कोभिड -१९ र नेपालको अर्थतन्त्र


- दीपेन्द्र पाण्डे

कोरोना भाइरस यतिबेला विश्व भ्रमणमा निस्किएको छ । विश्वलाई समान रुपले पिर्न सफल कोरोनाले लिएको लक्ष्य सर्वसाधारण समेतले बुझ्न भ्याई सकेका छन । सके मारि हाल्ने नसके गरीबी मार्फत दिर्घकालसम्म दु:ख दिने कोरोनाको नियत उजागर भइरहेको यस कठिन घडीमा सरकारले आफ्नो अर्थपरक उपस्थिति देखाउन सकेको छैन । कोरोना भाइरसको विरुद्ध प्रारम्भिक लडाई लडिरहेको विश्व समुदायलाई नमिठोसँग चिमोट्ने तथ्याङ्क प्रस्तुत गर्दै ‘डेभिड डडवेल’ले साउथ चाइना मर्निङ पोस्टमा अर्थपरक लेख लेखेका छन ।

उनी लेख्छन । अदृश्य दुश्मनको कारण विश्वव्यापी समुदायहरू डराएका छन्। कोरोना भाइरसको कारण व्यापार र रोजगारी घाटामा रहेको तथ्यांक अत्यन्तै गम्भिर छ । तर सबैभन्दा खराब अवस्था आउनै बाँकी छ । आईएलओको अनुमान छ । वर्षको दोस्रो त्रैमासिकमा करोडौं मानिसले विश्वव्यापी रूपमा रोजगारी गुमाउने छन्। सरकारहरूले कामदारहरूलाई सहयोग पुर्याउन कट्टरपन्थी कदम चाल्नु अत्यावश्यक छ ।

विश्व व्यापार संगठनले जारी गरेको अनुमान अनुसार यस वर्ष १३ देखी ३२ प्रतिशतको बीचमा व्यापार कमजोर हुने अनुमान गरिएको छ । यसको मतलब २०१९ को १८.८९ ट्रिलियन डलरबाट २ .४ ट्रिलियन अमेरिकी डलर देखी ६ ट्रिलियन अमेरिकी डलरको बीचको गिरावट हो ।

सबैभन्दा खराब असर उत्तर अमेरिकामा हुने छ । निर्यात १७ देखि ४१ प्रतिशत घट्ने र आयात १४ देखि ३४ प्रतिशतले घट्ने अनुमान छ । यदि त्यस्ता पूर्वानुमानहरू सटीक छन् भने, आगामी नोभेम्बरमा सम्पन्न हुने अमेरिकाको निर्वाचन राष्ट्रपति डोनाल्ड ट्रम्पको लागी चिन्ताको विषय हुनेछ । डब्ल्यूटीओका अनुसार स्थिति अझ गम्भीर हुनेछ। सेवामुलक व्यापार क्र्यास हुनेछ ।

डब्ल्यूटीओका महानिर्देशक रोबर्टो अजेवेदो भन्छन्, “यी संख्याहरू कुरूप छन् । सबैभन्दा खराब क्षति इलेक्ट्रोनिक्स, अटोमोटिभ र अन्य उद्योगहरूमा पर्नेछ । कामका अन्य क्षेत्रहरूका लागि यो रोग अत्यन्तै गम्भीर छ । आवास र खाद्य सेवा, घरजग्गा व्यवसाय ,सेवा, निर्माण र थोक तथा खुद्रा व्यापारहरू विश्वव्यापी रूपमा खस्किएका छन्, चाँडै रिकभरी हुने अपेक्षा गरिएको छैन । स्पष्टतया, केहि कामका क्षेत्रहरू प्रभावित भएका छैनन्: शिक्षकहरू, स्वास्थ्यकर्मीहरू, सरकारी कर्मचारीहरू, प्रहरी र सेनाका अधिकारीहरू पीडित हुने छैनन्।

