ओली-राजनीतिको ‘मेटरनिक’ इनिङ !
मेटरनिक सगौरव घोषणा गर्थे- ‘म यस संसारमा या त धेरै पहिला आएँ या धेरै ढिलो आएँ । पहिले आएको भए युगको आनन्द लिने थिएँ, अथवा ढिलो आएको भए युगको पुनर्संरचनामा सहायता गर्थें । किन्तु यस समय बिग्रेको समाजलाई ठिक गर्नको निम्ति मैले आफ्नो जीवन लगाउनु परेको छ ।’ युरोपका इतिहासकारहरू लेख्ने गर्छन्- ‘मेटरनिक आफ्नो युगको एक महान् प्रतिक्रियावादी नेता थिए ।’ सन् १८१५ देखि १८४८ सम्मको समयलाई युरोपको इतिहासमा ‘मेटरनिक युग’को नामले पुकार्ने गरिन्छ ।
मेटरनिकलाई आफ्नो शक्तिमाथि अत्यधिक विश्वास थियो । उनी सोच्थे कि आफ्नो जन्म युरोप महाद्वीपको बिग्रिएको राजनीतिक ढाँचालाई ठिक गर्नको लागि भएको हो । उनी क्रान्तिको कट्टर शत्रु थिए । क्रान्तिलाई सडेको मासुको टुक्रा, सङ्क्रामक रोग, ज्वालामुखी आदि नामले सम्बोधन गर्थे । खुलेआम आफूलाई सुधारको विरोधी तथा यथास्थितिको कट्टर समर्थक भएको घोषणा गर्थे । मेटरनिक अष्ट्रिया साम्राज्यको गृह तथा विदेशनीतिको मूलमन्त्र ‘यथास्थिति’लाई कायम राख्नु हो भन्ने गर्थे ।
मुलुकको राजनीति आफूले मात्र ठिक गर्न सक्ने ‘अत्यधिक विश्वास र अभिमानमा’ पछारिएपछि गुमेको शक्ति फिर्ता ल्याउन महाधिवेशनमार्फत कमरेड ओलीले ‘मेटरनिक सिद्धान्त’लाई ‘जबजकरण’ गर्न सफल भएका छन् । भीमकाय अङ्कगणितको नसामा राजनीति भनेको- ‘चुनावदेखि चुनावसम्म’, सुशासन भनेको- ‘भ्रष्ट, दलाल, बिचौलियाहरू नेताको बेडसम्म’, अनिवार्य संरक्षण भनेको- बालुवाटारको जग्गा झुक्किएर खानेदेखि यती-ओम्नीसम्म, विकास भनेको- ‘रेल, पानीजहाज, भ्युटावर र शिलान्यास मात्र हो’ भन्ने ओली-सिद्धान्तमा मेटरनिकको यथास्थितिवाद फिट गर्ने सङ्केत उनले चुनेका सारथीहरूको अनुहारले गरिसकेको छ । ओली निर्विकल्प नेता बन्दैगर्दा आफैले देखेका र देखाएका तमाम सपना कार्यान्वयन गर्न राजा र राजतन्त्र बाधक थिएन । विपक्षी पनि नाम मात्रको थियो । देशको सम्पूर्ण तागत आफ्नैमातहत थियो । दुर्भाग्य ! सर्वसाधारणले सम्झिनलायक नतिजा पस्कन नसकेको झोँकमा ‘माधव-प्रचण्ड’लाई देखाइदिने भन्दै वाम आन्दोलनको औपचारिक विसर्जन गर्न हौसिए ।
