कमरेडले जित्ने बाटो !
■ दीपेन्द्र पाण्डे
फ्रेन्च विचारक कुवे भन्ने गर्थे, ‘जसले जस्तो सोच्छ, उ त्यस्तै हुन सक्छ ।’ कुवेको विचारमा बिरामी मानिसले आफू स्वस्थ भएको कल्पना गरिरह्यो भने उ स्वस्थ हुन सक्छ । यसको अर्थ रोगीको ‘रोग’ निको हुने होइन, केवल उसले स्वस्थ भएको महसुस गर्ने मात्र हो । रोग आफ्नो ठाउँमा हुँदाहुँदै पनि बिरामी हिँड्न, डुल्न सक्छ । जीउमा तागत भरिएको अनुभव गर्न सक्छ ।
सत्तासीनहरू कुवेका नक्कली प्रशंसक हुन्छन्, र भक्त पनि ! उनीहरू रोग निको बनाउने मान्यतामा विश्वास गर्दैनन्, केवल आफू निरोगी र स्वस्थ छु भन्ने रट लगाउनुमा तिनको विश्वास रहन्छ । आफू स्वस्थ छु भन्ने भ्रममा बाँच्नुको अर्थ बिरामी नबन्नु मात्र हो, रोगबाट मुक्ति पाउनु हैन । ‘रोग’ निको बनाउनभन्दा स्वस्थ भएको भ्रम छर्न नेपाली राजनीतिका कुटिल खेलाडी सदैव ‘कुवे’ समर्थक बनिरहे । फलस्वरूप मुलुकका विद्वत वर्गसमेत ‘कुवे’समर्थकहरूका तमाम कुकर्म र भ्रमलाई भुल्न वा माफी दिन राजी भए ।
अब नेपालको वर्तमान राजनीतिक परिवेशतर्फ दृष्टि लगाऔँ । प्रधानमन्त्री केपी ओलीको शब्द सापटी लिएर भन्ने हो भने मुलुकको राजनीति यतिबेला ‘हुँडल्लिएको’ छ । आफैले ‘हुँडलेको’ राजनीतिको दोष प्रधानमन्त्रीले चलाखीपूर्वक आफ्नै सहकर्मीको थाप्लोमा हालिदिएका छन् । जनताको विवेक र सम्मानलाई चुनौती दिने ओली–शासनलाई लोकतन्त्रले टुलुटुलु हेर्दै बस्नु परेको पछिल्लो समयमा केपी ओलीको विकल्प झनै त्रासद र भयावह हुने कतिपय बुद्धिजीवीको तर्कलाई प्रधानमन्त्रीले ‘सञ्जिवनी बुटी’ ठानेका छन्, यो दृश्य झनै टिठलाग्दो प्रतीत हुन्छ ।
केही मानिस मान्दै छन् कि ओली पहिला ठिक थिए तर अहिले बाटो बिराउँदै छन् । धेरै मानिस भन्दै छन्– कमरेड ओलीलाई सत्ताले बिगाऱ्यो । वास्तवमा उनी बदलिएका हैनन् । उनी हिजो पनि यस्तै थिए । आज पनि उस्तै छन् । उनको सोच र कार्यशैली निरन्तर एउटै छ ।
राजनीतिक स्थिरता भनेको केवल सरकार परिवर्तन नहुनु मात्र हैन । दिवंगत नेता मदन भण्डारीले भनेजस्तो राजा, काङ्ग्रेस र वामसहित तीन शक्तिको अवधारणामा मुलुकको स्थिरता र प्रगति खोज्ने तरिका नै सही मानेमा दीर्घकालीन स्थिरता थियो । धेरै मानिस मान्ने गर्छन्, ‘सत्ताले मानिसलाई अन्धो बनाउँछ ।’ वास्तवमा यो कुरा मानिसका दृष्टिकोण मात्र हुन् । सत्ताले मानिसलाई बिगार्ने हैन । मानिसभित्र लुकेर बसेको प्रवृत्तिलाई उजागर गरिदिने मात्र हो । अधिकांश मानिस राजनीतिको आडमा आफ्नो सत्ता चलाउन चाहन्छन् । उनीहरू सत्ताको तागत राम्रोसँग बुझ्न सक्छन् । फलस्वरूप सत्ताको दुरूपयोग गर्दै आफ्ना निजी मान्यता र स्वार्थलाई पूरा गर्न हौसिन्छन् ।
