डाइनोसर बन्ने रफ्तारमा ‘ब्राह्मण’ !

भारतीय राष्ट्रिय स्वयंसेवक संघको एउटा बैठकमा वैदिक सनातन धर्मभित्र मौजुद जातिप्रथा हटाउँदै एक सशक्त ‘हिन्दु’ जाति बनाउने प्रस्तावमाथि छलफल चलाइयो । उक्त प्रस्तावमा एक पण्डितले दुई वटा बाटो देखाए । पहिलो बाटो सबै हिन्दुलाई ब्राह्मण बनाऊँ, दोस्रो बाटो सबैलाई शूद्र बनाऊँ । अथक मेहनत र परिश्रमबिना ब्राह्मण घोषणा गर्नु दुष्कर हुने हुँदा एक सशक्त ‘हिन्दु’ जाति बनाउने एक मात्र उपाय सबै हिन्दुहरूलाई शूद्र घोषणा गरौँ ! बैठकमा उपस्थित अन्य पण्डितहरूले उक्त प्रस्ताव सुनेपश्चात् हजारौँ जाति-उपजाति हटाएर एक मात्र हिन्दु जाति निर्माण गर्ने बहसमाथि स्थायी बन्ध्याकरण गरियो । तत्पश्चात् राष्ट्रिय स्वयंसेवक संघले प्रस्ताव राख्ने पण्डितलाई बैठकमा बोलाउन आवश्यक समेत ठानेन ।

जातिवादको घोर विरोधि महर्षि मनु भन्ने गर्थे- ‘जन्मना जायते शुद्रः कर्मणा द्विज उच्यते ।’ अर्थात्, जन्मले सबै शूद्र हुन्छन् तर कर्मबाट नै ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र बन्छन् । जब कर्मको आधारमा वर्ण विभाजन गरियो । तब ‘ब्राह्मण’ शब्दको पहिलो प्रयोग भारतवर्षमा गरियो । ‘ब्रह्म जानाति सः ब्राह्मणः, यह ऋषित्व-परणीति ।’ अर्थात् त्यो व्यक्ति जसले ‘ब्रह्म’लाई जान्दछ एवम् जसको भित्र ऋषित्व उपस्थित छ, त्यही व्यक्ति ब्राह्मण हो । अर्थात् यस्तो व्यक्ति जसले आफ्नो आसपास उपस्थित सबै प्राणीको जन्मको प्रक्रिया र कारण जान्दछ । साथै जसको मनभित्र लोक कल्याणको भावना भरिएको छ । त्यस्तो व्यक्ति मात्र ब्राह्मण कहलिन्छ । ब्राह्मण एक वर्ण हो, जाति होइन । कर्मको आधारमा जुनसुकै व्यक्तिले ब्राह्मण बन्न सक्छ । समयको साथ वर्ण व्यवस्थामा आएको विकृतिले वर्ण व्यवस्थालाई जाति बनाएको कारणले ‘ब्राह्मण’ शब्द राजनीतिको शिकार बन्दै छ ।

सामान्य भाषामा ब्राह्मणको अर्थ जसले ‘सत्य’ र ‘ब्रह्म’लाई जानेको छ । त्यही ब्राह्मण हो । ‘सत्य’ र ‘ब्रह्म’लाई चिन्न, जान्न र बुझ्न सफल भएपश्चात् मानव जीवनमा जान्न ‘शेष’ विषय रहँदैन । निजी सम्पत्ति नभएका, व्यक्तिगत आवश्यकताहरू अत्यन्त सीमित भएका, लगातार समाजको सर्वाङ्गीण उन्नति र विकासको निम्ति चिन्तित भएका, समाजको सुविधा, उन्नति, प्रगति र समृद्धिको लागि नयाँ-नयाँ विकल्पको खोजमा लाग्ने, निजी स्वार्थ, भौतिक सुखलाई त्याग गर्दै तपस्याको चरम बिन्दुमा पुग्नु नै सही अर्थमा ‘ब्राह्मण’ बन्नु हो ।