आफ्नो युगको महान् प्रतिक्रियावादी नेता मेटरनिकको सोच र शैली पछिल्लो समय एमाले नेता ओलीको बाध्यता बनेको छ । विगतमा ओलीको व्यक्तिगत स्वार्थको निम्ति शहीद बनाइएको ‘एमाले’ मुलुकमा छैन । यद्यपि अदालतको आशीर्वादमार्फत जन्मिएको एमालेलाई ओलीले चलाखीपूर्वक हिजोकै एमाले बताइरहेका छन् । प्रचण्ड-राजनीतिको कटु आलोचना गर्दै उनैसँग अराजनीतिक चोचोमोचो मिलाउँदा चुनौतीविहीन अवस्थामा पुगेका ओली अदालतको निगाहमा राजनीतिको मैदानमा रहन सफल भए पनि चुनौती नै चुनौतीले घेरिएका छन् । आफ्नै गलत नीतिले सिर्जना गरेको तमाम चुनौतीको सामना गर्न ओलीले यथास्थितिवादको प्रयोग गर्ने लाइसेन्स चितवनमा भर्खरै सम्पन्न महाधिवेशन नामक ‘कुम्भ मेला’मार्फत प्राप्त गरेका छन् ।
मेटरनिक क्रान्ति, राष्ट्रियता, उदारवाद, प्रजातन्त्र आदि विचारको कट्टर विरोधी तथा यथास्थितिवाद र पुरातनवादको सफल पुजारी थिए । मेटरनिक भन्ने गर्थे- ‘युरोपमा शान्ति स्थापनाको लागि मेरो नीति आवश्यक र अनिवार्य साधन हो ।’ मेटरनिक राजनीतिको नेपालीकरण गर्दै महानतम् राजनीतिज्ञ बन्ने ओली-चाहनालाई भर्खरै सम्पन्न एमाले महाधिवेशनले अनुमोदन गरेको छ । माओवादी लुटपाट र ध्वंशबाट विरक्तिएको नेपाली समाजलाई शान्ति, स्थिरता र समृद्धि दिने हवाई आश्वासनमा युवालाई दास र भ्रष्ट बनाउने, सर्वसाधारण जनतालाई देखाएको सम्पूर्ण सपनाको हत्या गर्दै राजनीतिप्रति घोर निराशा पैदा गर्ने, कर्मचारीतन्त्रलाई अल्छी र परिक्रमावादी बनाउँदै गुलामीको दलदलमा फसाउने ओली-अभियानले थप ऊर्जा प्राप्त गरेको छ ।
४० महिने शक्तिशाली कार्यकालमा सामान्य सुधारको कार्यक्रम दिन असफल अध्यक्ष ओलीले आफूलाई ‘वामपन्थी र प्रगतिशील’ शक्ति भन्दै महाधिवेशन नामको कुम्भ मेलामा समय खर्च गर्न रुचाएनन् । ‘आइ लभ यु बा’को दबदबाले जेलिएको सङ्गठनले वामपन्थको औपचारिक दाहसंस्कार गरिसकेको बुझ्न एमाले किन, कसका लागि, यसले के गर्छ ? जस्ता विषयमा चर्चासमेत नहुनुलाई लिन सकिन्छ । कमरेड ओलीले एमालेभित्र १८–२० वर्षमा अराजकतावादी, २५–३० वर्षमा विद्र्रोही र क्रान्तिकारी, ४०–४५ वर्षमा संशोधनवादी र अवसरवादी, ५५–६० वर्षमा ‘मेटरनिकवादी’ बनाउने गज्जबको ‘पोलिटिकल डाइ’ फिट गर्न सफल भएका छन् । महाधिवेशन हलले नबोले पनि ‘वामपन्थ’ सकिएको भूतपूर्व ‘वामपन्थी’ पार्टी एमालेलाई मेटरनिक युगतर्फ चलाखीपूर्वक डोऱ्याउन सफलता प्राप्त गरेका कमरेड ओलीले नेपाली राजनीतिको ‘नैतिकता र गन्तव्य’ बदल्न कस्सिएका छन् ।
