लोकतन्त्रको दुश्मन ‘जेरोन्टोक्रेसी’ !
बन्दुकको नालबाट राज्यसत्ता कब्जा गरेको माओकालीन चीनको राजनीतिमा वृद्धहरूको बोलवाला चलेसँगै बनाइएको जोकमा भन्ने गरिन्थ्यो- ‘८० वर्षीय बालकहरू ७० वर्षीय बालकहरूको बैठक यसकारण बोलाउँदै छन् कि ६० वर्षीय बालकहरूले के राजनीतिक सन्यास लिनु उपयुक्त हुनेछ ?’ ८२ वर्षमा संसार त्यागेका अध्यक्ष माओलाई ‘वृद्धतन्त्र’ मजबुत बनाएको आरोप लगाइयो । जबकि देङ स्यायो पिङले ९० वर्षसम्म राजनीतिमा शक्तिशाली प्रभाव कायम राखे ।
स्वतन्त्रता, क्रान्ति, परिवर्तन, समानता, विद्रोह जस्ता शब्दहरूको खेती गरेर नथाक्ने साम्यवादी नेताहरू भियतनामको होची मिन्ह, पूर्व युगोस्लाभियाको जोसेफ टिटो, उत्तर कोरिया किम इल सुङ र किम जोङ इल, अल्बानियाको एन्भर होक्सा, बेलारुसको अलेक्जेन्डर लुकासेन्को, चेकोस्लोभाकियाको गुस्ताभ हुसाक, हंगेरीका बेला कुन, पूर्वी जर्मनीका एरिक होनेकर, रुमेनियाको चाउचेस्कू पूर्व सोभियत सङ्घका राष्ट्रपति ब्रेझनेव, एन्द्रोपोव, चेर्नेन्को, क्युवाको पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रो – ९०, जिम्बाबेको पूर्व राष्ट्रपति रोबर्ट मुगाबे – ९५ जस्ता नेताले जेरोन्टोक्रेसी’को विरोध गरिरहे तर आफू सत्तामा कहिलेसम्म विराजमान हुने भन्ने बिर्सिए ।
मानव विकासको चरणसँगै मानव जातिले अनेकौँ शासन प्रयोगमा ल्यायो । उदाहरणको निम्ति भगवानको शासन, चर्चको शासन, अभिजात वर्गको शासन, वयोवृद्ध मानिसको शासन, महिलाको शासन, खराब मानिसद्वारा शासन, भीडतन्त्र द्वारा शासन, केन्द्रीकृत शासन, राजाको शासन, सीमित व्यक्तिद्वारा शासन, सार्वभौमिक नियमद्वारा शासन, पाँच व्यक्तिद्वारा शासन र धेरै मानिसको सहभागितामूलक शासनलगायत छन् । १९औँ शताब्दीमा धर्म र राजाको शासनलाई पछार्दै विश्व-राजनीतिमा उदाएको पुँजीवादी र साम्यवादी नेतृत्व समेत जेरोन्टोक्रेसीको कथित प्रभावबाट मुक्त हुन सकेन ।
जेरोन्टोक्रेसीको प्रभाव लोकतन्त्रमा समेत उत्तिकै सफल र लोकप्रिय बन्दै जाँदा संवैधानिक लोकतन्त्रको जननी बेलायतले समेत ८० वर्षीय विन्सटन चर्चिललाई प्रधानमन्त्रीमा स्वीकार ग¥यो । दुनियाँलाई लोकतन्त्रको नयाँ परिभाषा पस्कने अमेरिकामा ७० वर्षीय डोनाल्ड ट्रम्पले ४ वर्ष राष्ट्रपतिको कार्यकाल सफलतापूर्वक सम्पन्न गरे । जेरोन्टोक्रेसीको पछिल्लो अमेरिकी नमुना हाउस अफ रिप्रेजेन्टेटिभको अध्यक्ष ८१ वर्षीया न्यान्सी पेलोसी र ७८ वर्षीय राष्ट्रपति जो बाइडेनलाई लिन सकिन्छ । २२ वर्ष मलेसियाको प्रधानमन्त्री बन्दै ७८ वर्षको उमेरमा राजनीतिबाट सन्यास लिएका डाक्टर महाथिर मोहम्मद ९० वर्षको उमेरमा पुनः राजनीतिमै फर्कंदा जेरोन्टोक्रेसी थप उत्साहित बन्दैछ । त्यसैगरी दक्षिण एसियाको लोकतन्त्रमा जेरोन्टोक्रेसीको पछिल्ला नमुनाहरू बंग्लादेशको प्रधानमन्त्री शेख हसिना – ७३, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी – ७१ र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा – ७५ वर्ष छुट्नु उनीहरूको निम्ति अन्याय हुनेछ ।
