इज्जत, शक्ति र पैसा
तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टन यौनकाण्डमा मुछिए । आफ्नो सत्ता र शक्तिको भरपूर प्रयोग गर्दै आफ्नै कार्यालय सहयोगी मोनिका लेवेन्सिकीसँगको हिमचिम मिडियाले पस्केसँगै निरन्तर झुट बोलिरहे । राजनीतिक लोकप्रियताको खोल शक्तिको तमाम दुरुपयोग गर्दा पनि अमेरिकी मिडियाले उनको कर्तुत आमजनतासम्म लैजान छोडेन । उनी त्यतिबेला नराम्रोसँग पछारिए जब मोनिकाको आमाले सङ्गालेर राखेको कपडाले उनको झुट पर्दाफास गर्न सफल भयो । मोनिका–क्लिन्टनबीच सम्पन्न यौन क्रियाकपालको दसी–प्रमाण बनेर बसेको मोनिकाको त्यो कपडाले खोलेको सत्यतापछि गल्ती स्वीकार गर्दै राष्ट्रपति क्लिन्टनले श्रीमती र अमेरिकी जनतासँग माफी मागे ।
अमेरिकी समाजमा सहमतिमा सम्पन्न हुने शारीरिक सम्पर्कलाई खासै ठूलो मुद्दा नबनाइने भद्र संस्कारको बाबजुद तत्कालीन राष्ट्रपतिले किन माफी मागे त ? भन्ने बुझ्नुपर्छ । अमेरिकी कानुन र जनताको नजरमा सहमतिमा शारीरिक सम्पर्क वा त्यस्तै गतिविधि मिडिया र समाजको रुचिको विषय बन्दैन, तर राजनीति गर्ने मानिसको चरित्र स्वच्छ हुनुपर्ने अघोषित मान्यता रहिआएको छ । साथै झुटलाई कुनै पनि मूल्यमा स्वीकार योग्य मानिँदैन । अमेरिकी समाजको मूल्य र मान्यतालाई राष्ट्रपति क्लिन्टनले बुझ्दाबुझ्दै बोलेको झुटको कारण उनले मागेको माफी संसारभर चर्चा र स्मरणयोग्य हुन पुग्यो ।
सबैलाई थाहा छ । हामी अमेरिकी समाजको खुलापन पचाउन सक्दैनौँ । हाम्रा पुर्खाले निर्माण गरेका मूल्य र मान्यतामा हामीहरू गर्व गर्दछौँ । विडम्बना ! समाज र मुलुकलाई नयाँ दिशा देखाउनुपर्ने निकाय दिन–प्रतिदिन पुर्खाले तय गरेका मूल्य र मान्यताविपरीत कार्य गर्न लालायित हुँदै छन् । विज्ञान र प्रविधिले अधिकतम् तरक्की गरेको पछिल्लो समयमा हाम्रो समाज, राजनीति र मानिसहरू किन आफ्नै विरासतको विरुद्ध लाग्दै छन् । विश्व राजनीति र मानचित्रमा आफ्नै बलबुतामा पहिचान निर्माण गर्न सफल मुलुक आज किन अचानक धर्मराएको छ ? इज्जत गुमाएर पैसा र शक्ति प्राप्त गर्ने भोक किन जाग्दै छ भन्ने गम्भीर सवाल हाम्रोसामु उपस्थित भइसकेको छ । वर्तमान वैश्ययुगमा तमाम मानिसहरू शक्ति, प्रतिष्ठा र पैसाबाट प्रेरित हुँदै छन् । के शक्ति र पैसाबिना प्रतिष्ठा–इज्जत कमाउन सकिँदैन ? अर्को भाषामा भन्नुपर्दा, इज्जत खर्च गरेर शक्ति प्राप्त गर्न सकिँदैन ? साथै, इज्जत खर्च गर्दै प्राप्त सत्ताबाट बिदा लिँदा प्रतिष्ठा मात्र कमाएर बस्न सकिँदैन ? यस्ता सवालको निर्मम जवाफ खोज्दा राजनीतिको इज्जत जाने अवस्था सिर्जना गरिएको छ ।
अब्राहम मास्लोले भनेका छन्, ‘मानव–आवश्यकताको क्रमबद्धता छ, यदि तपाईं गरिब, शक्तिहीन र पीडित हुनुहुन्छ भने पैसा र शक्ति प्राप्त गर्न लालायित हुनुहुन्छ । साथै यसको प्राप्तिसँगै तपाईंका लक्ष्यहरू अझ महत्वपूर्ण हुन्छन् । जसले तपाईंलाई झनै पैसा र शक्तिको पछाडि कुदाउनेछ ।’
