‘पाण्डव र कृष्ण’विहीन नेकपाको महाभारत !
झन्डै दुई तिहाइ संसदीय अङ्कगणितसहितको भीमकाय नेकपामार्फत सन्तुलित राजनीति गर्न चुकेका प्रधानमन्त्री केपी ओलीले माधव-प्रचण्डलाई ‘देखाइदिने’ गलत मनसायसहित मौजुदा सङ्घीय संसद् विघटन गर्ने अप्रिय निर्णय लिए । २०७७ साल भाद्र महिनाको २६ गते बसेको नेकपाको स्थायी समिति बैठकले ओलीलाई पाँच वर्ष प्रधानमन्त्री र महाधिवेशनसम्म पार्टीको औपचारिक अध्यक्ष मान्न राजी भएको सर्वसम्मत निर्णयको मसी नसुक्दै नेकपाको महाभारतलाई अनिष्टतर्फ मोड्न उनी हौसिए । फलस्वरूप कार्तिक २८ देखि लम्बिएको अन्तहीन नेकपा महाभारत पुस ५ मा संसद्को हत्या गर्ने कारण बन्न पुग्यो । यद्यपि प्रधानमन्त्रीले चालेको पुस ५ को कदमलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उल्टाएसँगै नेकपा-राजनीति आफ्नै ‘कुरूप’ अनुहार हेर्न विवश छ ।
निर्वाचनपूर्व जनतामाझ छरेका असीमित सपनाको सार्थक नतिजा दिन असफल ओली-शासन वर्तमान संसद्बाट जनताको पक्षमा कुनै काम गर्न नसकिने बहस र पैरवी गर्दै ६५ दिनसम्म सडकमा तमासा देखाउन हौसिएको समयमा आफैले हत्या गरेको सङ्घीय संसद् पुनर्जीवित हुँदा कटुवाल काण्डपछि प्रचण्डले भोगेको नियति ओली कित्तामा बसाइँ सरेको छ । राजनीतिको न्यूनतम मूल्य, मान्यता र नैतिकताको धज्जी उडाउँदै कुर्सी नछोड्ने ओली-दुर्दशा नीतिकथाको ऋषिसँग ठ्याक्कै मेल खाएको घटना रोचक लाग्दै छ ।
सांसारिक मायाजालबाट विरक्त भएर दीर्घकालीन शान्ति र ईश्वरप्राप्तिको निम्ति थुप्रै अमूल्य पुस्तकसहित ऋषि जङ्गल प्रस्थान गरेको चर्चा गाउँभर फैलियो । ऋषिलाई गाउँ फिर्ता ल्याउन केही युवा जङ्गलको आश्रममै पुगे । ऋषिको प्रवचन सुनेर आनन्दविभोर हुने युवाहरू कुनै हालतमा ऋषि गाउँ नफर्किने बुझ्नासाथ निराश हुँदै फर्किए । हरेक दिन प्रवचन सुन्न जङ्गल गएको समयमा ऋषिलाई निराश देखेर युवाहरूले सोधे- ‘हजुर किन निराश हुनुहुन्छ ?’ ऋषिले युवालाई भने– ‘एउटा अमूल्य पुस्तक मुसाले काटिदियो । बाँकी पुस्तक कसरी जोगाउने भन्ने चिन्ताले मलाई खाँदै छ ।’
ऋषिको समस्या सुनेपश्चात् शिष्यले जवाफ दियो- ‘आश्रममा एउटा बिरालो पाल्नु पर्यो ।’ ऋषिले शिष्यको सुझावलाई ग्रहण गर्दै भने- ‘भोलि एउटा बिरालो लिएर आऊ ।’ शिष्यले आश्रममा बिरालो लिएर गए तर बिरालोले केही खान मानेन । ऋषि फेरि चिन्तामा डुबे । फेरि शिष्यले गुरुसँग भने- ‘बिरालोको निम्ति दूधको व्यवस्था मिलाऊ ।’ दुई-चार दिन शिष्यहरूले आश्रममा दुध लगिदिए ।
केही दिनपछि ऋषिले भने- यसरी कति दिन चल्छ ?’ शिष्यले भन्यो- ‘दुधको लागि एउटा गाई पालौँ ।’ ऋषिले तत्काल मन्जुरी दिए ।
अब ऋषि नयाँ समस्यामा फसे । गाई पालेसँगै गोबर फाल्नु पर्यो । घाँस काट्नु पर्यो । दुध दुहुनु पर्यो । यी सबै काम गर्न आश्रममा कोही थिएनन् । फेरि शिष्यसँग ऋषिले दुःख पोखे । शिष्यले नयाँ उपाय देखाए- ‘विवाह गरौँ ।’ ऋषि झस्किए । गृहस्थ जीवन त्यागेर जङ्गल आएको मानिस कसरी विवाह-बन्धनमा गाँसिनु ?