मुलुकमा यतिबेला थुप्रै कलमहरू प्रधानमन्त्रीको पक्ष र विपक्षमा चलेका छन् । प्रधानमन्त्री ओलीप्रति सदासयता राख्ने ठूलो जमात अहिले विचित्रको अवस्था झेल्दै छन् । केही मानिस मान्दै छन् कि ओली पहिला ठिक थिए तर अहिले बाटो बिराउँदै छन् । धेरै मानिस भन्दै छन्– कमरेड ओलीलाई सत्ताले बिगाऱ्यो । वास्तवमा उनी बदलिएका हैनन् । उनी हिजो पनि यस्तै थिए । आज पनि उस्तै छन् । उनको सोच र कार्यशैली निरन्तर एउटै छ । यो केवल समयअनुसार कहिले सुसुप्त छ त कहिले आक्रामक ।
मुलुकको राजनीतिमा काङ्ग्रेसले धर्म छोडेको समयमा माओवादीको ज्यादती, आतंक र अराजकताको ओठे जवाफ फर्काउने एक मात्र पात्रको रूपमा कमरेड ओली देखा परे । तात्कालीन समयमा माओवादीले जनतामाझ छरेका घृणा र जातीय नाराको शाब्दिक प्रतिकार कमरेड ओलीले गरेको कुरा इतिहासमा दर्ज भएकै छ । संविधानभित्रका अन्तरवस्तु जे–जस्ता भए पनि वर्तमान संविधान जारी गराउन कमरेड ओलीको अहम भूमिका छ भन्न कञ्जुस्याइँ गर्नु पर्दैन । साथै संविधान जारी भएपश्चात मधेशकेन्द्रित दलले सीमानामा मच्चाएको वितण्डा र भारतीय नाकाबन्दीको जवाफ फर्काएको पुरस्कार कमरेड ओलीले सिंहदरबारको कुर्सी प्राप्त गरेबाट पुष्टि भइसकेको छ । जातीयता, क्षेत्रीयता, संघीयता, पहिचान र आरक्षणको विरुद्ध दह्रोसँग आवाज उठाएवापत कमरेड ओलीलाई सर्वसाधारण मानिसले राम्रै रुचाएका हुन् । राष्ट्रियता, समृद्धि र सुशासनको चाहना मतपत्रमा पोखिँदा उनमाथि ठूलो जिम्मेवारी थपिएका हुन् । प्रधानमन्त्रीको रूपमा दोस्रो कार्यकाल शुरु गर्दा आमनेपालीले उनप्रति अधिक भरोसा गरेकै हुन् । तर उनले जनताको तमाम अपेक्षामाथि पानी खन्याइदिएका छन् ।
‘यती’देखि ‘ओम्नी’सम्म प्रधानमन्त्रीको आशीर्वाद पुगेको समयमा आरोपितले अनुसन्धानको बाटोमा पाइला राख्नै परेन । कुख्याति कमाएका अने काण्डमा ओली सरकारको लसपस देखियो । जनताको नजरमा सरकार कतै देखिएन तर दलाल, बिचौलिया र भ्रष्टाचारीले सरकारलाई जताततै देख्न र मनग्गे फाइदा लिन सके ।
नेकपाको अन्तरविरोधको व्यवस्थापन गर्दै मुलुकलाई उन्नति र प्रगतिको रोडम्यापमा हिँडाउनुको सट्टा अनुपयुक्त अध्यादेशको पछि लाग्दा उनको लोकतान्त्रिक छवीमाथि दाग लागेको छ । मुलुकवासीलाई मिठा–मिठा सपना देखाएर प्रधानमन्त्री ओली नराम्रोसँग बरालिए । नीति निर्माण र राजनैतिक गतिविधिमा पार्टीको आवश्यकतासमेत महसुस नगर्ने अवस्थाबाट गुज्रिएका कमरेड ओली आफ्नालाई काखी च्पाप्दै अनुपयुक्त समयमा मधेशवादी पार्टी फुटाउन समेत राजी भए । पूर्वप्रहरी प्रमुख र आफ्ना दाहिने हात मानिने सांसदलाई गलत काममा उपयोग गर्ने कमरेडको काइदा लोकतन्त्रले पचाउने कुरै थिएन ।