जेरोन्टोक्रेसी एक विकृत विचारधारा हो । जसलाई राजनीतिक प्रणाली बनाएर वृद्धहरूले शासन गरिरहेका हुन्छन् । अक्सर बुज्रुक वर्गले शासनको वैधता र आवश्यकताको बारेमा जोडदार पैरवी गर्ने जेरोन्टोक्रेसीले लोकतन्त्रको डरलाग्दो फाइदा उठाउँदा दलीय व्यवस्था गम्भीर विचलनमा फस्दै गएको छ । जतिबेला आधुनिक विज्ञानले शिक्षा र सामाजिक क्षेत्रमा कदम राख्न पाएको थिएन, त्यस समयमा वृद्ध मानिसहरूको ज्ञानलाई सर्वोपरि मानिन्थ्यो । वर्ष र अनुभवले केस पकाएका वृद्धहरूको व्यावहारिक ज्ञान सत्ता र राज्यले अधिकतम प्रयोग गर्नु उचित, बाध्यात्मक र वैज्ञानिक मान्न सकिन्थ्यो । युवाहरूलाई कठिन परिश्रम, राज्यको सुरक्षामा लगाउँदै राज्यसत्ता वृद्धको हातमा सुम्पिने जेरोन्टोक्रेसी वर्तमान समयमा पकड जमाउन सफल हुनु आधुनिक लोकतन्त्रको नजरमा अभिसाप मान्न सकिन्छ ।प्लेटो र सुकरातको नजरमा ‘जेरोन्टोक्रेसी सरकारको आदर्श रूप’ थियो । सुकरात प्रस्ट भाषामा भन्ने गर्थे- हामीले यो तय गर्नुपर्छ कि हाम्रो अभिभावकमध्ये कसले शासन गर्नुपर्छ र कसलाई शासन गर्नु पर्छ ? उनी जोड दिँदै भन्थे, ‘ठुलाले शासन गर्ने र सानाले शासित हुने !’ प्लेटो र सुकरातले वृद्धावस्थालाई बचाइराख्न अनेकौँ तर्क प्रस्तुत गरिरहे – कुनै पनि ज्ञान, राम्रोपन र फिटनेसले मात्र शासन गर्नुपर्छ र सकिन्छ भन्ने कुराले राम्रो शासनको ग्यारेण्टी दिन सक्दैन । एउटा सम्भावित शासकमा ज्यामितिदेखि खगोल विज्ञानसम्मको ज्ञान हुनु जरुरी छ । शासकसँग कम्तिमा ‘दार्शनिक स्वभाव, उच्च आत्मा, गति र शक्ति हुनु जरुरी छ ।’
जन्मको आधारमा शासन गर्ने व्यवस्था फाल्न जीवन खर्च गर्नेहरू उमेरको आधारमामा जन्मिएको दुई राजनीतिक दल नेकपा ‘एस’को नेता माधव नेपाल ६८ वर्षमा प्रवेश गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीको नेता महन्थ ठाकुर ७८ वर्षमा हिँड्दै छन् । नेपाली जनताको भाग्य र लोकतन्त्रको ठेक्का लिएका राप्रपा अध्यक्ष कमल थापा – ६६, नेता पशुपति शमशेर जबरा – ८०, प्रकाशचन्द्र लोहनी ७७ वर्षका छन् । नेकपा एमाले अध्यक्ष केपी ओली ६९ वर्ष, ईश्वर पोखरेल ६७, सुभाष नेम्वाङ ६८ मा दौडिँदै छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ६६ वर्ष, नेपाली काङ्ग्रेसको दोस्रो पटक अध्यक्ष बन्ने दौडमा रहेका प्रधानमन्त्री देउवा – ७५, वरिष्ठ नेता रामचन्द्र पौडेल – ७७, शेखर कोइराला ७१ मा पुगिसकेका छन् । यसैगरी माले नेता सिपी मैनाली ७० वर्ष, राष्ट्रिय जनमोर्चा नेता चित्रबहादुर केसी ८७ वर्ष, नेता मोहनविक्रम सिंह ८६ मा यात्रा गर्दै छन् ।
