर्न र आफ्ना मूल्य र मान्यता स्थापित गर्न बन्दुक उठाउँछन् । तमाम बौद्धिक सम्पत्ति र इतिहासको निर्माण कम्युनिस्टले मात्र गर्न सक्छ र गर्नुपर्छ भन्दै सांस्कृतिक मूल्य, मान्यता, धर्मको स्थानमा साम्यवादी मूल्य र मान्यतासहितको कम्युनिस्ट धर्म स्थापना गर्न बल प्रयोग गर्छन् । सत्ता प्राप्तिपश्चात् वामपन्थीको अधिकारसमेत खोस्दै अनन्त कालसम्म आफ्नो विश्वास नै एक मात्र सत्य ठान्दै शासन गर्छन् । मानवीय संवेदनशीलता, सर्वसाधारणको विवेक, विरोधिको सम्मान जस्ता कुरालाई साम्यवादको दुश्मन ठान्छन् । सङ्गठन र सत्ताको बलमा समाज र मुलुकको तरक्कीसँग खेलबाड गरिरहन्छन् ।

विश्वभरका सत्ताले एउटा सजिलो बहना पाएका छन् । उनीहरू तमाम समस्याको कारण कोभिड-१९ र रुस-युक्रेन युद्धलाई देखाउँदै शोषणको धारावाहिक कथा हाल्दैछन् । हरेक मानिसको चुलोमा महँगीको भाइरस प्रवेश गराइएको छ । रुससँग कुनै कारोबार नगर्ने, तेल आयात नगर्ने युरोपियन युनियनको हावादारी निर्णयको कारण अन्तर्राष्ट्रिय बजारमा उकालो लागेको इन्धन, तेल र खाद्यान्नको मूल्य सर्वसाधारण जनताले खल्तीबाट भुक्तान गर्दै छन् । नगरेको गल्तीको सजाय भोग्न बाध्य जनता कुनै विकल्प नदेख्दा अकल्पनीय निराशामा डुब्दैछन् । देशभक्ति र लोकतन्त्र थप दुब्लो बन्दै छ । आत्मनिर्भरता, बेरोजगारी र राष्ट्रियता यसै बहानामा मुलुकबाट गायब पारिँदै छ । लूट, भ्रष्टाचार र महँगीको जगमा सङ्टकालको वातावरण सिर्जना गरिँदै छ । मुलुकको इतिहास र सर्वसाधारण मानिसको धार्मिक आस्थामाथि घृणा फैलाउने नयाँ कथा बुनिँदै छ । शान्ति सुरक्षा र वैदेशिक सम्बन्धमा दरार उत्पन्न गर्ने तिब्बती शरणार्थीको नयाँ एपिसोड लेखिँदै छ । कथित लगानीमा सुरु गरिएका मिडियालाई ‘न्युज कारखाना’ बनाउने कार्यले सफलता पाइसकेको छ । मारिएको पार्टी ब्युँताउन अदालत सफल भइसकेको छ । एक थान प्रधानमन्त्री कोरलिसकेको छ । हुँदा-हुँदा विकास/समृद्धिको ठेक्का लिँदै विमानस्थलसमेत ‘निर्माण नगर’ भन्न भ्याइसकेको छ । जनताको चाहना, इतिहासकार, कलाकार, लेखक, अर्थशास्त्रीको राय र सोचभन्दा आयातित एजेन्डाको वामपन्थी करण र राजनीतिकरण गर्ने कार्य उच्चस्तरमा सम्पन्न भइसकेको छ ।