असीमित शक्तिको भोकमा समृद्धिको निम्ति पाएको बहुमुल्य समय काण्डैकाण्डमा खेर फालेको उनी मान्न तयार छैनन् । मन्त्री ओहदामा रहेर विवादित बन्न पुगेका पूर्वदेखि बहालवाला पात्रका अलावा ‘यती’देखि ‘ओम्नी’सम्म प्रधानमन्त्रीको आशीर्वाद पुगेको समयमा आरोपितले अनुसन्धानको बाटोमा पाइला राख्नै परेन । अपराध घट्नुको सट्टा मौलाएको ओली सरकारले देख्न सकेन । कानूनको सर्वोच्चता केवल भाषणमा सीमित गरियो । सुन काण्ड, होलीवाइन काण्ड, निर्मला काण्ड, एनसेल कर काण्ड, पप्पु काण्ड, वाइडबढी घोटला, गुठी विधेयक, बालुवाटार जग्गा प्रकरण, सभामुख काण्ड, कालापानी काण्ड हुदै सांसद अपहरण काण्डमा ओली सरकारको लसपस देखियो । सरकार जनताको नजरमा कतै देखिएन । दलाल, बिचौलिया र भ्रष्टाचारीले सरकारलाई जताततै देख्न र मनग्गे फाइदा लिन सके ।
सन्दर्भसहित माथि उल्लेखित काण्ड मच्चाउन कमरेड ओलीलाई जनताले मत दिएका थिएनन् । समाजवाद साम्यवादको राजनीतिक नाराले सुसज्जित ओली–शासन मदनको ‘जबज’ समेत भुल्दै कता हरायो ? सोच्ने प्रयत्नसम्म गरिएन । उनको शासनमा विरोधको स्थान खुम्चिँदै जान थाल्यो । सरकारको विरोध गर्नेलाई पक्रने, थुन्ने र मुद्दा चलाउने काम सामान्य बन्न पुग्यो । प्रधानमन्त्री ओली आफ्ना पूर्ववाचा र धारणाहरूमा सफल भएनन् । लोकतन्त्र, सुशासन, समृद्धि, राष्ट्रियता, जनजीवीकाको तमाम काममा ओली सरकार सफल भएन । यस्तो विचित्रको स्थिति हुँदा पनि विद्वानवर्ग भन्दै छन्– ओलीको विकल्प खोज्नु हुँदैन ! उनीहरू भन्छन् कि वर्तमान समयमा प्रचण्ड, माधव, झलनाथ, ओलीको विकल्प हुन सक्दैनन् । त्योभन्दा गम्भीर आँकलन यो छ कि ओली शासन जति अलोकप्रिय भए पनि, जति भ्रष्टाचार भए पनि उनको विकल्पमा आउने व्यक्तिको शासन झनै भयावह हुनेछ । यो मान्यता राजनीतिले सही मान्न सक्दैन । ओलीले विगतमा गरेका काम र कुराको आधारमा हेर्दा आजको जस्तो ‘ओली शासन’ कसरी सम्भव छ ? के आजको जस्तो कुशासनको आधार हिजै तय भएको थियो ? जातीवादी, विखण्डनवादी वा त्यस्तै अनेकन वादीले विगतमा मुलुकभित्र लादेका तमाम गैरराजनीतिक क्रियाकलापको कारण उनीहरूलाई सत्तामा आउन दिनु हुँदैन बरु ओली शासन सहनुपर्छ भन्ने तर्क गलत मनसायले गरिएका हुन् । जसलाई किमार्थ उचित मान्न सकिन्न ।
कठोर संघर्ष र असीमित पीडा पचाउँदै राजनीतिको शिखरमा पुगेका प्रधानमन्त्री ओलीले मुलुकको राजनीतिलाई नयाँ दिशा दिन असफल रहे पनि थप अनैतिक बनाउने छैनन् । राजनीतिले उनलाई भन्दै छ– ‘सरल बन्नु पर्दैन, कठिन हुन छोडी देउ !’