वैदिक कालमा समाजलाई रक्षा गर्ने मानिसको चयन गर्ने दायित्व ‘ब्राह्मण’ले लिनु अनिवार्य थियो । ‘ब्राह्मण’ले दिने सही र अत्यावश्यक शिक्षाले मात्र समाज सुरक्षित हुन्छ भन्ने मान्यताले गर्दा समाजको तरक्की र निरन्तरताको निम्ति समाजमा उपलब्ध सम्पुर्ण जनशक्तिको पहिचान गर्नु अहम् दायित्व ब्राह्मणकै थियो । सर्वस्व त्याग गर्न तत्पर शक्तिलाई ब्रह्मत्वको शिक्षा र दीक्षा दिँदै सनातन परम्पराको सुरक्षा गर्ने जिम्मेवारी ‘ब्राह्मण’ले कुशलतापूर्वक निभाउँदै आएका थिए । ब्राह्मण स्वयम् राजा नबन्ने तर वीर, साहसी, दूरदर्शी, राजनीतिमा निपुर्ण व्यक्तिलाई राजा बनाउने अहम् दायित्व निभाउन सक्रिय रहन्थे ।

प्राचीन कालमा हरेक जाति, समुदाय र समाजका व्यक्तिहरू ब्राह्मण बन्न हरदम उत्सुक र तत्पर रहन्थे । जुनसुकै जाति, समुदाय या सम्प्रदायको मानिसले ब्राह्मण बन्ने कर्म गरे सजिलै ब्राह्मण बन्न पाउँथे । कर्मको आधारमा ब्राह्मण बन्ने परम्परा र नियमलाई कडाइका साथ पालना गरिन्थ्यो । फगत जन्मको आधारमा ब्राह्मण बन्ने छुट कसैलाई थिएन । एकपटक ब्राह्मण बन्दैमा जीवनभर ब्राह्मण बनिरहन नसक्ने शाश्वत सत्य र अकाट्य नियमको महत्त्व बुझ्नेहरू मात्र ‘ब्राह्मण’ बनिरहन सम्भव थियो ।

स्मृति-पुराणमा ‘मात्र, ब्राह्मण, श्रोत्रिय, अनुचान, भ्रुण, ऋषि कल्प, ऋषि र मुनि’को बारेमा व्याख्या गरिएको छ । जसअनुसार ‘मात्र’मा उल्लेख गरिएको छ- यस्तो ‘ब्राह्मण’ जो जन्मअनुसार ब्राह्मण हुन् तर कर्मअनुसार ब्राह्मण होइनन् । वंश, विद्या र सदाचारभन्दा माथि उठ्न सफल ब्राह्मणलाई ‘त्रिशुक्ल’ भनिन्छ । ब्राह्मणलाई धर्मज्ञ, विप्र र द्विजको उपनामसमेत दिनुले केवल ब्राह्मण परिवारमा जन्मेको भरमा स्वतः ब्राह्मण बन्न असम्भव छ । ब्राह्मणोचित उपनयन संस्कार र वैदिक कर्मबाट कोसौँ टाढा रहेका मानिस केवल ‘शूद्र’ हुन् । ब्राह्मण बन्न ईश्वरवादी, सरल, एकान्तप्रिय, सत्यवादी बन्नु अनिवार्य छ । अनुपयुक्त तमाम कर्मलाई त्याग्दै जसले वेदसम्मत आचरण गर्छ । सही मानेमा त्यही व्यक्ति मात्र ‘ब्राह्मण’ हो ।

