अपवाद जन्माउँदै कोरोना भाइरस !
- दीपेन्द्र पाण्डे
इब्राहिम नामका एक राजा थिए । उनी राजपाठबाट बिरक्तिएर सन्यासी बने । उनी चौबाटो नजिकै कुटी बनाएर बसे । सन्यासीको कुटीबाट दुई बाटो छुट्टिन्थे । ती बाटो मध्य एउटा बस्ती तिर जान्थ्यो भने अर्को मसानघाट तिर । हरेक दिन बटुवाहरु सन्यासी इब्राहिमसँग बस्तीको बाटो कुन हो भनी सोध्थे । जवाफमा सन्यासी भन्ने गर्थे, “देब्रे तिर लाग्नु । दाहिने पट्टिको बाटो मसान तिर जान्छ।” बटुवाहरु देब्रेतिरको बाटो लाग्थे । केहि समय हिडनासाथ मसानघाट पुग्थे । बटुवाहरु रिसले मुर्मुरिदैँ इब्राहिमसँग बाझ्न कुटी पुग्दथे, “तिमीले देखाएको बाटोबाट जाँदा हामी मसानघाट पुग्यौं । हामी बस्ती जान हिँडेको । तिमीले किन गलत बाटो बतायौ ?” जवाफमा इब्राहिम शान्तसँग भन्ने गर्थे, “त्यसो भए हाम्रो परिभाषा फरक पर्यो जस्तो छ । तिमीहरु जेलाई बस्ती भन्छौ । त्यसलाई म मसान भन्छु । तिम्रो बस्तीमा मानिसहरु हरेकपल मर्ने तयारीमा हुन्छ । कोही आज, कोही भोली त कोही पर्सी । अनि तिमीहरु जेलाई मसान भन्छौ । म त्यसलाई बस्ती मान्छु । जो मानिस मसानघाट पुग्छ । त्यो कहिँ जाँदैन । उ सदा सर्बदा त्यही बस्ने गर्दछ । तिमीहरुले मलाई बाटो सोध्दा कुन चाँही बस्ती भनेर सोधेनौं । जहाँ बसेपछि उजाडिनु पर्दैन। त्यसलाई बस्ती भनिन्छ । त्यसैले म मसानलाई बस्ती भन्छु ।”
वैश्य युगमा मानिसहरुले मर्नु पर्छ भन्ने भुलेका छन । सहिमानेमा मानिसहरु बस्ने स्थान मसानघाट समेत भत्काएर शहर निर्माण गर्न तम्सिएको सजाय अनेक ढंगले पाइरहेका छन । अपुरो ज्ञान र प्रविधिको घमण्डमा मैमत्त सत्ताले सिर्जना गरेका अनेक गडबढी मानवलाई जिउँदै मसानघाट पुर्याउन ‘कोरोना महामारी’को रुपमा जन्म लिइसकेको छ । फलस्वरुप बालक देखी वृद्धसम्म समान प्रभाव पार्न सफल कोरोना उर्फ कोभिड -१९ को सन्त्रासले मानव जातीलाई गम्भिर मोडमा ल्याई पुर्याएको छ । विश्वको ठेकेदार अमेरिकाको ‘सुपरपावर’ खोस्न हतारिएको कोरोना महामारी कहिले र कति क्षतिपश्चात विश्राम लिन्छ ? भन्ने सवालको जवाफ वैज्ञानिक देखी राजनीतिज्ञ सम्मले फेला पार्न सकेका छैनन् । सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुबेई प्रान्तको राजधानी वुहानमा पहिलो पटक अनुहार देखाएको कोरोना भाइरस यूरोपियन मुलुकहरु र अमेरिकी सुपर पावरलाई हायल कायल पार्न कम्मर कसेर लाग्दा विश्वमा अनेक अपवादले धमाधम जन्म लिँदैछ ।
पूर्वीय संस्कारको पश्चिममा स्वागत र अनुशरण :