राजनीतिजीवीहरू भन्ने गर्छन्- ०६२/६३ को परिवर्तनपश्चात् मुलुकमा लोकतन्त्रको उदय भएको छ । तर राजनीतिलाई सामान्य रूपमा चिरफार गर्ने हो भने उक्त दाबीको स्वतन्त्र पुष्टि हुने बस्तुगत आधार फेला पर्दैन । परिवर्तनको आडमा ६५ वर्षभन्दा माथिका वृद्धलाई आरक्षित गरेको लोकतन्त्रमा तथ्य र तथ्याङ्कहरू चिच्याएर भन्दैछन्- मुलुकमा युवाहरूको बाहुल्य छ । १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या ४० प्रतिशतभन्दा बढी छ । ४० वर्षभन्दा कम उमेरको जनसङ्ख्या ७५ प्रतिशत छ । वृद्धहरूको कब्जामा परेको मुलुकको संसदीय लोकतन्त्रमा जमेका दुई ठुला दल एमाले र काङ्ग्रेसमा युवाहरूको अयोग्यता खोज्ने थलो महाधिवेशन बन्दै छ । ४० वर्ष भन्दा कम उमेरमै पार्टीको सर्वोच्च पदमा ‘बीपी र मदन’लाई चुनेको कहानी फलाक्ने दलीय लोकतन्त्रमा वृद्ध नेतृत्वलाई स्थापित गर्न मरिहत्ते गर्ने युवाहरू ‘जेरोन्टोक्रेसी’लाई सिमेन्टेड गर्न लालायित हुँदै छन् ।
०६२/६३ को राजनीतिक परिवर्तनपश्चात् जनताले केवल राजनीतिक लोकतन्त्र मात्र खोजेका थिएनन् । खास अर्थमा सामाजिक र आर्थिक लोकतन्त्र जनताको चाहना थियो । आधुनिक राज्य निर्माण गर्दै चुलोदेखि चिहानसम्म’ व्यक्तिको सहायताको निम्ति जताततै भेटिने युवा नेतृत्वसहितको लोकतन्त्र जनताले खोजेकै हो । लोकतान्त्रिक संस्कारअनुसार राजनैतिक दलहरूमा नेतृत्व उत्तराधिकार एक सर्वव्यापी तर अपेक्षाकृत राजनीतिक घटना बनेको लोकतन्त्रले देख्नै पाएन । वृद्धतन्त्रले थलिएको संसदीय लोकतन्त्रमा तीव्र व्यक्तिगत चाहना हाबी हुँदा ‘व्यक्तिगत इतिहास र उमेर’लाई शासनको योग्यता बनाइयो । फगत सत्तामा टिक्नको निम्ति ‘संस्कृति र परम्परा’समेतलाई सौदाबाजी गर्न तयार वृद्धतन्त्रले यथास्थितिको कर्मचारीतन्त्र, पुरानो कार्यशैली, समयसापेक्ष कानुनको निर्माण गर्न नचाहँदा पनि युवावर्ग टुलुटुलु हेरिरह्यो । इतिहासको ब्याज खाँदै राजनीतिक परिवर्तनको धज्जी उडाउने वृद्ध नेतृत्वको विरुद्ध अभियान चलाउन असफल युवाहरूको कारण पछिल्लो परिवर्तनमा समेत ‘जेरोन्टोक्रेसी’ झनै शक्तिशाली बन्दै छ ।
सबैलाई थाहा छ- विष धेरै चाहिँदैन । पुरानो कुरा गरेर कहिल्यै नथाक्ने थकित नेतृत्वले ‘विषरहित’ शासनको ग्यारेन्टी दिन सकेन । सुधारिएको संसदीय व्यवस्था भनेर नथाक्ने वृद्ध नेतृत्वको कुण्ठा र आक्रोशको सामु वर्तमान संविधान र संसद् रुझेको बिरालो बन्न पुगेको छ । जीवनमा भोग्न नपाउने संविधानमा अङ्कित मौलिक हकहरू ‘नाक बिनाको फुली’ बनेको छ । संविधान र व्यवस्था मात्र परिवर्तन हुने, नेतृत्व यथावत् राखिने परिवर्तनले ‘वैदेशिक हस्तक्षेप र वृद्ध नेतृत्व’को सुरक्षा मात्र गरेको छ । आधुनिक प्रविधि, स्वदेशी अर्थतन्त्र, मानव संसाधनको उच्चतम प्रयोग गर्दै योग्यता, क्षमता, दक्षता, प्रविधि र युवामैत्री राज्यसत्ताले मात्र आधुनिक लोकतन्त्रको विकास र संरक्षण गर्न सक्ने अकाट्य सत्यलाई वृद्ध नेतृत्वले स्वीकार गरेन । सत्ताकेन्द्रित राजनीतिको दलदलमा फसेको लोकतन्त्रमा सिद्धान्त, कार्यक्रम र आदर्श खोज्नु मुसाको सिङ फेला पारेसरह हुँदै छ । लोकतन्त्रले सदैव भन्ने गर्छ- ‘राजनीतिज्ञको भाग्य अन्ततः मतपेटिकाबाट जन्म लिन्छ ।’ राजनीतिक शक्ति सामाजिक तथ्यहरूको परिणाम हो र जनताको शाश्वत स्वामित्व बनिरहन्छ । दुर्भाग्य ! दलाल, बिचौलिया र पुँजीपतिको मुट्ठीमा कैद भएको वैश्ययुगको लोकतन्त्रले ‘जेरोन्टोक्रेसी’मा आफ्नो भविष्य सुनिश्चित देख्दैछ ।