अदालतबाट पुनर्जीवन पाएको एमालेले पार्टीलाई निश्चित राजनीतिक मान्यतामा सङ्गठित गर्ने कि अराजक भीड बनाउने ? पार्टीको अधीनमा व्यक्ति हुने कि व्यक्तिको अधीनमा पार्टी ? विवेकले सत्ता चलाउने कि सत्ताले विवेक ? सामूहिक निर्णयको व्यक्तिगत उत्तरदायी कि व्यक्तिगत निर्णयको सामूहिक जिम्मेवारी ? यस्ता अनेक सवालमाथि छलफल गर्नु आवश्यक नै ठानेन । ‘राजनीतिक चेतना र विवेक’सँग कुनै नाता-साइनो नरहेका युवा वर्गलाई सम्मोहन गर्दै लोकतन्त्रको न्यूनतम मूल्य र मान्यताको आफ्नै परिभाषालाई महाधिवेशनबाट अनुमोदन गराउन सफल भएको ओली-राजनीति ८ लाख पार्टी सदस्यको बलमा ‘मेटरनिक युग’को अभ्यास गर्न थप हौसिने छ ।
ओली विचारक थिएनन्, होइनन् । वर्तमान समयमा एमालेसँग वैचारिक नेता जन्मिने अवस्था थिएन । विचार उनको मनपर्ने विषय कहिल्यै रहेन । हरेक विषयलाई सतही रूपमा चुमेर त्यस विषयको हुर्मत लिन उनीसँग प्रतिस्पर्धा गर्ने नेता मुलुकमा फेला पर्दैन । अत्यन्त गहन विषयलाई हल्का पाराले लिने र सर्वसाधारण मानिसलाई सस्तो मनोरञ्जन दिँदै कार्यकर्ताको दिमाग चाट्न सफल ‘ओलीकला’ नेपाली राजनीतिमा बिक्दासम्म लोकतन्त्र र संसदीय व्यवस्थाले थप बदनामी कमाउन विवश हुने छ ।
ओलीलाई यथास्थिति मनपर्छ । उनलाई प्रतिक्रान्ति झनै मनपर्छ । पश्चिमाहरूले धमिल्याएर करिब सङ्लिने बाटोमा पुगेको राजनीतिलाई ओलीले धमिल्याएर पश्चिमाहरूलाई ठुलो गुन लगाएका छन् । पटक-पटक परीक्षण भएर जनताले कुनै आशा र भरोसा समेत नगरेका देउवाको कमजोरी र प्रचण्डको अस्ताउँदो राजनीतिक भविष्यको उछित्तो काढेर उनको राजनीति जोगिने थिएन, छैन । अध्यक्ष ओलीको सम्पूर्ण सबल र दुर्गुण पक्ष खुलिसकेको पछिल्लो समयमा ४० महिने शासनको तमाम असफलतालाई छोप्न र अदालतले एमाले नजन्माउँदा करिब अवसानको अवस्थामा पुग्न लागेको राजनीतिलाई बचाउन ‘मेटरनिक सिद्धान्त’ अङ्गिकार गर्नुको विकल्प उनीसँग थिएन ।
कमरेड ओलीको गफलाई मान्ने हो भने मुलुकमा गर्न केही बाँकी छैन । असफल कार्यकालको २.० मा ‘गिनिजबुक’ ओली कारनामाले भरिएको कमरेडको दाबी छ । कमरेड ओलीसँग दिवङ्गत मदनको नासो ‘जबज’ नामको जादुमय ‘कमण्डलु’ छ । यस कमण्डलुमा जनताले धेरै हालिसकेका छन् । संविधान जारी गरिएपश्चात् भएको निर्वाचनमा एमालेको कमण्डलुमा पर्न बाँकी केही थिएन/छैन । तर पनि ओलीले यसको प्रयोग गज्जबले गरेका छन् । सकेसम्म गरिरहने छन् । एउटा कार्यकर्ताको नजरमा ‘जबज’ जीवन-मुक्तिको मार्ग बनाइएको छ, ओली र ओली-भक्तहरूको नजरमा सत्ताको भऱ्याङ र संसदीय सुखको माध्यम बनेको बन्यै छ । जबजकै जगमा एमालेले सत्तासँग सम्झौता गरिरहेको छ । साथै उसले दलाल पुँजीवादसँग अघोषित आत्मसमर्पण गरिरहेको एमालेको ‘विधान-महाधिवेशन’ र ‘महाधिवेशन’ नामको कुम्भ मेलामा गज्जबले स्वीकार गरिएको छ ।