साहित्यिक, वैज्ञानिक, राजनीतिक, कलात्मक र दार्शनिक सिद्धान्तमा स्वच्छंदतावाद हावी गराउँदै बजारवादको जगमा उदाएको पश्चिमी राजनीति, पूर्वीय ‘परम्परा र ज्ञान’लाई नष्ट गर्दा आफ्नो शक्ति बढ्ने निचोडमा पुग्यो । धार्मिक र आध्यात्मिक विचारलाई अनुपयुक्त र नकारात्मक विषय मान्ने पश्चिमी राजनीति वैदिक सभ्यता मात्र हैन महान ग्रन्थ ‘रामायण र महाभारत’लाई समेत समाप्त गर्न अनेक ढंगले लागिरह्यो । नैतिक मुल्य केहि होइन केवल प्राकृतिक कानून, मानव अधिकार, संविधानवाद, संसदवाद, उदार लोकतन्त्र र स्वच्छंदतावाद नै सबै हो भन्दै उपभोक्तावादमा रमाउन राजी भयो । मंगल ग्रह ,चन्द्रमामा पुगेको अभिमानमा मानव स्वास्थ्य माथी आउन सक्ने विपत्तिलाई नजर अन्दाज गर्दा खतरनाक भाइरसले जन्म लिन सक्छ भन्ने बुझ्न समेत चाहेन । कोरोना भाइरसको चपेटामा परेसँगै परापुर्व कालदेखी पूर्वीय धर्मालम्बीहरुले प्रयोगमा ल्याएका संस्कार र परम्परा आज पश्चिमी राष्ट्रमा स्वागत योग्य बनेका छन। नमस्कार गर्ने, सरसफाईमा विशेष ध्यान दिने, गृह प्रवेश गर्दा विशेष विधि अप्नाउने, खानपिनमा अर्गानिक सामानको अधिकतम प्रयोग गर्ने पूर्वीय परम्परा र संस्कार आज पश्चिमी राष्ट्रहरुमा विचित्रसँग बाध्यात्मक बन्दै छ ।
मास्कको स्वीकार्यता :
९-११ को घटनापछि थुप्रै यूरोपियन मुलुकमा इस्लाम धर्मालम्बी महिलाले प्रयोग गर्ने बुर्का प्रतिबन्ध लगाइयो । विश्वको चर्चित शहर फ्रान्समा मुस्लिम युवतीहरुले बुर्का प्रयोग गर्दा उनीहरुलाई आतंकवादी कै शैलीमा व्यावहार गरियो । बुर्काको कारण व्यक्तिको अनुहार छोपिने हुँदा प्रहरी र प्रशासनलाई काम गर्न अप्ठयारो परेको भन्दै खुला अनुहारको पैरवी गर्ने देशहरु आज मास्कलाई अनिवार्य गर्न लागि परेका छन । कोरोना सन्त्रासको कारण व्यक्तिको परिचय भन्दा स्वास्थ्य ठूलो हो भन्ने नयाँ वहसले स्थान जमाएको छ । कामको दौरान डिपार्टमेन्ट स्टोरमा काम गर्ने महिलाले नाकमा फूली समेत लगाउन नपाउने यूरोपमा एयरपोर्ट, मनी एक्स्चेन्ज, बैंक, तारेहोटेल, डिपार्टमेन्ट स्टोर, प्रहरी कार्यालय जस्ता ठाउँमा समेत माक्सको सर्वस्वीकार्यता बढ्दै छ । कुनै समय कसैले नचिनोस् भन्दै लगाइने माक्स अहिले फोटो खिच्दा समेत लगाइदै छ ।
अमेरिकी दम्भको अन्तिम संस्कार :
