आतङ्कको व्यापार, ईश्वर मात्र ढुक्क !
चीनको वुहानमा पहिलो पटक देखापरेको कोभिड–१९ ले विश्व यात्रा पूरा गरेको छ । यस रोगको तीव्र प्रसारले विश्वका सबैभन्दा शक्तिशाली शासक र निकायलाई हायलकायल मात्र पारेन, उनीहरूको ‘कमजोरी र कठिनाइ’लाई छ्याङ्गै उजागर गरिदिएको छ । महामारीको विश्वभ्रमणमा आएको उतारचढावसँगै महाशक्ति राष्ट्र, सरकार र आधुनिक विज्ञानसँग जनताको विश्वास धर्मराएको छ ।
अपुरो ज्ञान र अधुरो शक्तिको उन्मादमा रमाइरहेका राष्ट्रदेखि उनीहरूद्वारा प्रतिपादित मूल्य, मान्यता, विधि, नियम, कानूनलाई मान्न विवश मुलुकसम्म एकलौटी प्रभाव जमाउन सफल ‘कोरोना युद्ध’ पछिल्लो समय सत्ता–राजनीतिको खेलौना बन्न पुगेको छ । बचाउने नाममा बाँच्ने अधिकार खोस्ने, निरीह नागरिकलाई घरभित्रै थुन्ने, मानवीय मूल्य र मान्यताको खिल्ली उडाउँदै लकडाउनको आडमा शासन गर्ने सत्ताको काइदा सर्वसाधारणको निम्ति अर्को ‘भाइरस’ बनेर उदाएको छ । लकडाउन नै कोरोनाको एक मात्र उपचार ठान्ने अयोग्यहरूको कारण मानिसले ब्यहोरेको मानसिक, शारीरिक र आर्थिक क्षतिपश्चात् पिपिई, मास्क, क्वारेन्टिन, आइसोलेसन, स्यानिटाइजर, डायग्नोस्टिक किट्स र पिसीआरको व्यापार विचित्रै ढङ्गले मौलाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको हवाला दिँदै लादिएको ‘अचुक उपचार पद्धति लकडाउन’ गरिवको निम्ति काल बनेर उदाएको छ । विश्वलाई थाहा छ, विकासोन्मुख राष्ट्रका प्रमुख समस्या कस्ता छन् । अशिक्षा, गरिबी, राजनीतिक अस्थिरता, असमान विकास, बेरोजगारीले गाँजेको मुलुकमा जनता बचाउने भन्दै लादिएको ‘कोरोना व्यापार र लकडाउन’ले ‘जनसङ्ख्या नियोजन’को काम गर्दै छ । हजारौँको सङ्ख्यामा रहेका क्यान्सर, मुटु, दमका साथै अन्य प्रकारका दीर्घरोगी एवम् मिर्गौला रोगीहरू अकालमै मारिएका छन् । ‘कोरोना नियन्त्रण र रोकथाम’को युद्धमा विषय–विज्ञलाई कमान्ड सुम्पँदै सरकार अभिभावकको भूमिकामा बस्न पटक्कै चाहेन । केवल जनचेतनालाई युद्धस्तरमा फैलाउन सफल हुँदा गर्न सकिने कामलाई समेत ‘आतङ्क’को रूपमा प्रचार गरेर नयाँ ढङ्गको शोषणमा लिप्त देखियो ।
विश्व स्वास्थ्य सङ्गठन र सिंहदरबारलाई राम्रोसँग थाहा छ कि नेपालमा कस्ता–कस्ता रोगले मानिस मरिरहेका छन् । विकसित मुलुकमा सामान्य मानिने दम, झाडापखाला, मधुमेह, क्षयरोग, मलेरिया, बिफर, टिटानस, हैजा, रेबिज, ठेउला, दादुरा, डेंगू, जन्डिस, भ्यागुते रोग, स्क्रब टाइफस, सिकलेस एनिमिया हाम्रोसामु कोरोनाभन्दा कम छैनन् । ‘लासलाई कात्रोको पिर’ भन्ने अवस्थामा सास मात्र धानिरहेका मुलुकवासीले सामान्य ज्वरो आउँदा उपचारको निम्ति अस्पताल प्रवेश गर्न ‘पिसीआर’ परीक्षण गरेको रिपोर्ट देखाउनुपर्ने दुर्भाग्यपूर्ण निर्णयपश्चात् दीर्घरोगी, मुटुरोगी, प्रसव वेदना लागेका महिलाहरूले बाँच्ने आशा त्यागेका छन् । कोरोनाबाट सङ्क्र्रमित लाखौँ मानिस परम्परागत उपचारबाट निको भएका छन् । औषधी र भ्याक्सिन नभएको बहानामा राज्य र माफियाहरूले मच्चाएको आतङ्कपछि काम गरेर खान नदिने, राष्ट्रिय ढुकुटीको गम्भीर दुरुपयोग गर्ने, आफ्नै नागरिकलाई दुश्मनको व्यवहार गर्ने, उद्धारको नाममा व्यापार गर्ने, विदेशमा फसेका आफ्नै नागरिकलाई क्वारेन्टिन र आइसोलेसनको अभद्र नाटकको मञ्चन गर्दै शरणार्थी बनाउने खेल झनै पीडादायी बन्दै छ ।