तर, समस्याबाट सजिलोसँग मुक्ति पाउन ऋषिले विवाह गरे । आश्रममा फेरि नयाँ रौनक पलायो । उनलाई दुई सन्तान पनि प्राप्त भयो । सुख प्राप्त गर्न निस्केका ऋषि पुस्तक जोगाउने नाममा बिरालो पाल्दा पुनः सांसारिक मायाजालमा फस्न विवश भएकोले झन् दुःखी बन्न पुगे । एक दिन वृद्ध ऋषि जीवनको अन्तिम अवस्थामा पुगे । शिष्यहरू आएर ऋषिसँग सोधे- ‘जीवन के हो ? जीवनबाट के शिक्षा पाउनुभयो ?’ ऋषिले निराश हुँदै भने- ‘जीवनमा सबै गर्नु तर बिरालो चैँ नपाल्नु ।’
जसरी भए पनि चुनाव जित्नुपर्छ भन्ने अर्जुनदृष्टिसहित निर्माण गरिएको वाम-गठबन्धनद्वारा निर्माण गरिएको घोषणापत्रअनुसार प्रधानमन्त्री ओली चल्न राजी नहुनुले ओली-प्रचण्ड सहकार्यको आयु लामो नरहेको बुझ्न सकिन्थ्यो ।
देउवाको भान्सामा पाकेको खाना छोडेर वाम-गठबन्धनको प्रस्ताव लिइ ओली-भान्सामा पुगेका प्रचण्डसँग करिव अपत्यारिलो र असम्भव गठबन्धन विचार र सिद्धान्तभन्दा कुर्सी केन्द्रित थियो भन्न पार्टी एकतापश्चात् सर्वसाधारणले समेत बुझ्न पाएकै हुन् । जसरी भए पनि चुनाव जित्नुपर्छ भन्ने अर्जुनदृष्टिसहित निर्माण गरिएको वाम-गठबन्धनद्वारा निर्माण गरिएको घोषणापत्रअनुसार प्रधानमन्त्री ओली चल्न राजी नहुनुले ओली-प्रचण्ड सहकार्यको आयु लामो नरहेको बुझ्न सकिन्थ्यो । मदन भण्डारीको राजनीतिक विश्लेषणअनुसार मुलुकमा विद्यमान शक्तिहरू राजा, काङ्ग्रेस र कम्युनिस्ट नै हुन् । कम्युनिस्टको नेतृत्व आफूले गर्ने एक मात्र रोडम्यापमा हिँडेका ओली प्रचण्ड-राजनीतिको कटु आलोचक हुँदा पनि सहकार्य गर्नु ऋषिले पुस्तक जोगाउन बिरालो पालेभन्दा किमार्थ फरक थिएन ।
मुलुकको राजनीतिमा असफल पात्रहरूको भरपुर फाइदा उठाउँदै चम्किएको ओली-छवि ‘बा’ साम्राज्य निर्माण गर्न लम्किएको चलाखीपूर्वक छोपिदिए । सर्वसाधारण जनताको दृष्टिमा एकल राष्ट्रवादी र विकासवादीको हौवा पिटाउँदै तमाम युवाको दिमाग दिग्भ्रमित गर्ने ओली-राजनीति माधव-प्रचण्डको निम्ति टाउकोदुखाइ बन्न पुग्यो । जनताको अगाडि सम्भव-असम्भव सबैखाले हथकण्डा अपनाउने, जनतालाई सबै कुरा दिन्छु भन्ने तर काम गर्न खासै रुचि नदेखाउने उनको हावादारी शैली ओली-प्रवृत्ति नै बनेर उदायो । मुलुकको ढुकुटीको चरम दुरुपयोग गर्दै आफ्नै सानो घेरामार्फत आफ्नो देवत्वकरण गर्ने, मुलुकभित्रका राष्ट्रवादी शक्ति र सांस्कृतिक राष्ट्रवादीहरूको दुरुपयोग रणनीतिक ढङ्गले गरे ।
मुलुकको कम्युनिस्ट आन्दोलनमा पाण्डव र कृष्ण कोही पनि नरहेको र समग्र कम्युनिस्ट आन्दोलनलाई कौरव बनाउने काममा चलाखीपूर्वक ओलीले भूमिका निभाएको कार्यकर्ताले बुझ्ने ल्याकत नै गुमाएको अवस्थामा आफ्नो देवत्वकरण गर्न सफल भए । फगत एक थान कुर्सीकेन्द्रित राजनीति गर्दा कमरेड ओलीले धेरै कुरा भुलेका छन् । पार्टी भनेको विचार हो । पार्टी भनेको प्रवृत्ति पनि हो । चुस्तदुरुस्त एमाले पार्टीलाई विघटन गर्दै गर्दा ओलीले महाभुल गरेको विषय फेरि उचाल्ने बाध्यता ओलीले चाहँदा पनि स्वरूप लिन नसक्नुको कारण उनी एजेन्डाविहीन हुनु नै हो ।
