अमेरिकी राजनीतिक प्रणाली, हिंसा र निरीह बाइडेन प्रशासन
गत मे १२ तारिखको दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ बाट एक मिलियन अमेरिकीको मृत्यु भएको भन्दै शोक व्यक्त गरे । शोकलाई शक्तिमा बदल्न नभ्याउँदै २४ तारिखको बिहान १८ वर्षीय बन्दुकधारीले टेक्सस प्रान्तस्थित प्राथमिक विद्यालयमा अन्धाधुन्ध गोली चलाएर एक्काइस जनाको हत्या गरेको घटनाका कारण अमेरिका झन् गहिरो शोकमा डुबेको छ । १९ बालक र दुई शिक्षकको मृत्यु भएको बीभत्स हत्याकाण्डपश्चात् अमेरिकी जनताले सरकारसँग गम्भीर किसिमको अविश्वास व्यक्त गर्ने कारण फेला पारेका छन् । मानवअधिकार, शान्ति र समृद्धिको ठेक्का लिएर बसेको अमेरिकी राजनीतिले कोभिड-१९ को महामारीमा समेत बन्दुकको व्यापार गर्न हौसिएको प्रमाण दुर्भाग्यपूर्ण टेक्सस हत्याकाण्डपश्चात् सतहमा चुहिएको छ । Small Arms Analytics and Forecasting को आँकडाअनुसार कोभिड-१९ को महामारीमा ४६ लाख बन्दुक (firearms) बिक्री गरियो । सन् २०२२ को पहिलो चार महिनामा ५९ लाख बन्दुक बिक्री भएको डरलाग्दो तथ्याङ्कले अमेरिकी समाज आगामी दिन कुन स्तरको हिंसा भोग्न बाध्य हुँदैछ भन्ने उजागर भएको छ ।
सन् २०१२ मा कनेक्टिकट स्कुलमा २० वर्षीय युवकले अन्धाधुन्ध गोली चलाउँदा २० व्यक्तिले घटना स्थलमै जीवन गुमाए । ६–७ वर्षको बच्चादेखि बयस्कसम्म मारिएको उक्त घटनाले अमेरिकी समाज र राजनीतिलाई नमिठो ढङ्गले चिमट्यो । तत्पश्चात् तत्कालीन राष्ट्रपति बाराक ओबामाले अमेरिकी कङ्ग्रेससामु भावुक सम्बोधन गरे । उनले एक सार्थक ‘बन्दुक कानुन’ निर्माण गर्न रिपब्लिकनसँग सहयोगको लागि अनुरोध समेत गरे । दुर्भाग्य ! ओबामा कार्यकालको दौरान सिनेट बहुमतको नेता म्याककोनेलले राष्ट्रपतिको अनुरोधलाई अस्वीकार गरिदिए । अमेरिकामा बन्दुक प्रतिबन्ध गर्ने विषयमा म्याककोनेलले सदैव व्यापारीको पक्षमा वकालत गरिरहे ।
सन २०१९ मा, ‘एनबीसी न्युज’ले ‘म्याककोनेल’को बारेमा सनसनीपूर्ण समाचार बाहिर ल्यायो । एनबीसी न्युजको दाबीअनुसार म्याककोनेलले आफ्नो ३५ वर्षे सिनेट कार्यकालमा बन्दुक प्रतिबन्धको धुवाँदार विरोध गरेबापत नेशनल राइफल एसोसिएसन (एनआरए) बाट १.२ मिलियन डलरभन्दा अधिक ‘राजनीतिक योगदान’ प्राप्त गरे । ‘एनआरए’सँग घनिष्ट सम्बन्ध कायम राख्दै आर्थिक लाभ लिनेमा अन्य २० रिपब्लिकन सिनेट सदस्यसमेत रहेको खुलासालाई राजनीतिक प्रणाली र अमेरिकी जनताले सामान्य रूपमा लिएको सजाय सर्वसाधारण र निर्दोष बच्चाले अकालमा ज्यान गुमाएर दिँदैछन् । तत्कालीन समयमा बन्दुक कानुनमा महत्त्वपूर्ण बदलाव ल्याउन सकेको भए वर्तमानमा घटिरहेका सामूहिक हत्याको घटनामा अकल्पनीय कमी आउने सर्वसाधारण अमेरिकीहरूको दाबी छ ।