कोरोनालाई यसरी प्रचार गरिएको छ कि आफ्नै घर–परिवार र समाज एकअर्कामाथि शङ्का र घृणा गर्न बाध्य छन् । गलत मिडियावाजीको कारण कोरोना सङ्क्रमितलाई उपचार गर्ने प्राविधिक कर्मचारी, नर्स र डाक्टर नै समाजबाट असुरक्षित बन्दै छन् । निर्दोष सङ्क्रमितहरूको बाँच्ने अधिकार खोस्ने, उनीहरूलाई आतङ्कित गर्ने, उपचारको निम्ति राष्ट्रिय बोझहरूसँग सिफारिस लिँदालिँदै मर्ने अवस्था सिर्जना गरिएको छ । मानिसलाई प्रताडित गर्ने, घरभित्रै आत्महत्या गर्न बाध्य बनाउने, धनी तथा ठूला राष्ट्रलाई समेत धान्न धौ–धौ परेको ‘लकडाउन’को भद्दा नक्कल गर्दै साना र मझौला व्यापारीलाई आर्थिक रूपले टाट पल्टाइदिने षडयन्त्रमा सरकार नै लागिपरेको छ ।
वर्तमान विश्वमा मौजुद रोगहरूमध्ये सबैभन्दा कान्छो र सावधानी अपनाएमा सामान्य असर मात्र गर्ने कोरोनालाई खुनी, घातक, भयानक रोग देखाउने रणनीतिभित्र डरलाग्दो षडयन्त्र र व्यापार लुकेको ठोकुवा गर्न सकिन्छ । मानवीय संवेदना र भावनासँग खेलबाड गर्दै फैलाइएको डरत्रास र अमानवीय व्यवहारले गरिब मुलुक मात्र हैन धनी देशमा समेत जनसङ्ख्या घटाउने र आफ्नो साम्राज्य स्थापना गर्ने खतरनाक रणनीति लुकेको आभास हुँदै छ । सडक दुर्घटना, प्राकृतिक विपत्तिभन्दा पनि कम घातक र मृत्यु दर कम रहेको कोभिड–१९ लाई सबैभन्दा खतरनाक रोग देखाउने षडयन्त्र बुझ्न ढिला हुँदै छ ।
विज्ञान र आधुनिक उपचार पद्धतिको अधिक भरोसामा रमाइरहेका अमेरिका र युरोपियन मुलुकमा कोरोनाले पु¥याएको मानवीय क्षति वास्तवमा उनीहरूको घमन्ड र लापर्वाहीको कारण थियो भन्ने पुष्टि भइसकेको छ । आधुनिक र शक्तिशाली बन्ने होडमा गरिएका तमाम गडबडीको कारण सिर्जित अनेक समस्याहरूको दीर्घकालीन समाधान वास्तवमा आधुनिक उपचार पद्धतिसँग देखा परेन । मानवनिर्मित भ्याक्सिनले रोग समाप्त गर्न सकेको इतिहास पनि थिएन । बरु यसको प्रयोगले मानिसको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ । वैश्य युगमा राजनीति र माफियाहरूको अवैधानिक सहकार्यसँगै नयाँ–नयाँ रोगको विकास, औषधि र उपकरणको प्रयोग र व्यापार मौलाइरहेको छ । आधुनिकताको नाममा प्राकृतिक चिकित्सा पद्धतिलाई समाप्त गर्दै आधुनिक औषधी विज्ञानमार्फत मानिसहरूलाई शोषण गर्ने काइदा नयाँ ढङ्गले विकास गरिएको छ ।
कोरोनालाई ‘आकर्षक अवसर’को रूपमा प्रयोग गर्ने ‘माफिया राजनीति’ नयाँ चरणमा प्रवेश गरेको छ । कोरोना भाइरसलाई ‘हाउगुजी’ बनाउँदै जनताको मन–मस्तिकमा डर पैदा गर्ने, सामान्य विषय वस्तुलाई अतिरञ्जित गर्दै सरकार र आर्थिक क्षेत्रलाई तहसनहस पारिदिने, कालो पैसाको प्रवाह बजारमा गर्ने, हेराफेरिको धन्दा र सङ्गठित अपराध चलाउने, औषधी र अत्यावश्यक सामानको अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने, कमसल र अनुपयुक्त सामान बिक्री गर्ने तयारी पूरा भएको छ । सङ्गठित अपराधले राज्यको स्वास्थ्यसेवामा घुसपैठ गर्दै डाक्टर र सर्वसाधारणको जीवनमाथि गम्भीर खेलबाड गरिरहेको छ ।