कोरोनाको कारण आईएलओले आउँदो त्रैमासिकमा एसियामा काम गर्नेहरुले ७ .२ प्रतिशत घण्टाले रोजगारी गुमाउने अपेक्षा गरेको छ । विश्वमा ६.७ प्रतिशत वर्किङ आवर वा १९५ मिलियन फुल जब खोसिने छ । अमेरिकामा  गत सात अप्रिलसम्म बेरोजगारमा नाम लेखाउनेको संख्या १७ मिलियन पुगेको छ । विश्वमा करिब ३८ प्रतिशतले रोजागारी गुमाउने छन भने संसारलाई अझ असमान बनाउने छ। यसलाई प्रारम्भिक अवस्था मान्दा आगामी दिन झनै विकराल हुने निस्चित छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको कारण थला परेको अमेरिकी अर्थतन्त्र जोगाउन इतिहास मै ठूलो २ ट्रिलियन डलर (२० खर्ब डलर) को राहत प्याकेजमा हस्ताक्षर गरेका छन् । गत चैत्र १५ गते ल्याइएको योजनामा करदातालाई एकमुष्ट नगद अनुदान दिने, वेरोजगार भत्ता, अतिरिक्त स्वास्थ्य क्षेत्र सुधारको लागि बजेट तथा मझौंला व्यवसायलाई राहतको व्यवस्था गरिएको छ । सन् २०१९ वा २०१८को आयव्यव विवरणको आधारमा प्रदान गरिने राहतमा प्रतिपरिवार ७५ हजार डलरभन्दा कम आम्दानी हुने परिवारलाई प्रतिव्यक्ति १२ सय डलर उपलब्ध गराइने छ । बालबच्चा भएको परिवारले प्रतिबच्चा ५ सय डलर अतिरिक्त प्राप्त गर्ने छन् ।

यसैगरी भारतीय सरकारले १५,००० करोड रुपैयाको राहत प्याकेज घोषणा गरेको छ । २२ लाख स्वास्थ्यकर्मिलाई तीन महिनाको लागि ५० लाखको बीमा, ८ .७ करोड किसानको खातामा २००० रुपैंया पठाइने छ । ३ .८ करोड गरीबलाई तीन महिनासम्म ५ किलो गहुँ वा चामल , एक किलो दाल दिइने छ । खाद्य सुरक्षा कानून अन्तर्गत सात किलोसम्म गहुँ २ रुपैया, चामल ३ रुपैया प्रतिकिलो दिने घोषणा गरेको छ । २० करोड़ महिलाको जनधन खातामा तीन महीनासम्म पाँचसय रुपैंया, ३ .२ करोड़ वरिष्ठ नागरिक, अपाङ्ग, एकल महिलालाई १००० रुपैंया १२.८ करोड़ गरीबलाई ग्यास सिलिण्डर दिने पनि जनाएको छ ।

कोरोना भाइरससँग लडने रणनीतिमा चीन भने एक कदम अगाडि बढिसकेको छ । विश्व लकडाउनमा परिरहेको समयमा कोरोना भाइरसको उदगम थलो वुहान धुलो टक्टकाउँदै काममा फर्किसकेको छ । कोभिड -१९ लाई पराजित गर्दै उठेको चीन बिआरआई मार्फत ‘मार्शल योजना ‘ सहित विश्वव्यापी सुधारको नेतृत्व गर्नेछ भन्दै अभिषेक जी भायाले सिजीटिएनमा लेख लेखेका छन । चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ले कोभिड्-१९ पछिको विश्वव्यापी आर्थिक रिकभरी र पुनर्निर्माणलाई चलाउन सक्ने सम्भावना उल्लेख गरेका छन । जसरी अमेरिकी मार्शल योजनाले दोस्रो विश्वयुद्धको अन्त्य पछि विनाशकारी पश्चिमी यूरोपीयन अर्थव्यवस्था पुनर्निर्माण गरेको थियो । कोभिड्-१९ महामारी “विश्व अर्थतन्त्र र सामाजिक एकजुटताको लागि एक ठूलो विपत्ति” साबित भइरहेको छ र बीआरआई मार्शल योजनाले त्यस्तै काम गर्न सक्छ ।