अमेरिकी राजनीति विचित्रको रोडम्यापमा सञ्चालन भएको आरोप खेप्दै छ । आन्तरिक सुरक्षा, सामाजिक विखण्डन अन्तहीन हिंसालाई नियन्त्रण गर्नुको सट्टा उसले हतियारको व्यापार र दुनियाँभर अतिरिक्त सक्रिय हुनुलाई अधिक महत्त्व दिन रुचाउँदै आएको छ । रुस-युक्रेन सङ्घर्षमा औचित्यहीन उत्साह, अतिरिक्त सहयोग र अर्बौं डलरको बरबादी गर्न हौसिन्छ । एसियामा सैन्य गठबन्धन निर्माणलाई थप मजबुत बनाउँदै चीनको खिलाफ मोर्चाबन्दी गर्न बाइडेनको बहुमूल्य समय खर्च हुँदै छ । आफ्ना जनतालाई उद्धार गर्नुको सट्टा मानवअधिकार, लोकतन्त्र र व्यापारको ठेकेदार बन्दै पीडित जनताको हृदयमा नुन छर्कंदै छ ।
विश्वले उत्सुकतापूर्वक हेर्ने र लिने अमेरिकी लोकतन्त्र २०२० को राष्ट्रपति घोषणा गर्न क्यापिटल हिलको विद्रोह भोग्न विवश भएकै हो । अनेकौँ सङ्घर्ष पार गर्दै राष्ट्रपतिको कुर्सीमा विराजमान बाइडेनको राजनीतिक कुशलता र कार्यक्षमता पश्चात् Gallup poll ले गरेको सर्वेक्षणमा ८३ प्रतिशत जनता महसूस गर्दैछन्- अमेरिकन राजनीति ‘रेलको लिक’बाट फुत्किएको छ । राष्ट्रपति बाइडेनको लोकप्रियता दिन/प्रतिदिन घट्दै छ । केवल ३६ प्रतिशत जनता बाइडेनको कामसँग सन्तुष्ट छन् । कसैले आश्चर्य मान्न जरुरी छैन- ‘बन्दुकबाट रगतको गन्ध आउँछ ।’ Small Arms को सर्वेअनुसार सन् २०१८ मा अमेरिकीहरूको हातमा अनुमानित ३९४ मिलियन बन्दुक थियो । अर्को तरिकाले हेर्दा प्रत्येक सय अमेरिकनको भागमा १२०.५ बन्दुक पर्छ । यस्तो डरलाग्दो आँकडा विश्वमा अन्यत्र कहीँ पाइँदैन ।
सन् २०२० मा Pew Research Center द्वारा गरिएको एक अनुसन्धानअनुसार प्रत्येक १००,००० अमेरिकनमध्ये १३ व्यक्तिको मृत्यु बन्दुकबाट भएको छ । यस रिपोर्टअनुसार हरेक वर्ष औसतमा करिब ३३ करोड अमेरिकन जनतामध्ये ४२,९०० अमेरिकीको मृत्यु बन्दुकबाट हुँदै आएको मान्न कर लाग्छ । एक भयानक वास्तविकता अमेरिकीले भोग्दै आएका छन् । सीएनएनले जनाएअनुसार सन् २०२२ मा स्कुल, कलेज र विश्वविद्यालयमा ३९ पटक बन्दुकबाट हमला गरिएको छ । जहाँ कम्तीमा १० को मृत्यु र ५१ मानिस घाइते भएका छन् । सन् २०२२ मा अहिलेसम्म अमेरिकामा बन्दुकबाट १७,१९८ मानिसको मृत्यु भएको छ, आधाभन्दा बढीले आत्महत्या गरेका छन् र २१३ सामूहिक गोलाबारी भएका छन् । आफ्नै कार्यकालमा घटेका यी तमाम घटनालाई नजिकबाट हेरेका राष्ट्रपति बाइडेनले गत मे २४ तारिखमा मृतकको आत्माको निम्ति प्रार्थना गर्दै राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै गर्दा एक समय आफूलाई नियन्त्रण गर्न बिर्सिए, तथापि तत्काल आफूलाई शान्त बनाउँदै उनले भने- ‘एक राष्ट्रको रूपमा, हामीले सोध्नुपर्छ; भगवानको नाममा हामी कहिलेबाट बन्दुकको लबीमा उभिन तयार हुँदैछौँ ?’