कोभिड–१९ को प्रकोपबाट आक्रान्त विश्वमा कोरोना गेमचेञ्जर बनेर उदाएको छ । निकट भविष्यमा नियन्त्रणमा आउने कोरोनाले मानसिक, सामाजिक र देश–देशबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धहरूमा व्यापक परिवर्तन ल्याउँदै छ । सन् १९९० को दशकमा देखिएको राजनीतिक तथा आर्थिक सङ्कटपछि उदाएको भूमण्डलीकरणको युग र कोरोना युद्धपछि रक्षात्मक बन्दै छ । भूमण्डलीकरणको सुत्राधार राष्ट्रहरू र उसले खडा गरेका सम्बन्धित संस्थाहरू कोभिड–१९ नियन्त्रणमा करिव भूमिकाविहीन जस्तै देखिएका छन् । नवउदारवाद, निजीकरण र भूमण्डलीकरणबाट विश्वभर छरिएको जनशक्तिमाथि आइपर्ने कोरोना–युद्धको असर मुलुक प्रवेशसँगै मुलुकले अकल्पनीय परिवर्तन देख्न बाध्य हुनेछ । शिक्षा, स्वास्थ्य, रोजगार र आपूर्ति जस्ता आधारभूत क्षेत्रमा सरकार फेला नपरेको अवस्थामा देखापरेको कोभिड आतङ्क गेमचेञ्जर नै बन्ने छ ।
कोरोनाको नाममा जबर्जस्ती लादिएको लकडाउनको कारण विश्वमा आर्थिक मन्दी छाउने छ, जसको कारण महँगो युद्धको सट्टा सरकारी नीति, व्यापार, राजनीतिक उथलपुथल र सामाजिक व्यवस्थामा व्यापक परिवर्तन हुने छ । व्यापक बेरोजगारीको कारण नागरिकको दैनिकीमा ठुलो परिवर्तन देखापर्ने छ । मानव तस्करी, अपराध, चोरी, डकैती जस्ता समस्या झनै बढ्ने छ । माफियाहरू दलाल र बिचौलियाको साथ लिँदै राजनीतिक र सामाजिक स्थानमा घुस्न मरिहत्ते गर्ने छन् । कोभिड–१९ लाई नियन्त्रण गर्ने नाममा अपनाइएका अप्रिय निर्णयहरूको कारण थला परेका व्यवसायीहरू उत्पादन र माग बढाउन उत्सुक हुने छन् । साथै उपभोक्ताहरू गुमेको आम्दानी प्राप्त गर्न हतारिने छन् ।
दार्शनिक नित्से भन्थे– ईश्वर मरिसके ! वास्तवमा आधुनिक विज्ञान र राजनीतिले धर्म र ईश्वरलाई मार्न कुनै कसर राखेनन् । द्वन्द्वात्मक भौतिकवादी र पुँजीवादीहरूले पटक–पटक ईश्वर मार्दै प्राप्त गर्न चाहेको उच्च स्थान सामान्य कोरोना भाइरसको अघिल्तिर धर्मराएको छ । हजारौँ तर्कवादीहरूको लाख कोसिस र कामनाका बाबजुद ईश्वर मरेनन् । ईश्वरको सार्वजनिक महत्त्व झनै चुलिएको छ । कोरोना मात्र हैन विश्व–इतिहासमा भएका तमाम युद्ध, महामारी, सुनामी र ज्वालामुखी विस्फोटबाट पनि ईश्वर मरेनन् । साथै ईश्वरको सत्ता ढाल्न सकेनन् । पुरोहित, राजा र राजसत्ताले ईश्वरको दुरुपयोग गर्दै रहे । उनीहरू ढले तर ईश्वर ढलेनन् । तर्कवादीहरू भन्ने गर्थे, व्यापक मानवीय सङ्कटपछि मानिसहरू ईश्वरलाई छोड्ने छन् । विडम्बना ! उनीहरू ईश्वरलाई पाउन वा छोड्न हैन, आपसी झगडामै व्यस्त छन् । जबसम्म मानिसहरू अनेक नाममा तथाकथित आतङ्क सिर्जना गर्दै एकआपसमा मर्न–मार्नमै व्यस्त रहन्छन् तबसम्म ईश्वरलाई आफ्नो अस्तित्वको बारेमा चिन्तित हुनुपर्ने जरुरत छैन ।