सोभियत सत्ताको पतन भएसँगै विश्वको सर्वशक्ति सम्पन्न मुलुक बन्न सफल अमेरिका विश्वमा एकलौटी दादागिरी देखाउँदै आइरहेको छ । विश्वमा आफूले चाहे जस्तो धाक, धम्की र हैकम चलाउँदै आएको अमेरिका कोरोना भाइरसको चपेटामा परेसँगै ‘सिंह’बाट ‘स्याल’ बन्न विवश छ । कोरोना भाइरसको उत्पति चीनमा भएसँगै चीन बर्बाद हुने आँकलनमा हौसेको अमेरिका शुरुका दिनमा कोरोना भाइरसलाई ‘वुहान भाइरस’ र ‘चिनियाँ भाइरस’ भन्दै चीनको हुर्मत लिन तम्सियो । कोरोना भाइरसले चीनको अर्थतन्त्र ध्वस्त पार्ने कल्पनामा रमाएको अमेरिका त्यतिबेला झस्कियो जब यस भाइरसबाट संक्रमितको संख्या चीनमा भन्दा ज्यादा आफ्नै देशमा देखियो । आफूलाई ‘राजनीतिक जङ्गलको सिंह’ ठान्ने अमेरिका अन्तत आफ्नो दम्भको अन्तिम संस्कार गर्दै चीनसँग कोरोना भाइरस रोकथामको निम्ति मिलेर काम गर्न बाध्य भयो ।
हतियार र व्यापारको घमण्ड चक्नाचूर :
दोस्रो विश्वयुद्ध पछि चम्किएको हतियार उत्पादनको होडबाजी अन्तत: सोभियत सत्तालाई आर्थिक रुपले असफल बनाउने कारण बन्न पुग्यो । पहिचान, आरक्षण, भौगोलिक स्वतन्त्रता, क्षेत्रीयता, अग्राधिकार, मानवाधिकार, धर्मनिरपेक्षता, जाती, भाषा, लिङ्ग, शसक्तिकरण, अधिकार जस्ता अनेक नाममा विद्रोह गर्न सिकाउने, तीनै विद्रोहलाई सम्बन्धित सत्ता मार्फत दमन गर्न लगाउँदै हतियारको व्यापार गर्ने अमेरिकी नीति आज पर्यन्त छँदै छ । आफ्नो बजार र राजनीतिक स्वार्थको निम्ति सबै जायज ठान्ने अमेरिकी राजनीति सन् १९९० पछि खुला बजार र आर्थिक उदारिकरणमार्फत विश्व बजारमा एकलौटी कब्जा गर्न सफल भयो ।
सन् २००३ पछी ‘चीन’ विस्तारै बाधक बन्दै आइरहेको समयमा अनेक झमेला झिक्दै चीनसँग व्यापार युद्ध गर्न तम्सिदै थियो । मानव स्वास्थ्यमा आफ्नो दह्रो पकड रहेको अभिमानमा रमाइरहेको अमेरिका फगत हतियार र व्यापारलाई प्रमुख मान्दा सामान्य कोरोना भाइरस उसको अभिमान तोड्न कस्सिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले बुझेको अमेरिका अत्यन्त नाजुक छ । कोरोना सन्त्रासको कारण देश लकडाउनमा परे अर्थव्यवस्था धर्मराउने छ । जसको कारण अमेरिकीहरु आत्महत्या गर्न विवश हुनेछन् । उनी स्वीकार गर्छन । त्यतिबेला मर्ने अमेरिकीहरुको संख्या कोरोना भाइरसको कारण मर्नेको भन्दा ज्यादा हुनेछ । यदी लकडाउन नगर्ने हो भने मानिसहरु काममा जाने छन् । थुप्रै मानिस कोरोनाबाट संक्रमित हुनेछन । राष्ट्रपति ट्रम्प हेर्दै छन् । कोरोनाको असर वृद्धहरुमा ज्यादा छ । उनी विचित्रको सन्देश दिँदै छन् । उनी युवाहरुको भविष्य हेर्दै वृद्धहरुको कुर्वानी दिन तयार छन् । उनी स्वीकार गर्छन् । बुजुर्गलाई आफ्नो जिन्दगीसँग समझौता गर्न बाध्य पार्दै छन् । हाल अमेरिकाको जनसंख्या करीब ३३ करोड छ। जसमा १६ प्रतिशत मानिसको उमेर ६५ वर्ष भन्दा ज्यादा छ । सन् २०५० सम्ममा यो आंकडा २२ प्रतिशत हुनेछ । राष्ट्रपति ट्रम्पको विचार सुन्दा उनी १६ प्रतिशत वृद्धहरुको जिन्दगीसँग जुवा खेल्न तयार छन ।