सबैलाई थाहा छ, वैश्ययुगको चर्को आतङ्क अमेरिकामा नै छ । अमेरिकी जनतालाई सुरक्षित महसूस गराउन चुकेको राष्ट्रपति बाइडेन प्रशासनको आलोचना पछिल्लो हत्याकाण्डपश्चात् थप चर्किंदै छ । अमेरिकी सरकारको अक्षमता र राजनीतिक ध्रुवीकरणले अनिवार्य र अत्यावश्यक मुद्दासमेत ओझेलमा पर्दै छ । जसको प्रभाव ‘गन कन्ट्रोल’ मुद्दामा सुरु भएको अनुपयुक्त ध्रुवीकरणले उजागर गरिरहेको छ । white house र डेमोक्रेट सांसद टेक्सस घटनापश्चात् कडा कानुनको आह्वान गर्दै छन् भने टेक्सस गभर्नर ग्रेग एबट उनीहरूको खिलाफमा उत्रिएका छन् । एक प्रेस कन्फ्रेन्समार्फत एबटले भनेका छन्- ‘बन्दुकमाथि प्रतिबन्ध लगाउँदैमा अपराध रोक्न सकिन्न !’ उनी जोड दिँदै भन्छन्- ‘हाम्रो काम वास्तविक समाधानको साथ आउनु हो । जसलाई हामी लागु गर्न सक्छौँ ।’
अमेरिकामा बन्दुक किन्नु फेसन जस्तै बनेको छ । बिनालाइसेन्स बन्दुक किन्न र बोक्न पाइने खुला नीतिको दुरुपयोग गर्नेहरू झन्-झन् थपिँदै छन् । अमेरिकी संविधानले नागरिकलाई हतियार राख्ने अधिकार दिएको छ । एक अनौपचारिक तथ्याङ्कअनुसार टेक्सस राज्यमा करिब ४६ प्रतिशत मानिसले बन्दुक राखेका छन् । बन्दुक उत्पादन गर्ने कम्पनीको पकेटमा रहेको अमेरिकन प्रणाली बन्दुकको व्यापारमाथि कुनै पनि किसिमको प्रतिबन्ध स्वीकार गर्दैन । यस्तो विचित्रपूर्ण अवस्थामा राष्ट्रपति बाइडेन निरीह बन्दै सडकमार्फत रिपब्लिकन शक्ति र व्यापारीहरूमाथि दबाब सिर्जना गर्न विवश छन् । यसबाट प्रस्ट हुन्छ । अमेरिकामा हतियार व्यापारी र कम्पनीहरू कति मजबुत छन् । अमेरिकन प्रणाली र राजनीति कति पानीमा छ ? सही मानेमा अमेरिकी सत्ता कसले चलाउँछ ? विश्वले बुझ्न पाउँदै छ ।
हत्या र हिंसालाई मानवजातिले विचित्रसँग स्वीकार गरेको असङ्ख्य घटना भेटिन्छन् । राज्यसत्ता प्राप्तिको नाममा होस् या टिकाउने नाममा गरिएका तमाम हिंसालाई जनताले अनदेखा गर्दै आएका छन् । रगत र पैसासँग निद्रा किन्ने मानवजातिको विचित्र कमजोरीको फाइदा सत्ता र व्यापारीले प्रचुर मात्रामा उठाउँदै आएको छ । विश्व आतङ्वाद, आन्तरिक गडबडी र सत्ताको नालायकीको सजाय सर्वसाधारणको हिस्सामा हालेर अनन्त सुखसयलमा रम्ने काइदा विश्वभर फैलिँदै छ । इतिहास या वर्तमानमा घटेका घटनाको बदला लिने सोचले व्यक्ति र समाजलाई अनिश्चित र असुरक्षित बनाउँछ । व्यक्ति र समाजभित्र हिंसाको अनन्त सम्भावना रहेसम्म हिंसा र आतङ्कबाट मुक्त हुन सम्भव छैन ।