वर्तमान वैश्य युगमा ‘मात्र’ नामक ‘ब्राह्मण’हरूको बोलवाला भेटिन्छ । परापूर्व कालमा ‘ब्राह्मण’ शब्दको प्रयोग ‘अथर्ववेद’को उच्चारण गर्ने ऋषिको निम्ति गरिन्थ्यो । ततपश्चात् सम्पूर्ण ‘वेद’को विस्तार गर्न अनेकौँ ग्रन्थ लेखिए । ती तमाम ग्रन्थहरू ब्राह्मण साहित्य बन्न पुगे । जुन कुरा तत्कालीन समयमा कुनै पनि ‘जाति या समाज’मा उपलब्ध थिएन । भारतीय ब्राह्मणहरू भन्ने गर्छन्- ‘एउटा मात्र वेद पढेकालाई पाठक, दुई वटा वेद पढेकालाई द्विवेदी, तीन वेद पढेकालाई त्रिवेदी (कालान्तरमा त्रिपाठी), चार वेद पढेकाहरू चतुर्वेदी कहलिए’ । यसैगरी यजुर्वेद पढेकाहरू शुक्ल या शुक्ला कहलिए । चारै वेद, पुराण र उपनिषदको ज्ञाताहरू पण्डित कहलिए । कालान्तरमा तीनै पण्डितहरू पण्डा, पाँडे पाण्डेय, पाण्डे, पाध्याय र उपाध्यायमा परिणत भए । साथै शास्त्र धारण गर्ने र शास्त्रार्थ गर्नेहरू ‘शास्त्री’को उपाधिबाट विभूषित भए । दुर्भाग्य ! पुर्खाको ब्याज खानेहरू वर्तमानमा स्वघोषित ब्राह्मण कहलिए ।

वैश्ययुगको कु-प्रभावले थिलथिलो भएको वैदिक समाजको उत्कृष्ट अङ्ग ब्राह्मण एकताबद्ध, गतिशील र पवित्र भए मात्र सृष्टि, राजनीति र मुलुक दुरुस्त हुनेछ । ब्राह्मणहरू कर्महीन, पथ भ्रष्ट र पदलोलुप हुनासाथ समाजको चारै खम्बा ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र गर्ल्यामगुर्लुम ढल्नेछ ।

‘छान्दोग्य उपनिषद’मा उल्लेख गरिएको कहानीअनुसार द्विज (राजा)ले रैक्व नामको ‘शूद्र’बाट ‘ब्रह्म ज्ञान’ प्राप्त गरेका थिए । वैदिक शास्त्रमा जन्मअनुसार सबै मानव ‘शूद्र’ हुने तर ‘ब्रह्म ज्ञान’ प्राप्त गरे मात्र ‘ब्राह्मण’ बन्न सक्ने उल्लेख गरियो । साथै ज्ञान र संस्कार अनिवार्य गरियो । वर्तमान वैश्ययुग, जातिवादी समाज, जातिवादी मानसिकताको कथित राजनीतिको मुख्य निशाना ‘वेद र ब्राह्मण’ बनाइयो । त्यसैले जातिवादीहरूको रणनीतिक दुस्मनी र आपत्ति ‘वेद र पुराण’को ज्ञान भएका ब्राह्मणसँग हुँदै आएको छ । वेद र पुराणको अध्ययन नगर्ने, गर्न नचाहने र अध्ययन नगरेका ब्राह्मणहरूको प्रशंसा गर्ने जातिवादीहरूको रणनीति वैदिक सनातन धर्म, संस्कार र परम्परा समाप्त गर्दै आफ्नो कथित स्वार्थलाई स्थापित गर्नु हो भन्ने बुझ्न पछिल्लो पुस्ता इच्छुक देखिएन ।

मनुस्मृतिमा उल्लेख गरिएअनुसार ब्राह्मणले गर्नुपर्ने केवल ६ कर्म वेद पढ्नु-पढाउनु, दान लिनु-दिनु र यज्ञ गर्नु-गराउनु थियो । भौतिकवादको कथित चक्करमा ब्राह्मणहरूले वैदिक मान्यता, संस्कार र परम्परामाथि गद्दारी गरे । वेदमार्ग त्याग्दै पथ भ्रष्ट हुँदा वैदिक-पौराणिक ब्राह्मणहरू करिव लोप भइसकेको अवस्थामा जातिवादीहरू रणनीतिक ढङ्गले वैदिक सनातन धर्म र ब्राहमणहरूको विरुद्ध क्रियाशील हुनुले उनीहरूको नियत अनिष्ट निम्त्याउन आतुर छ ।

