मेन्सेभिक क्रान्ति !
ईश्वरको ठाउँमा इतिहासलाई प्रतिस्थापन गर्ने कार्ल माक्र्सले पुँजीवादलाई नाशवान देखे । सामाजिक गठनको ऐतिहासिक व्याख्या गर्ने माक्र्सले पुँजीवादको विकल्प समाजवाद देख्न पुगे । माक्र्सद्वारा प्रतिपादित सिद्धान्तलाई कम्युनिस्ट राजनीतिमा स्थापित गर्न भ्लादिमिर लेनिनले जनवादी केन्द्रीयताको सङ्गठनात्मक पद्धतिको विकास गरे । समाजवादी क्रान्तिका नायक लेनिनले कम्युनिस्ट पार्टीको सञ्चालन विधि जनवादी केन्द्रीयता हुने बताए पनि नेपाल कम्युनिस्ट पार्टी भने अध्यक्ष ओली र प्रचण्डको कानेखुसीबाट चल्दै आइरहेको छ । उनीहरूको नजरमा जनवादी केन्द्रीयता भनेको आफ्नै एकाधिकार स्थापित गर्नु हो ।
आलोपालोको सिद्धान्तमा पूर्वएमाले र माओवादी केन्द्रलाई मर्ज गर्दै बनेको नेकपाको सङ्गठनात्मक सिद्धान्त जनतालाई सपना देखाउँदै आफ्नो कुर्सीको व्यवस्था गर्नु हो भन्ने आधार वर्तमानको पार्टी–झगडालाई लिन सकिन्छ । भण्डारीको उदय र सोभियत सत्ताको पतनपछि जनवादी केन्द्रीयताद्वारा नेतृत्वको अधिनायकवाद लाद्ने पुरानो परम्परालाई छोड्न चाहेको तर छोड्न नसकेको नेकपा विचित्रको दलदलमा फसेको छ । जनवादी केन्द्रीयता वैज्ञानिक सङ्गठनात्मक सिद्धान्तमा आधारित छ भन्ने तर ‘कानेखुसी’बाट दीर्घजीवी बन्न मरिहत्ते गर्दा पार्टीमा गैरलोकतान्त्रिक चरित्रले पकड जमाउँदै छ ।
लेनिनद्वारा प्रतिपादित कम्युनिस्ट पार्टीको सङ्गठनात्मक सिद्धान्तले रुसी कम्युनिस्टलाई सग्लो राख्न सकेन । कम्युनिस्ट पार्टीको सदस्यता लिने व्यक्ति कुनै न कुनै कमिटीमा आवद्ध हुँदै पार्टी जिम्मेवारी बहन गर्नुपर्छ र पार्टीले तोकेको शुल्क बुझाउनुपर्छ भन्ने लेनिनको विचारलाई कमरेड जुलियस मार्तोव र अलेक्जेण्डर मार्तिनोवले सशक्त विरोध जनाए । पार्टी सदस्यसँग आवश्यक पर्दा सहयोग लिने र कमिटीमा आवद्ध गर्ने विकल्प अघि सारे । पार्टी सदस्यता खुला रूपले वितरण नगर्ने लेनिनको मत थियो भने मार्तोव र मार्तिनोव पार्टी ढाँचालाई लचिलो बनाउन चाहन्थे । पार्टीभित्र विवाद बढ्दै जाँदा कमरेड लेनिन अल्पमतमा परे । लेनिनले आफ्ना विचारलाई पार्टीमा व्यापक बनाए । अन्ततः पार्टीको बहुमतले लेनिनको लाइनलाई स्वीकार ग¥यो । तर कमरेड लेनिनले पार्टी विभाजन रोक्न सकेनन् । बोल्सेभिक र मेन्सेभिक दुई छुट्टाछुट्टै कम्युनिस्ट पार्टी बने । रुसी भाषामा बहुमतलाई बोल्सेभिक र अल्पमतलाई मेन्सेभिक भनिन्छ । लेनिनले बोल्सेभिकको नेतृत्व गरे भने मार्तोवले मेन्सेभिकको ।
मदन भण्डारी कम्युनिस्ट पार्टीलाई कार्यकर्तामा आधारित मात्र हैन जनआधारित ढाँचामा परिवर्तन गर्न तयार भए । जनताका नाममा जनतामाथि ज्यादती गर्ने र जनताका अधिकार खोस्ने माओवादी आन्दोलनसँग नाता गाँस्ने कमरेड ओलीले सत्ता लिप्सामा ‘जबज’लाई धरौटीमा राखे ।