छलफल, अन्तरक्रिया, कमिटी पद्धतिबाट कोसौँ टाढा रहेको ओली-राजनीति अर्थहीन कामलाई अत्यावश्यक देखाउन कति माहिर छ भन्ने बुझ्न चितवन जिल्लामा गरेको तडकभडक मिठो उदाहरण बन्न सक्छ । कार्यकर्ता र नेतृत्वबीच अत्यन्त ठुलो खाडल, तमाम नेतामा आत्मकेन्दृत प्रवृत्ति, नेतृत्व केन्द्रित सिद्धान्त, भेडीगोठ केन्द्रीय कमिटी, अर्थकेन्द्रित राजनीति, दलाल, बिचौलिया, भुइँफुट्टा वर्ग, आयाराम गयारामहरूको घेराबन्दीलगायतले थला परेको एमाले उकास्ने नयाँ विचार र कार्यक्रम महाधिवेशनसँग नभएको पुष्टि भइसकेको छ । वर्ग सङ्घर्ष, जनवादी विवाह र बुर्जुवा शिक्षा बहिष्कारको जगमा जनताको घर-आँगनमा पुगेको एमाले इतिहास ओली राजनीतिले सम्झिनसमेत रुचाएन । सामन्तवादी सांस्कृतिक कुरीति, निम्न पुँजीवादी चिन्तन र बुर्जुवा जीवनशैलीलाई पूर्णतया खारेज गर्दै वर्गीय राजनीतिको जगमा उठेको एमालेको विगत ओलीको उदयसँगै इतिहास बनेको बुझ्न वर्तमान पुस्ता राजीसमेत भएन । गिट्टी कुट्नेको निम्ति गरिएको एमाले राजनीति गिट्टी बेच्नेको हातमा पुगेको ८ लाख कार्यकर्ताले आँखा चिम्लिएसँगै भुइँफुट्टावाद, आवारा पुँजीवाद र दलाल पुँजीवादको नाङ्गो नाच ओलीको ‘मेटरनिक इनिङ’मा थप मौलाउने छ ।
नयाँपन केही दिन नपर्ने, पटक-पटक परीक्षण भएर पनि फेरि कक्षा दोहोऱ्याएर पढ्नैपर्ने, संविधान मन पर्दैन तर स्वीकार गर्छु भन्ने अनि अलिकति शक्ति प्राप्त गर्नासाथ संविधानको धज्जी उडाउन पछि नपर्ने, लोकतन्त्रको जति खिल्ली उडाए पनि लोकतन्त्रवादी भइरहने अवस्थामा ओलीको निरन्तरता हुनु दलीय लोकतन्त्र र ‘जबज’को गम्भीर असफलता मान्न सकिन्छ । ‘सूर्य चिन्ह र जबज’को भिटामिनमा अधिक भरोसा गरेको एमालेको एक मात्र रणनीति पाँचदलीय गठबन्धनलाई जसैगरी टुटाउनु हुनेछ । महाधिवेशनको टनिक पाएर फुक्काफाल भएको ओली-एमाले महाधिवेशनपश्चात् ‘वामपन्थ र वामपन्थी’ बोझबाट मुक्त भएको छ । तथापि, नेपाली जनताको नजरमा कम्युनिस्ट बनिरहनुपर्ने बाध्यता अझै केही समय ओलीले सफलतापूर्वक निभाउने छन् । नेपाली राजनीतिको ‘मेटरनिक इनिङ’ सुरु गर्न ओलीलाई सफलता मिलोस् । नयाँ कार्यकालको शुभकामना !