मानिसहरूलाई काममा फर्काउन सक्छ । अस्ट्रेलियाको डेकिन विश्वविद्यालयका शैक्षिक र सिचुआन नर्मल युनिभर्सिटीका विद्वान (Digby James Wren) ब्रेनको आशावाद यो मान्यताबाट आएको हो कि बीआरआईले पहिले नै सम्बद्ध सबै देशहरूलाई पुनरुत्थान गरिरहेको छ । विशेष गरी अफ्रो-युरेसियामा उदाउँदो अर्थव्यवस्थाहरू, चीन र रुसलाई मध्य एशिया र युरोपमा जोड्दै आएको छ । “यो दर्शन सम्पर्कको माध्यमबाट स्थापित गरिएको छ र विश्व अर्थतन्त्रलाई कोभिड -१९ पछिको उदासीनताबाट मुक्त हुन मद्दत पुर्याउने छ,” । उनले यो पनि भने कि चीनले बीआरआई फ्रेमवर्कको मुख्य प्रायोजकको रूपमा, अन्य उदीयमान अर्थतन्त्रहरूको साथसाथ विश्वव्यापी पुनरुत्थानको नेतृत्व गर्नेछ।

“यसको सामना गरौं, युरोप प्राविधिक मन्दीमा छ, संयुक्त राज्य अमेरिका पनि। तर चीन त्यस्तो छैन । विश्वव्यापी महामारीको बेलामा अमेरिका र युरोपको आर्थिक कमजोरी उजागर भएपछि व्रेनले विश्वव्यापी सुधारको बोझ बोक्नु पर्ने अफ्रो-युरेसियाभरि उदीयमान अर्थतन्त्रहरूको आवश्यकता रहेको महसुस गरे। यदि उदीयमान अर्थतन्त्रहरू बढ्छन र चीन बढ्छ भने भारत फेरि विकासमा फर्किन सक्छ, तब युरोप र अमेरिकालाई पनि फाइदा हुनेछ ।

माओवादी ध्वंस, राजनीतिक अस्थिरता, महाभूकम्प,संविधान निर्माणलाई बहाना बनाउँदै पानी माथिको ओभानो बनेको नेपाली राजनीति फेरि एकपटक दुर्घटना तर्फ लम्कँदै छ । निर्वाचन पश्चात प्राप्त अवसरमा डाक्टर अर्थमन्त्रीले दौडाउन नसकेको मुलुकको ‘अर्थतन्त्र र विकास’ कोरोनाको सिकार बन्दै छ । विगतमा मुलुकको राजनीति मात्र बिग्रदा देश छोड्ने युवायुवतीले गरेको अथाह दु:खले चम्केको आर्थिक वृद्धिदर कोरोनाको कारण विश्व नै थला पर्दा डाक्टर अर्थमन्त्रीको रहर कै भरमा तङ्ग्रीने कल्पना प्रधानमन्त्री ओलीले मात्र गर्न सक्छ्न् ।

जीवनलाई नजिकबाट भोग्नेहरु भन्छन् ।गन्तव्य टाढा छ । तर आत्मिक अनुभव भन्छ । गन्तव्य नजिक छ । सत्तामा बस्नेहरु मुलुक रामराज्य देख्छन् । सर्वसाधारण मानिस जीवन झन झन कठिन बन्दै गरेको अनुभव गर्छन् । सत्ता र सर्वसाधारणको दूरी कम गर्न सत्तालाई पटक्कै जाँगर पलाएको भेटिदैन । रुसमा अक्टोवर क्रान्ति अघी ईश्वर नै ईश्वर छ भनी पढाइन्थ्यो । क्रान्ति सम्पन्न हुँनासाथ ईश्वर छैन भन्दै पढाइयो ।हिजो अज्ञान थियो । ईश्वर थियो । आज हामी छौं । ईश्वर छैन । लकडाउनको समयमा सत्तासिन कमरेडहरु अक्टोबर क्रान्तिमा प्रवेश गरेका छन् । हिजो भ्रष्टाचार थियो । ढिलासुस्ती थियो । सपना मुर्छित थियो । अन्याय, अत्याचार, पापाचार हिजोका कुरा हुन् । ती कथा भइसके । हामी आएका छौ । जनताको सच्चा प्रतिनिधि सिंहदरबार, बालुवाटारमा छौ । सब ठिक छ । हामी छौ । सब ठिक हुनेछ । प्रतिक्रीयावादीहरु भ्रम फैलाई रहेका छन् । सबैकुरा विधि र नियम संगत सम्पन्न भएका छन।हुनेछन।देश समृद्ध हुँदै छ। कोही भोका छैनन् । कोही रोगी छैनन् । सबै ठाउँका ठाउँ सम्पन्न छन् ।