लेनिनले परिकल्पना गरेको माओले प्रयोग गरेको सङ्गठनात्मक सिद्धान्त एक समय झापाली युवाहरूको भावना बदल्न सफल भयो । राज्यसत्ता बन्दुकको नालबाट निस्कन्छ भन्ने भनाइलाई आत्मसात गर्दै क्रान्तिकारी रोमाञ्चवादमा फस्न पुग्दा कमरेड ओली चौध वर्ष सरकारी पाहुना बन्न पुगे । २०४४ सालमा जेलबाट रिहा भएसँगै प्रतिबन्धित नेकपा मालेको केन्द्रीय सदस्य मनोनित भएका कमरेड ओली खुला राजनीतिमा पुग्दा मदन भण्डारीको सच्चा सहयोगी बन्न पुगे । भण्डारीको देहावसानपश्चात् जबजको निम्ति फाउन्डेसन नै चलाउने कमरेड ओली कुर्सीको निम्ति प्रजातन्त्रविरुद्ध हतियार उठाउने प्रचण्डसँग एउटै भान्सा बनाउन राजी भए । मदन भण्डारी कम्युनिस्ट पार्टीलाई कार्यकर्तामा आधारित मात्र हैन जनआधारित ढाँचामा परिवर्तन गर्न तयार भए । जनताका नाममा जनतामाथि ज्यादती गर्ने र जनताका अधिकार खोस्ने माओवादी आन्दोलनसँग नाता गाँस्ने कमरेड ओलीले सत्ता लिप्सामा ‘जबज’लाई धरौटीमा राखे ।
देशको उन्नति र प्रगतिबाहेक अर्को सपना नरहेको भन्दै गरिएको कपटपूर्ण ओली–प्रचण्ड एकता धरापमा पार्न खुद कमरेड ओली हौसिएका छन् । माधव–प्रचण्डको अल्पकालीन एकतापश्चात् मेन्सेभिक बन्न बाध्य प्रधानमन्त्री ओली बहुमतविरुद्ध विष बमन गर्दै छलकपट, षडयन्त्र, दम्भको प्रदर्शन गर्दै छन् । आफ्नो निहित सत्ता–स्वार्थमा प्रचण्ड बाधक बनेर उदाएसँगै जबजको नाममा भक्तहरूको दस्ता तयार गर्ने, विरोधिमाथि तल्लो स्तरको गालीगलौज गर्न लगाउने, घेराबन्दी गर्ने, फकाउने, धम्क्याउने मात्र हैन कार्यकर्ताको ‘सडक नाटक’ प्रदर्शन गर्दै छन् ।
‘कानेखुसी’को अपार सफलतामा योग्यता, क्षमता, सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी पार्टीमा मुसाको सिङ बनाइयो । कार्यकर्ता र जनताका बीच जाने वातावरण समाप्त गरियो । गुटगत निर्णयबाट पार्टी चलाइयो । अल्पमत बहुमतको अधीनस्थ, तल्ला कमिटी माथिल्लो कमिटीको अधीनस्थ, सबै सङ्गठन केन्द्रीय कमिटीको अधीनस्थ भन्ने लेनिनवादी सिद्धान्तको स्थानमा ‘कानेखुसी’को आधारमा गुटगत पात्रहरूलाई दोहोरो–तेहेरो जिम्मेवारी दिइयो भने फरक मतलाई अपमानित गरियो । जसको कारण काम गर्ने, शक्तिको चलखेल गर्न नसक्ने, इमानदार, निष्ठावान् र प्रतिबद्ध कार्यकर्ता राजनीतिबाट पलायन हुन बाध्य भए भने रहेकाहरू पनि राजकीय सुख–सुविधाबाट वञ्चित बन्न पुगे । फलामे अनुशासनको वकालत गर्ने पार्टी कुर्सीको निम्ति स्वेच्छाचारी र विवेकहीन गतिविधि खुसीसाथ गर्न तयार भयो ।
