राजनीतिक आत्महत्या रणनीति होइन

जनताले दिएको तमाम सुझावहरूको ‘पोको’लाई उपेक्षाका साथ एकातिर थन्काएर पश्चिमा ‘उपलब्धि नै उपलब्धिले भरिएको’ संविधान जारी गरियो । अकल्पनीय आर्थिक, सामाजिक, भौतिक, राजनीतिक क्षतिपश्चात् जारी गरिएको संविधानले समेत मुलुक र मुलुकवासीका समस्याका न्यायोचित समाधान तथा असन्तुष्टिको सम्बोधन गर्न सकेन । मुलुकको परम्परागत शक्ति, क्षेत्रिय, जातिवादी र छिमेकी शक्तिलाई भन्दा पश्चिमा शक्तिलाई खुसी तुल्याउँदै जारी गरिएको संविधानले समेत राजनीतिक स्थिरता दिन नसकेको पछिल्लो अवस्थापछि मुलुकले ‘राजनीतिक आत्महत्या गर्ने कि संविधानमा आमूल परिवर्तन ?’ भन्ने गम्भीर प्रश्नको सामना गर्दै छ ।

रूढीवादी डेमोक्र्याटहरूले मुलुकको यावत आवश्यकतालाई ‘प्याकेज’मा डिल गर्दै आफ्ना आन्तरिक स्वार्थ पूरा गर्न लालायित हुँदा सन्तुलित परराष्ट्र सम्बन्ध दिन-प्रतिदिन असन्तुलित बन्दै छ । सहयोगी र मध्यस्थकर्ता मुलुक वा शक्तिहरूले आफ्नो तमाम प्राथमिकतालाई सूचीबद्ध गर्दै सङ्ख्यामा थपिएका अनुचित स्वार्थ र दबाबको समाधान हाम्रो क्षमताभन्दा बाहिर जाँदै छ । निर्वाचनमा प्रतिज्ञा गरिएका सामाजिक सुधार कार्यक्रमको ‘सालनाल’समेत फालेर समाजवादको प्रवचन दिने नेपाली राजनीतिको ‘अक्सिजन’ स्वदेशी मान्नु ‘असिना’को घर बनाएजस्तै हो । बालक, परिवार, शिक्षा, स्वास्थ्य, खाद्यान्न, आवास, जलवायु जस्ता विषयमा काम गर्नुभन्दा अमूर्त समाजवादको प्रवचन र व्याख्या गर्न हौसिने दलीय लोकतन्त्रमा जनताको खोजी निर्वाचनको समयमा हुनुलाई सौभाग्य मान्न सकिन्छ ।

हाम्रो मुलुकको सामाजिक मर्मत र पुनर्निर्माणको लागि कम्तिमा दुई पुस्ताले अनुपम त्याग गर्नुको विकल्प थिएन, छैन । जनताको मतादेश र संसदीय अङ्कगणितबाट प्राप्त करिव असम्भव जस्तो लाग्ने सबैभन्दा राम्रो र ठुलो अवसरलाई विचित्र ढङ्गले खेर फाल्ने नेतृत्वले फैलाएको राजनीतिक घृणाका बाबजुद मुलुकको अस्तित्व सतिसालझैँ खडा हुनुमा पुर्खाले गरेको त्याग र योगदानको देन थियो र हो भन्ने प्रमाणित भएको छ । राजनीतिक मृत्युलाई स्वाभाविक रूपमा पचाएको शीर्ष नेतृत्वले हाँकेको पछिल्लो अराजनीतिक दल-दलमा कार्यकर्ताको काम ‘भाले माहुरी’लाई पाल्नु मात्र हो । पार्टीका विभिन्न गुटबाट उत्पन्न हुने धम्की र प्रतिकारको प्रकोपबाट थिलथिलो भएको राजनीतिले गठबन्धनभित्र जन्मिने अपरिहार्य सङ्घर्षहरूलाई थप भ्रमित बनाउँदै कुर्सीको भद्दा राजनीतिको संस्थागत विकास गर्नु नै हो ।

राजनैतिक विश्लेषकहरू भन्ने गर्छन्- दलहरूको भ्रष्टिकरण र उत्तर, दक्षिण र पश्चिमी राष्ट्रहरूको रणनीतिक स्वार्थको टकरावपछि मुलुक ठुलो राजनीतिक र संवैधानिक सङ्टमा जाँदै छ । सामूहिक हिंसाका घटना आकासिँदो छ । सङ्घीय अधिकारको विघटन हुँदै छ । विगतमा आफैले बेसाएका युद्धका घाउ र अकल्पनीय असफलताका चोटहरू बल्झिँदै छन् । राजनीतिक प्रणाली गम्भीर सङ्ट कुर्दै छ । वर्षौंदेखि चुलिएका समस्याहरूको समाधानको निम्ति संविधानले कुनै उपाय प्रदान गर्दैन । राजनीतिको व्याकुलता, महामारी, नाजुक अर्थव्यवस्था, प्राकृतिक विपत्ति, विश्वव्यापी सङ्कट र अग्रगमनको यात्रामा ‘देउवा’ प्रशासनको ‘धमिलो रोडम्याप’ लोकतन्त्रको टाउकोदुखाइ बन्दै छ । राजनैतिक र बौद्धिक प्रतिष्ठानहरू टाट पल्टेको लोकतन्त्रमा ‘सेवक, भक्त र अनुयायीहरूमाथिको पकड’लाई शक्तिको स्रोत ठान्ने असफल राजनीतिज्ञ आफ्नो अलोकप्रियता छोप्न रणनीतिक चाल चाल्न विवश छन् ।