डाक्टर अर्थमन्त्री विचित्रको दबाबमा छन् । संविधान अनुसार केवल भाद्रसम्म प्रधानमन्त्रीको सेवा गर्न इजाजत पाएका अर्थमन्त्रीलाई जनता प्रति खासै चिन्ता छैन । पार्टीले खासै चिन्न नचाहेको अवस्थामा नितान्त प्रधानमन्त्रीको आशिर्वादमा अर्थमन्त्रालयको जिम्मेवारी प्राप्त गरेका उनी पछिल्लो समय कोरोना भाइरसको सामु नतमस्तक बन्न विवश छन् । पहिलो वर्ष गाली र दोस्रो वर्ष ताली खाने फर्मुलामा रहेका उनी नितान्त विदेशी नियोग र तथ्याङ्कको भरमा सफल देखिने कोसिसमा थिए । प्रधानमन्त्रीको मुर्छित सपना अनुरुप समृद्धिको डिपार्चर वर्षमा कोरोनाले विश्वकै डिग्री खोस्न सफल हुँदा उनी अपवाद बन्ने सम्भावना थिएन । अर्थतन्त्रलाई लकडाउनमा राखेर आर्थिक उदारिकरण र खुलाबजारलाई सफल बनाउँन लाग्दा उनीप्रति सर्वसाधारणको ध्यान आकर्षित हुन सकेको छैन ।

सरकारी नीति, बजार,सिंचाई, मल, बिउ, किटनाषक औषधि र आधुनिक प्रविधिको अभावको कारण जतिसुकै कुरा गरे पनि कृषिबाट मात्र ठूलो मात्राको बेरोजगारी र अर्थतन्त्रलाई उकास्न हम्मे पर्नेछ। तथापि यस संकटको घडीमा कृषिले भरथेग भने अवश्य गर्नेछ । कोरोना भाइरसको आक्रमण पछि थला परेको मुलुकको पर्यटन र होटल व्यवसाय कोरोना अघिको अवस्थामा विश्व नफर्केसम्म चम्किने सम्भावना देखिदैन भने रेमिट्यान्सको अवस्था भारत, मलेसिया र खाडी मुलुकमा कोरोनाको असरपछि थाहा लाग्ने छ । प्रारम्भिक संकेतहरुले मुलुक कहालीलाग्दो चरणमा प्रवेश गर्न बाँकी नै रहेको अवस्थामा आफ्नो पद कसरी सुरक्षित गर्ने ? भन्ने चिन्ताले सताएका डाक्टर अर्थमन्त्रीबाट मुलुकले पार पाउने कल्पना प्रधानमन्त्रीको किचेन क्याबिनेटले बाहेक अरुले गरेको देखिदैन । फलस्वरुप ओली आशिर्वादमा स्वतपत्र जारी गर्दै शुरु गरेको कार्यकाल विश्व बैंकको अनुमान अनुरुप आर्थिक वृद्धिदर १.५ प्रतिशत हाराहारी वा अझ ओराले लागे पुन्: स्वतपत्र जारी गर्दै आफ्नो कार्यकाल पुरा गर्न मजबुर हुनेछन ।