विदेशबाट फर्किने माथी नराम्रो नजर :
पञ्चायतको पतन हुँदै गर्दा विदेश जान सफल हुनेहरु गाउँघरमा छुट्टै प्राणी कहलिन्थे । मुलुकमा प्रतिष्ठित पेसामा रहेका मानिस समेत ‘विदेश जान पाए !’ भन्ने अवस्था मुलुकमा थियो । प्रजातन्त्र प्राप्तीसँगै थुप्रै मानिस अनेक तरिकाले विदेश पुग्न सफल भए । उनीहरुले कठिन संघर्ष मार्फत आफूलाई स्थापित गर्न सफल हुँदा विदेशप्रतिको चमक र मोह ह्वात्तै बढ्न पुग्यो । यो क्रम रोकिएन । सक्नेजति चमक धमक मुलुक लागे भने नसक्ने जति मलेशिया, खाडी मुलुक मात्र हैन अफ्रीका समेत हानिए । अनेक माध्यामबाट भिसा लाग्दा युद्ध नै जितेको ढंगले पार्टी दिने चलन झनै झाँगियो । त्रिभुवन विमानस्थलबाट निधारमा रातो टिको र काँधमा खादा हाल्दै हात हल्लाएर बिदा हुनेको लर्को नै मुलुकको आम्दानीको स्रोत बन्दै थियो । विदेश जाने र विदेशबाट फर्किनेहरुको समाजमा छुट्टै स्थान बनिसकेको थियो । तर अकस्मात यो सोचमा परिवर्तन आएको छ । कोरोना भाइरसको कारण विदेश जाने हराएका छन भने विदेशबाट फर्किने माथी अनेक शंकाले हेर्ने वातावरण अकस्मात चुलिएको छ । हिजोसम्म मुलुकलाई रेमिटयान्सले पाल्नेहरुलाई आज राज्य र सर्वसाधारणले समेत ठूलो अपराधीको नजरले हेर्ने कारण कोरोना भाइरस बन्दै छ ।
लकडाउन विश्व :
पछिल्लो समय मानिसहरु भन्ने गर्थे । विश्व धेरै खुम्चिएको छ । विज्ञान र प्रविधिको अधिकतम प्रगतिको कारण विश्व अत्यन्त सानो भएको मान्न विवश मानिसहरु अपुरो ज्ञान र प्रविधिको सिकार बन्दै छन् । इन्टरनेटले विश्वलाई एकाघर बनाएको अवस्थामा कोरोना भाइरसले समेत विश्वभरका मानिसलाई एकैपटक आक्रमण गर्न सफल हुने माध्यम हवाई जहाज बन्न पुगेको छ । चीनको वुहानबाट हवाई जहाज चढेर यूरोप अमेरिका मात्र हैन विश्व भ्रमणमा निस्किएको ‘कोरोना भाइरस’ अन्तत: विश्वलाई लकडाउनमा लान सफल भएको छ ।
अन्तमा,
कोरोना महामारीको कारण विश्वमा हाहाकार मच्चिएको छ । परमाणु बम र केमिकल हतियारको धम्की दिने देश सामान्य भाइरसको इलाज खोज्न असफल बन्दै छन । कोरोनाले पश्चिमी सोच र शैलीलाई विस्तारै विस्थापित गर्ने अवस्थाले जन्म लिँदै छ । कोरोना महामारीले मृत्युको शास्वत नियम माथी धावा बोल्दै छ । मानिसले बालकदेखी वृद्धसम्मको यात्रा पार गर्दै मृत्युवरण गर्नु पर्नेमा अचानक आइलागेको कोरोना महामारीले हाम्रा दैनीकी खल्बलिएका छन । जन्मबाट मृत्यु निस्कने बुझ्दाबुझ्दै जन्मलाई जीवन मान्ने खेल कोरोनाको कारण झुटो बन्दै छ ।