लोकतन्त्रको अनुचित फाइदा उठाउँदै ‘फासीवाद’को तयारी गरिरहेका मुट्ठीभर शासकहरू आफ्नो विपक्षी आफै बन्छन् । पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्नै कार्यकालमा सम्पन्न तमाम गडबडीलाई गौरव बताए । कानुन र संविधानको खिलाफ चालिएका अलोकतान्त्रिक घटनाको बहस र पैरवी गरिरहे । सत्ता छोड्न परेको तुष्टीकरण अनेक ढङ्गले पोख्दै राजनीति सकेर ‘राजनीतिको रोडम्याप’ कोरे । विश्व लोकतन्त्रमा ‘शक्ति र सत्यानाश’को उदय ‘मतपत्र’बाट हुने गर्छ । शासकहरूको व्यक्तिगत लहड, सनक र महत्त्वाकाङ्क्षा विरुद्ध सतिसाल झैँ उभिने ‘जनता र संविधान’को तागत नै लोकतन्त्रको सौन्दर्य र मेरुदण्ड बन्ने गरेको छ । ‘शक्ति र सत्यानाश’को डरलाग्दो अभ्यास मुलुकको लोकतन्त्रमा ‘ओली प्रवृत्ति’ बनेर झ्याङ्गिदै छ ।

आलोचक र समर्थकहरू एकैसाथ ओलीको इतिहास र व्यक्तित्वको पहिचान गर्नमा असफल भएका छन् । किनकि उनका अनुयायीहरू मौलिक रूपले परम्परागत र विचारविहीन छन् । ओली प्रस्ट छन् तर धेरै अनुयायीमा थुप्रै भ्रम अझै बाँकी छन् । सामन्तवादको समाप्ति र पुँजीवादको सुरुवाती चरणमा ओलीप्रतिको लगाव कम नहुनुको अर्थ दलाल, बिचौलिया र व्यापारीको सहज पहुँच ओलीको बेडसम्म हुनुलाई लिन सकिन्छ । तमाम असफलताको बाबजुद अध्यक्ष ओलीको विकल्प मुलुकले फेला नपार्नु लोकतन्त्रको दुर्भाग्य बन्दै छ । राजनीतिक दल र राजनीतिज्ञले जनताको भावनाविरुद्ध जाँदै अनुपयुक्त र आयातित एजेन्डाको अनुमोदन गर्ने रोग संसदीय लोकतन्त्रमा आकासिँदो छ । जनताबाट व्यापक समर्थन लिने बहानामा गरिने दुस्साहसले अकल्पनीय समर्थन र विश्वास समेत गुमाउने अवस्था छ । समग्रमा हरेक राजनीतिक दलले आफ्नो उद्देश्य र लक्ष्यहरू किटान गर्दै नीतिहरू निर्माण गरेका हुन्छन् । आफ्नै विचार, सिद्धान्त, कार्यक्रम र नीतिबाट विचलित हुँदै फगत कुर्सीकेन्द्रित राजनीति गर्नु आफैमा राजनीतिक आत्महत्याको कारण बन्ने छ । बन्दै छ ।

मानव जीवनमा सामाजिक, आर्थिक, नैतिक, धार्मिक विषयले महत्त्वपूर्ण स्थान जमाएको हुन्छ । उल्लेखित तमाम विषय वस्तुमा उच्चतम स्थान दिने काम राजनीतिले दिने गर्दछ । वास्तविक अर्थमा राजनीति सामाजिक समस्याहरूको कलात्मक ढङ्गले समाधान गर्ने कला र विज्ञान हो । मुलुकसामु उपस्थित तमाम समस्याको मुकाबिला सामूहिक प्रयासमार्फत गर्ने उत्कृष्ट सोच हो, राजनीति । शान्तिपूर्ण सहअस्तित्व स्वीकार गर्दै अवसरहरूको समान वितरण र समस्याहरूको सामूहिक मुकाबिला गर्ने विज्ञान पनि हो, राजनीति । अर्थात् नीतिद्वारा शासन गर्नु र नीतिको साथ शासन गर्नु नै राजनीतिको आधुनिक सिद्धान्त हो ।