२०७२ सालमा संविधानसभाबाट संविधान जारी गर्न बाध्य भए पनि संविधानभित्र राखिएको परिवर्तनलाई उपलब्धि मान्न तयार नभएका केपी ओली सर्वशक्तिमान प्रधानमन्त्री बन्न सफल हुँदासमेत उनको राजनीतिक एजेन्डाले अर्थपरक स्वरूप देखाउन सकेन । सुशासन र समृद्धिको नारामा सिंहदरबार पुग्न सफल भए पनि त्यसको सफल कार्यान्वयन गर्ने ल्याकत र टिम नभएको कारण उनको मुर्छित सपना गर्भमै तुहियो । आर्थिक उन्नति र प्रगतिको बलमा संविधानमा अङ्कित अनुपयुक्त पश्चिमा उपलब्धि समाप्त गर्दै दीर्घकालीन शासक बन्ने जोखिम माधव-प्रचण्डको कारण उठाउन नपाएको अनुमान पुस ५ देखि फाल्गुन ११ गतेसम्म कतै देख्न पाइएन ।
नेपालमा राजनीतिक उद्योग चलाएका व्यक्ति, समूह र दलहरूले सर्वसाधारण जनतासँग ०७ सालदेखि आजसम्म भनिरहे कि मुलुकले धेरै उपलब्धि हासिल गरेको छ । उपलब्धि नै उपलब्धिले भरिएका संविधानहरू पटक–पटक जन्मिँदा मुलुकको पहिचान र शक्ति झनै धर्मरायो ।
हरेक परिवर्तन उपलब्धि हुन सक्दैन । नेपालमा राजनीतिक उद्योग चलाएका व्यक्ति, समूह र दलहरूले सर्वसाधारण जनतासँग ०७ सालदेखि आजसम्म भनिरहे कि मुलुकले धेरै उपलब्धि हासिल गरेको छ । उपलब्धि नै उपलब्धिले भरिएका संविधानहरू पटक-पटक जन्मिँदा मुलुकको पहिचान र शक्ति झनै धर्मरायो । प्रचण्डको एजेन्डा र गतिविधिलाई निर्मम प्रहार गर्ने, सङ्घीयता र धर्मनिरपेक्षतामा अर्थपरक विमति राख्ने, विकास, समृद्धि र सुशासनलाई अनियन्त्रित मार्केटिङ गर्ने ओली-राजनीति ‘बा’ साम्राज्य निर्माणतिर लम्केसँगै बौद्धिक जमात र मध्यम वर्ग उनीसँग असन्तुष्ट बन्न थाल्यो । यद्यपि ओलीले आफ्नो फाइदाको निम्ति सिके राउतदेखि वैदिक सनातन धर्ममा अगाध विश्वास राख्ने समुदायसँग सहकार्य गर्न तयार रहेको सङ्केत मात्र दिए, अर्थपरक सहकार्य भने गरेनन् ।
प्रचण्ड सहकार्यपश्चात् फुक्काफाल तीनवर्षे शासनकालमा ओलीले कुर्सीको निम्ति विधि, पद्धति, विधान, परम्परा, बहुमत, बैठक, विमर्श, छलफल, सङ्गठन, संविधानलाई बुझ्ने आफ्नै परिभाषा निर्माण गरे । प्रचण्डको साथ लिएर ओलीले ‘बा’ साम्राज्य निर्माण गरे । यद्यपि प्रचण्डको साथ–सहयोगमा शक्तिशाली बनेका ओलीले लोकतान्त्रिक आचरण, संसदीय मूल्य, मान्यताको न्यूनतम मापदण्डलाई लत्याउँदै खेलिएको अराजनीतिक खेलपश्चात् ओलीप्रति सकारात्मक झुकाव राख्ने बौद्धिक समुदाय, समर्थक र शुभेच्छुकहरू पुस ५ को कदमपछि खुलेर मैदानमा आउने वातावरण नै रहेन । जसको कारण उनी आफै वृद्ध वयको शरीर लिएर मैदानमा ओर्लनु पर्यो । संविधानमा स्थापित पश्चिमा–उपलब्धिलाई परिवर्तन गर्ने नयाँ सांस्कृतिक ब्रह्मास्त्र देख्न र सुन्न आतुर ठुलो जमात तीनवर्षे असफल विकासको एजेण्डाबाट निराश बन्न पुग्यो ।
नेकपा राजनीतिमा ‘पाण्डव र कृष्ण’ लोप भएको फाइदा उठाउँदै ठडिएको ओली–राजनीति सपनाकै भरमा टिक्ने अवस्था छँदै थिएन । माधव-प्रचण्डले ‘प्रतिबद्धता पत्र’ सार्वजनिक गर्न नसक्ने अवस्थामा पुगेको नेकपा-राजनीतिमा ‘बा’ साम्राज्यले निरन्तरता पाउने ओली-कल्पना आफैमा जगविहीन भएको केपीले भर्खर थाहा पाएका छन् । कथित बाध्यात्मक ‘पुस ५’को कदमपश्चात् मुलुकको पहिचान र सांस्कृतिक राष्ट्रवादको अभूतपूर्व राजनीतिक ध्रुवीकरण छेड्ने सुवर्ण अवसर खेर फालेका ‘बा’लाई भक्त र सेवकले कुर्सीको निम्ति एमाले विघटन गर्दा के उपलब्धि हात लाग्यो भन्ने प्रश्न गरेमा ‘राजनीतिक बिरालो कसैले नपालौँ’ भनेको सुन्न पाइने छ । अस्तु ।