एउटै निकायले चुनेको अध्यक्षलाई म्यान्डेट प्राप्त भनियो भने त्यही निकायबाट चुनिएका अन्य पदाधिकारीचाहिँ अछुत बनाइयो । आशीर्वादबाट मनोनीत भएकाचाहिँ वैधानिक हुन पुगे भने पहुँच नपुगेका जति हैसियतविहीन बन्न पुगे ।
पार्टीमा स्वस्थ बहस र छलफलद्वारा निष्कर्षमा पुग्ने विधि र पद्धति बोझ ठानियो । सिद्धान्त र आदर्श कुर्सीको अगाडि निरीह बनाइयो । कमरेड भन्दै हाजिर गरेपछि तमाम अपराधबाट मुक्ति दिलाइयो । एउटै निकायले चुनेको अध्यक्षलाई म्यान्डेट प्राप्त भनियो भने त्यही निकायबाट चुनिएका अन्य पदाधिकारीचाहिँ अछुत बनाइयो । आशीर्वादबाट मनोनीत भएकाचाहिँ वैधानिक हुन पुगे भने पहुँच नपुगेका जति हैसियतविहीन बन्न पुगे । ‘कानेखुसी’ जनवादी केन्द्रीयताको आधारमा प्राविधिक बहुमतमार्फत अनावश्यक पेलान, असहमत पक्षलाई लखेट्ने कार्यशैलीको ‘बाइप्रोडक्ट’ सतहमा चुहिएको छ । तमाम हथकण्डा अपनाउँदै पार्टी-नेतृत्वमा पुग्ने र प्राप्त कुर्सीलाई गुटगत तागतमा पद नछोड्ने ‘कम्युनिस्ट रोग’ अन्ततः नेकपा राजनीतिमा टाउको उठाउँदै छ ।
‘लेनिनसँग मतभेद राख्ने मानिस कम्युनिस्ट नै होइनन्’ भन्ने रुसी कम्युनिस्ट पार्टीमा हुर्किएको चिन्तन प्रधानमन्त्रीले सेवकको मनभित्र फिट गरिदिएका छन् । लु साओ ची र देङ सियाओ पिङले समानान्तर सङ्गठन चलाउँदै छन् भन्ने जोसमा माओले सांस्कृतिक क्रान्ति सुरु गरेजस्तो आफूसँग असहमत पक्षलाई दलाल भन्दै चिनियाँ सांस्कृतिक क्रान्तिको ‘ओलीपन’ सुरु भइसकेको छ । पार्टीसत्ता कब्जा गर्न लिन प्याओ र चाङको थाओले माओत्सेतुङको हत्या गर्न कोसिस गरेको, इन्डोनेसियाका महासचिव दिपा नुसनतारा ऐदित ‘डीएन’ले लाखौँ कम्युनिस्टको हत्या गराएको इतिहास कमरेड ओलीले पढेनन् भन्दा उनीमाथि झनै अन्याय हुनेछ । सत्ताको तागत र महत्व गम्भीर ढङ्गले बुझेका प्रधानमन्त्री कमरेडले ख्रुस्चेवले स्टालिनलाई अपमान गरेको इतिहास कम्युनिस्ट राजनीतिमा जायज नै मानिन्छ ।
पछिल्लो समय जनतामा स्थापित हुन जनताकै घर-आँगनमा जानुपर्छ साथै पटक-पटक जनताबाट अनुमोदित हुनुपर्छ भन्ने सिद्धान्तको कारण मुलुकवासीले कम्युनिस्टप्रति देखाएको आकर्षण आफ्नै कारणले आएको हो भन्ने प्रधानमन्त्रीको धारणा छ । कम्युनिस्ट पार्टीको परम्परागत ढाँचा बदल्दै जनताको हरेक सुख र दुःखमा सामेल हुने, गाँस, बास र कपासको नारा दिने राजनीति ओली-नेतृत्वमा एकादेशको कथा बनाइएको मान्न उनी राजी छैनन् । कुर्सीको निम्ति अन्तरपार्टी लोकतन्त्रको हत्या गर्ने, नोकरशाही शासनमा रमाउने, आफूलाई देवत्वकरण गर्न लागिपरेका छन् ।