कति मानिस अझै भन्छन्– ओली शासनमा आर्थिक वृद्धि दर उकासिएको छ । राजनीतिक स्थिरता छ । मुलुक अग्रगतितर्फ लम्किएको छ । यी तमाम कुरा आंशिक सत्य मात्र हुन् । जहाँसम्म आर्थिक वृद्धिको कुरा छ । त्यसमा हावा, पानी र जनताको देन थियो भन्ने कोरोना आतंकपछिको अवस्थाले पुष्टि गरिदिएको छ । ‘आयातीत एजेण्डा र झैझगडाबाट वाक्कदिक्क भएका जनता नै राजनीतिक स्थिरताका कारक हुन् न कि कमरेड ओली !’ भन्ने पुष्टि उनको कार्यशैलीले गरिरहेका छन् । उनी दुरदर्शी नेता नभएको समेत खुलिसकेको छ ।
कमरेड प्रचण्ड चाहन्थे– चुस्त–दुरुस्त एमाले समाप्त होस् । कुर्सीमोहमा ओलीले प्रचण्ड–चाहना पूरा गरिदिए । हिजो ओलीले आफ्नो फाइदाको लागि एमाले सक्दा पनि ओली सही भए, बनाइए । आज प्रचण्डले आफ्नो योजनाअनुरूप ओली–कमजोरीमाथि प्रहार गर्दा पनि ओली नै सही भन्ने र मान्ने मान्यता ‘खोटयुक्त’ छ । विगतमा ओलीले राष्ट्रको निम्ति आवाज उठाउँदा जनता उनको पछि लागे । भोलि प्रचण्ड, माधव वा बाबुरामले देशविरुद्ध गलत कदम चाले देशले अर्कै सपुत जन्माउँछ । फगत स्थिरताको भावनात्मक कुरा गर्दै यथास्थितिमा ओलीलाई बोक्ने कार्य आजको आवश्यकता हुन सक्दैन ।
अन्तमा, मानिसले बुझ्न थालेसँगै राजनीतिको नाममा हुँदै आएका सत्ता–संघर्षमा जनता सधैं ‘गौण’ र कुर्सी ‘प्रधान’ रहेको तितो इतिहास ओली शासनमा समेत पढिँदै छ । अपवादमा बाहेक हरेक ‘वाद’को नाममा सत्तासीनहरूबाट राजनीतिमाथि हुँदै आएको बलात्कार रोकिने कल्पना वैश्य युगमा करिव असम्भव नै मान्नुपर्ला । कठोर संघर्ष र असीमित पीडा पचाउँदै राजनीतिको शिखरमा पुगेका प्रधानमन्त्री ओलीले मुलुकको राजनीतिलाई नयाँ दिशा दिन असफल रहे पनि थप अनैतिक बनाउने छैनन् । राजनीतिले उनलाई भन्दै छ– ‘सरल बन्नु पर्दैन, कठिन हुन छोडी देउ !’