विश्व पुँजीवाद र वैश्ययुगको नाङ्गो नाचले थला परेको मध्यम वर्ग वामपन्थसँग हमेसा उत्सुक रहँदै आएको छ । मुलुकमा एउटा भ्रमले जरा गाडेको छ- वामपन्थी र कम्युनिस्ट एकै हो ! वास्तवमा मध्यम वर्गीय जीवन जिउने मानिस वामपन्थी विचारसँग प्रभावित हुन सक्छ तर साम्यवादी या कम्युनिस्ट बन्न सक्दैन । निजी सम्पत्ति र बुर्जुवा जीवनशैलीमा रम्दै वामपन्थ रुचाउनेहरू कम्युनिस्ट बन्न तयार हुँदैनन् । ‘पुँजी र बजार’को विचित्र नाता राम्रोसँग बुझेको ‘स्वकल्ड कम्युनिस्ट’हरूले ‘मार्क्सवाद, माओवाद र जबज’को व्यापारीकरण गज्जबले गरेको देख्दा काङ्ग्रेसलगायतका दलहरू रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् । साम्यवादी विचारधारा र कम्युनिस्ट जीवनशैलीको बर्बादीमा निजी भविष्य निर्माण गर्न दक्षिणपन्थी राजनीतिको सहारा लिने स्वकल्ड कम्युनिस्ट नेतृत्वले काङ्ग्रेस-राप्रपा-मधेसकेन्द्रित दल बोक्ने तागत ‘कुर्सीवाद’बाट जन्मिएको मान्न करै लाग्छ । संविधान जारी गर्दा होस् कि स्थानीय निर्वाचनमा सहकार्य गर्दा होस्, काङ्ग्रेसदेखि राप्रपासम्म वामपन्थी भएको मुलुकमा एमाले, माओवादी केन्द्रलाई कम्युनिस्ट भन्न सक्ने आधार भेटिएन ।

अभियन्ता र वामपन्थीहरू काम गर्दैनन्, काम गर्नेहरूमाथि औँला मात्र खडा गर्छन् । कुरा राम्रा गर्छन्, काम गर्ने जाँगर देखाउँदैनन् । खिर खाने कुरा गर्छन्, भैँसी पाल्दैनन् । अझ विचित्रको कुरा- अन्न, घाँसपात नखाने, गोबर नदिने र दूध मात्र दिने भैँसीको वकालत गर्न हौसिन्छन् । जुन मुलुकमा वामपन्थको जगजगी हुन्छ या रहन्छ त्यहाँ कुनै काम हुँदैन । केवल गफ हुन्छ । बहस हुन्छ । सडक मञ्चन मात्र हुन्छ ।

गरिब मुलुकको विकास रोक्न अनेक नामले मुलुक प्रवेश गरेका आइएनजीओ, उनीहरूको लगानीमा जन्माइएका अभियन्ता र हरेक समस्याको जानकारी राख्ने वामपन्थीहरूको बौद्धिक जमात रहेसम्म मुलुकको बर्बादी थामिने छैन । मुलुकवासीलाई अन्धकार, गरिबी, पछौटेपन, भ्रष्टाचार र कुशासनको दलदलबाट मुक्त हुन नदिने अभियन्ता, दलीय वामपन्थीकरण, उनीहरूमार्फत सुरु गरिएको पश्चिमा सोच र कार्यक्रम नै हो । सम्पूर्ण मुलुकबासीलाई वामपन्थी बनाएर सरकार, सदन र सडक कब्जा गर्दै नेपालको भविष्यमाथि गरिएको गम्भीर खेलबाड चिर्न नसके नेपालीको आगामी दिन थप भयावह र टिठलाग्दो हुनेछ ।

अन्तमा, ‘अभियन्ता र वामपन्थी’ले थला पारेको मुलुकको राजनीति र लोकतन्त्रलाई ब्यङ्ग्यबाट बिट मार्दैछु । गौचरन मासेर मानिसहरूले मन्दिर, मस्जिद र चर्च बनाए । बाँकी रहेको गौचरनमा एउटा गोठालोले आफ्ना केही गाई-बाख्रा लिएर चराउन गयो । पुरोहित, मौलाना र पादरीले गोठालोलाई भने- गाई-बाख्रा यहाँबाट हटाऊ । पवित्र धार्मिक स्थलभित्र प्रवेश गर्न सक्छ । गोठालोले शालीनतापूर्वक कुटनीतिक जवाफ फर्काउँदै भन्यो- ‘महोदय, ढुक्क हुनुस् । जनावरले धर्म मास्दैन÷पाप गर्दैन ।’