अमेरिकी समाजमा बन्दुकबाट सिर्जित हिंसा नयाँ रोग होइन । गत मे १४ मा न्युयोर्क सुपर मार्केटमा एक श्वेत वर्चस्ववादीले आफ्नो असीमित घृणा पोख्दै १० मानिस मारिदिए, जहाँ मर्नेहरू सबै काला जातिका थिए । आफ्नो कथित सोच पूरा गर्न करिब ३२० किलोमिटर यात्रा गर्दै सुपर मार्केटमा विभत्स हत्याकाण्ड मच्चाएको युवकले इन्टरनेटमार्फत उक्त घटनाको प्रत्यक्ष प्रसारण गरे । काला मानिसप्रति घृणा फैलाउँदै १८० पेजको एक दस्ताबेजसमेत पोस्ट गरे । दस्ताबेजमा गोराजातिको ‘महानता र सर्वोच्चता’को बयान गरे भने काला जातिलाई गर्नुसम्म गाली र घृणा गरे । विगत १० वर्षमा अमेरिकन युवाहरू गोलाबारीलाई सामान्य र अनिवार्य मान्न थालेसँगै राज्यसरकार र अमेरिकी राजनीतिक व्यवस्थाको कमजोरी हिंसाप्रेमीको तागत बन्दैछ । घृणा र हिंसाको जगमा White ‘Replacement Theory’ स्थापित गर्ने चक्करमा एक १८ वर्षीय युवक अनजानमै हत्यारा बन्न पुग्यो । ‘न्युयोर्क टाइम्स’ले लेखेको छ । सन् २०११ पश्चातको ‘Replacement Theory’ कारण १६० मानिसले जीवन गुमाइसकेका छन् ।
सामान्य मानिसले पनि बुझ्न सक्छन्, विश्वमा सबैभन्दा मानिसको ज्यान लिने तीन कारणहरूमा व्यक्तिनिर्मित धार्मिक युद्ध, जातीय युद्ध र राजनीतिक विचार नै हो । धर्म, जाति र राजनीतिक विचारधाराको सर्वोच्चता स्थापित गर्ने नाममा मानवजातिले बगाएको रगतको हिसाबकिताब वर्तमान पुस्ताले गर्न नचाहेको पछिल्लो प्रमाण पुँजीवादको अनियन्त्रित नाङ्गो नाच हो भन्न सकिन्छ । व्यक्तिनिर्मित धर्म, जाति, राजनीतिक विचार र केवल पैसामुखी व्यापारको ‘वान वे’मा प्रवेश गर्नेहरू मानव-हत्यालाई सामान्य ठान्दैछन् । आफ्ना कथित मूल्य र मान्यता स्थापित गर्न बन्दुक उठाउन हौसिनेहरू हिंसालाई सही र अत्यावश्यक प्रमाणित गर्न लागिरहन्छन् ।
अमेरिकी राजनीतिक प्रणाली र दलीय लोकतन्त्र नाङ्गो पुँजीवादको कब्जामा छ । व्यापारीको नजरमा मानव-शरीरको कुनै मूल्य छैन । उनीहरूको ध्यान केवल नाफा र व्यापारभन्दा टाढा पुग्न तयार छैन । राजनीतिक प्रणाली र नेतृत्व कब्जामा लिएको अमेरिकी पुँजीवादले बाइडेन प्रशासनलाई कठपुतलीको रूपमा प्रयोग गर्दैछ । सर्वसाधारण जनताको मानवअधिकार र जीवनको सुरक्षा गर्न नसक्ने निरीह बाइडेन प्रशासनको बाध्यात्मक दौडधुप अमेरिकी व्यापार र व्यापारीको रक्षार्थ भएको अमेरिकी जनता र विश्वले थाहा पाउँदा अमेरिकन राजनीतिक प्रणालीको कथित सान धुलोमा मिल्दैछ ।