‘वेद’लाई मन, वचन र कर्मले स्पर्श गर्नेहरू भन्ने गर्छन्- मौलिक उपनिषद् वेदको अङ्ग हो, वेदको सार होइन । उनीहरूको दाबी छ । ईशोपनिषद् यजुर्वेदको अन्तिम अध्याय हो । जसअनुसार वेद ‘कर्मकाण्ड’को र उपनिषद् ‘ज्ञान काण्ड’को दर्शन हो । हिन्दुहरूको सम्पूर्ण संस्कार नै कर्मकाण्ड हो । ईशोपनिषद्मा उल्लेख गरिएको कर्मकाण्डको महत्त्व नबुझ्ने जातिवादी र धनलोलुप पुरोहितले कर्मकाण्डलाई पेटपूजाको साधन बनाएको मात्र देख्ने आधुनिक मूर्खहरू ‘कर्मकाण्ड’को औचित्य र गहिराइ बुझ्नै सक्दैनन् । हिन्दुहरू प्रष्ट छन्- वैदिक ‘यज्ञ’ पनि कर्मकाण्ड नै हो । वेदलाई समर्थन गर्ने तर वैदिक कर्मकाण्डको जमेर विरोध गर्ने भौतिकवादी र नक्कली हिन्दुहरू ‘वेदान्त, सन्यासको दर्शन हो’ भन्ने बुझ्ने ल्याकत राख्दैनन्

वेद ‘ज्ञान’को भन्डार हो । विधि र प्रविधिको एक मात्र अनुपम स्रोत पनि वेद नै हो । मानवजीवनको प्रमुख र प्रथम सभ्यता ऋग्वेद (स्थिति), यजुर्वेद (रूपान्तरण), सामवेद (गतिशील) र अथर्ववेद (जड)भित्र समाहित ब्रह्म ज्ञान क्रमशः धर्म, मोक्ष, काम र अर्थको बारेमा गहिरो अध्ययन गर्दै आफूलाई रूपान्तरण गरे जुनसुकै मानिस ब्राह्मण बन्न पाउने र सक्ने खुला छुट वेद मार्गमा उल्लेख छ । वैदिक धर्मको नाममा स्वेच्छाचारिता चाहनेहरू वास्तवमा शास्त्रसँग अनविज्ञ छन् । धर्मको आधार शास्त्र हो । शास्त्रको आधार वेद ! तर वेदमा व्याख्या छैन । वेदलाई सरल ढङ्गले बुझ्न र त्यसको अनुसरण गर्न निर्माण गरिएको वेदमार्ग, पुराण र ऋग्वेदमा उल्लेख गरिएको ‘पुराणवत’ आचरण दुष्टहरूले बुझपचाएको कम रोचक छैन ।

भारतवर्षमा मानव जातिले संस्कार र परम्पराबाट निर्माण गरेको वैदिक सनातन धर्मभित्र जसले जुनसुकै नियतले जातिप्रथा घुसाएको भए पनि पछिल्लो समयमा हिन्दु-समाजलाई जाति प्रथाबाट बाहिर निस्कन नदिने षडयन्त्रमा जातिवादी, डलरवादी र धर्मबेचुवा ब्राहमणहरूको खतरनाक साँठगाँठ भेटिन्छ । वैश्ययुगको कु-प्रभावले थिलथिलो भएको वैदिक समाजको उत्कृष्ट अङ्ग ब्राह्मण एकताबद्ध, गतिशील र पवित्र भए मात्र सृष्टि, राजनीति र मुलुक दुरुस्त हुनेछ । ब्राह्मणहरू कर्महीन, पथ भ्रष्ट र पदलोलुप हुनासाथ समाजको चारै खम्बा ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र गर्ल्यामगुर्लुम ढल्नेछ । दुर्भाग्य ! डाइनोसर बन्ने रफ्तारमा रहेको ब्राह्मण सुध्रिने, सुधार्ने कहिले र कसले ?