पछिल्लो कालखण्डमा सन्देह छैन कि मूल्य र आदर्शको कुरा गर्ने मानिस अर्कै ग्रहबाट आएको जस्तो गरिन्छ । नकारात्मकताले थिलथिलो भएको समाजमा राजनीतिको चर्को दुरुपयोग अयोग्यहरूबाट डरलाग्दो ढङ्गले भइरहेको छ । जसको कारण राजनीतिक समाचारको दिलचस्पीले सामाजिक जीवनसँग जोडिएका तमाम समस्या ओझेलमा पर्दै छन् । उपभोक्ताको संस्कृति, आत्मकेन्द्रित जीवनशैली र कुर्सीकेन्द्रित राजनीतिको कुप्रभावले मानवीय संवेदना शहीद बन्न पुग्दै छ । सरकार, शासन, पार्टी र चुनावबाहेक केही नदेख्ने राजनीतिक नेतृत्वको कारण ‘बजार’को दबदबा उपभोक्ताले मात्र बोक्न विवश छ । जसले गर्दा सर्वसाधारणको चिन्ता, सरोकार र सोचको दायरा अत्यन्त सानो घेरामा पुगेको छ । सत्ता र अयोग्य मानिसको अनुपयुक्त आम्दानीबाट शिक्षित जनशक्ति प्रताडित हुँदै छ । सरकारको काम पैसा लिएर ‘नो अब्जेक्सन लेटर’ दिनेमा सीमित छ ।

अधिक आत्मकेन्द्रित राजनीति र वैश्ययुगको दलदलमा हामी र हाम्रो समाज थप निष्ठुरी बन्दै गइरहेको छ । व्यक्तिगत संवेदना र सामाजिक सरोकारमा हाबी हुँदै गएको राजनीतिले मुलुक र लोकतन्त्रलाई थप रक्षात्मक बनाउने खतरा रहिरहन्छ । अत्यावश्यक र चिन्तनयुक्त विषय वस्तुमा उदासीन हुने, आफू मात्र सही मान्ने रोगले थलिएको दलीयतन्त्रले आफ्नो औचित्य गुमाउँदै जाँदा गम्भीर षडयन्त्र र मानवीय कष्टमा आफ्नो निरन्तरता देख्दै छ । आफ्ना धर्म, संस्कार, परम्परा, अस्तित्व, उपस्थितिलाई औचित्यहीन ठान्दै अल्पकालीन स्वार्थ र आत्मकेन्द्रीत उपलब्धिको पछि लाग्ने विकराल स्थितिले हाम्रो गन्तव्य र लक्ष्यसमेत आयातित बन्ने खतरा आकासिएको छ ।

राजनीतिक परिवर्तनको निम्ति र परिवर्तनपश्चात् दलहरूले समाजवादलाई ‘गायत्री मन्त्र’कै शैलीमा जप्ने होडबाजी निरन्तर लोकप्रिय छ । कस्तो समाजवाद ? कागजमा मात्र देखिने लेखिने समाजवाद कि जनताले देख्ने र भोग्ने समाजवाद ! यद्यपि आजसम्म समाजवादको ‘ब्लु प्रिन्ट’ बनाउने जाँगर र आवश्यकता नेतृत्वले महसूस गरेको पाइँदैन । त्यसैगरी कस्तो राष्ट्रवाद ? केवल बोल्ने, हेपिने, चेपिने राष्ट्रवाद कि चुलोमा देखिने राष्ट्रवाद !? अथाह जलसम्पदाको बिक्री कि जल सम्पदालाई प्रयोग गर्दै उत्पन्न भएको बिजुलीबाट उद्योग चलाएर सामान बेच्ने व्यापार नीति ? युवालाई स्वदेशमा राख्ने कि विदेश लखेट्ने नीति । स्वदेशमा राखेर राजनीतिक दलको लठैत बनाउने कि सृजनशील काममा लगाउने ? कस्ता योजना, कस्ता कार्यक्रम ? कस्तो नेतृत्व, कस्तो सङ्गठन ? तमाम कुरालाई अर्थपरक बनाउने लोकतन्त्रको सुरुवात कहिले ? मौजुदा नेतृत्व र दलहरूसँग जवाफ नहुनुले राजनीतिक आत्महत्या रणनीतिक बन्दै गरेको त हैन भन्ने गम्भीर सवाल थप जायज र स्वाभाविक बन्दै छ ।

लोभीपापीहरूले हामीलाई धेरै वचन दिएका थिए । ‘हामी सँगै जान्छौँ र हामीबीच सम्पन्न तमाम सम्झौतालाई लागू गर्छौं !’ आज अवस्था के छ ? भएका घटना सत्य हुन् तर स्वीकार गर्न उनीहरू चाहँदैनन् । कम र मध्यम आय भएका जनतालाई आशैआशमा जिउँदो लास बनाउँदै नेतृत्वले गरेको कथित आत्महत्याको राजनीति बुझ्न जेम्स म्याडिसनको भनाई थप सटिक हुँदै छ- ‘के हामीबीच कुनै पुण्य बाँकी छैन ? यदि छैन भने हामी एक दयनीय स्थितिमा छौँ ।’