सम्पूर्ण उपलब्धि मेरै नेतृत्वमा भएको हो । म नै देश हुँ । मेरोविरुद्ध बोल्ने जति भारतीय दलाल हुन् भन्ने कमरेडको शासनमा सिद्धान्त-नीति केही होइन, भए पनि ‘केपीप्रधान’ हुनुपर्छ भन्ने प्रधानमन्त्री ‘सदन’ बन्द गरेर ‘सडक र सरकार’ कब्जा गर्दै छन् । ‘मेरोविरुद्ध लाग्नेलाई समाप्त पार्छु, पार्टी निर्णय पनि मान्दिनँ’ भन्ने अवस्थापछि मुलुकमा मेन्सेभिक क्रान्तिको तयारी गरिँदै छ । देखाइदिने भन्दै सत्ता–नसामा जनादेशको घोर उल्लङ्घन गर्दै बोल्सेभिक–मेन्सेभिक क्रान्तिको चक्करमा परे मुलुक कम्युनिस्टमुक्त बन्ने छ ।
प्रमुख संवैधानिक नियुक्तिमा ढिलाई गर्ने, गरिएका नियुक्तिहरू समावेशी, समानुपातिक र सन्तुलित बनाउनुको सट्टा सेवकलाई पुरस्कृत गर्ने, नागरिकले सामान्यतया सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सुरक्षामा कुनै प्रगति महसुस गर्न नसकेको, सन्तुलित योजना र लोकप्रिय बजेट ल्याउन असफल भएको कारण प्रधानमन्त्रीलाई राष्ट्रवादको मार्केटिङ गर्नु बाध्यता बनिसकेको थियो । प्रचण्डसँग एकता गर्दै माधवलाई साइजमा राख्ने, सत्ता र पार्टी कब्जा गर्दै प्रचण्डलाई किनारा लगाउँदै मेन्सेभिक क्रान्ति गर्ने ओली-सपना सतहमा देखिन जाँदा माधव-प्रचण्ड एकै स्थानमा जम्मा हुन बाध्य भए । प्रधानमन्त्री ओलीको अल्पमतको शासन स्वीकार गर्न नसक्ने अनि ओलीलाई नियन्त्रण गर्न पनि नसक्दा अन्ततः नेकपा गम्भीर घर-झगडामा फसेको छ । राज्यका स्रोत र साधन गुटको निम्ति खर्च गर्दै व्यापारी, बिचौलिया र दलालको सेवामा तल्लीन सरकार चौतर्फी अल्पमतमा परेको छ । पार्टीको सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी र संसदीय दलमा समेत विश्वास गुमाएका प्रधानमन्त्री मेन्सेभिक पार्टी जन्माउने धम्की दिँदै छन् ।
आफू कुर्सीमा हुनु नै कोरोनाको औषधि मान्ने, गरिव र किसान समस्या मुक्त देख्ने, एमसीसी नभए मुलुकको गरिबी उन्मुलन नहुने सोचमा प्रधानमन्त्री डुबेका छन् । ‘चुच्चे नक्सा’को अपार सफलतापछि मुलुकमा ‘मेन्सेभिक क्रान्ति’को वातावरण तयार भएको कमरेडको निचोड छ । अरू सबै रैती हुन् । सम्पूर्ण उपलब्धि मेरै नेतृत्वमा भएको हो । म नै देश हुँ । मबाहेक मुलुकमा कोही राष्ट्रवादी छैनन् । मेरोविरुद्ध बोल्ने जति भारतीय दलाल हुन् भन्ने कमरेडको शासनमा सिद्धान्त, नीति केही होइन । भए पनि ‘केपीप्रधान’ हुनुपर्छ भन्ने प्रधानमन्त्री ‘सदन’ बन्द गरेर ‘सडक र सरकार’ कब्जा गर्दै छन् । ‘मेरोविरुद्ध लाग्नेलाई समाप्त पार्छु, पार्टी निर्णय पनि मान्दिनँ’ भन्ने अवस्थापछि मुलुकमा मेन्सेभिक क्रान्तिको तयारी गरिँदै छ । देखाइदिने भन्दै सत्ता-नसामा जनादेशको घोर उल्लङ्घन गर्दै बोल्सेभिक-मेन्सेभिक क्रान्तिको चक्करमा परे मुलुक कम्युनिस्टमुक्त बन्ने छ ।