मुलुकको पछिल्लो राजनीतिक परिवर्तनपछि मानिस केवल पैसाकै पछि लाग्दै छ । निरन्तर शक्ति प्राप्त गरिराख्न, सङ्गठन निर्माण गर्न र त्यसमार्फत आफ्नो खुसीहरूको व्यवस्थापन गर्न मानिस पैसा कमाउन चाहन्छ । राम्रो वा महान् नेता बन्ने धुनमा वा प्रतिष्ठाका लागि मानिसहरू आफ्नो गुणहरूको बखान र बिक्री गर्ने गर्दछन् । जसमार्फत इज्जत–प्रतिष्ठा कमाउँछन् । अर्को थरी मानिसहरू क्षमताबिना हावामा बढाइचढाइ गर्न अग्रसर हुन्छन् । क्षमताशील व्यक्तिको गुणगान गाउँदै पद प्राप्त गर्छन् । त्यही पदको दुरुपयोग गर्दै नभएको शक्ति प्रदर्शन गर्न आर्थिक जोहो गर्न हतारिन्छन् । अब्राहम मास्लोले भनेका छन्, ‘मानव–आवश्यकताको क्रमबद्धता छ, यदि तपाईं गरिब, शक्तिहीन र पीडित हुनुहुन्छ भने पैसा र शक्ति प्राप्त गर्न लालायित हुनुहुन्छ । साथै यसको प्राप्तिसँगै तपाईंका लक्ष्यहरू अझ महत्वपूर्ण हुन्छन् । जसले तपाईंलाई झनै पैसा र शक्तिको पछाडि कुदाउनेछ ।’
पञ्चायती बन्द समाजको विरुद्ध न्याय, समानता, स्वतन्त्रताजस्ता आवाज उठाउँदा मात्र सर्वसाधारण जनताले भरपूर इज्जत दिएकै थिए । मुलुकको उन्नति, प्रगति, विकास र समृद्धिको नारालाई समर्थन गर्दै जनताले अथाह शक्तिसमेत दिएकै हुन् । सामान्य किसान, मजदुर, शिक्षक मात्र होइन सुकुम्बासीलाई समेत जनताले फूलमाला लगाउँदै सांसद–सभासद् बनाएकै हुन् । तर, तिनै मानिस आफ्नै विगत बिर्संदै इज्जत खर्च गरेर राजनीतिमार्फत देश र जनताको सेवा गर्ने हाम्रो परम्परा एकादेशको कथा बनाउन मरिहत्ते गरेका घटना दुर्भाग्य बनेर उदाएका छन् । नेपाली समाजको विशेषता भनेको छिट्टै रमाउने, विश्वास गर्ने, धोका खाने र गाली गर्ने रहँदै आएको छ । साथै, अर्को विशेषता भनेको भुल्ने र माफी दिने पनि हो । राजनीतिक परिवर्तनको दौरान मुलुकमा घटाइएका तमाम अन्याय, अत्याचार र लुटले कहिल्यै निकास नपाउने मुलुक पनि हो नेपाल । राणाशासनदेखि प्रजातन्त्र फाल्दै लोकतन्त्र ल्याउँदासम्म मुलुकले जन्माएका तमाम अपराधको फल भोगेका, चाखेका जनताले लोकतन्त्रमा समेत तिनै प्रकृतिका घटना भोग्न पाउनु आफैँमा अनौठो भने मान्न सकिन्न । पात्र फेरिएको प्रवृत्ति समान रहेको लोकतन्त्रमा पनि उस्तै निन्दनीय घटना घट्नु आलोच्य, अपमानजनक मात्र होइन अस्वीकारयोग्यसमेत छ ।
जनताको सदासयताको खिल्ली उडाउँदै जसरी पनि सत्तामा पुग्ने, सत्ता र शक्तिको आडमा राष्ट्रदोहन गर्ने कथित अपराध राजनीतिक आशीर्वाद र राजनीतिक आवरणमा घट्नु–घटाइनु नेपाली राजनीतिको उपलब्धि नै बन्न पुगेको छ । राजनीतिक योग्यतामा जेल बसाइ, भाषण गर्ने कला, झुटलाई सत्य बनाउने सङ्गठन, आशीर्वाद, नातावाद, फरियावाद मात्र होइन स्वदेशी–विदेशीवादसमेत मिसाउँदै जनताको सोच, विचार, भोक र मतको खिल्ली उडाउँदै पतित हुने कला नेपाली राजनीति र त्यस उद्योगमा सामेल नेता–कार्यकर्तामा रहेको सजाय मुलुकवासीले भोग्दै छन् ।
भनिन्छ– घमण्ड, यौन र सत्ताको प्रयोग गर्नुअघि तीनपटक सोच्नुपर्छ । तर विडम्बना ! तीनपटक प्रयोग गरेपछि सोच्ने अवस्था मुलुकमा स्थापित गरिएको महसुस हुँदै छ । उद्योगको रूपमा मौलाएको नेपाली राजनीतिले खपत गरेको जनशक्ति दिन–प्रतिदिन अनेक काण्डमा मुछिनुको अर्थ भ्रष्टाचार नेपाली राजनीतिको अभिन्न अङ्ग बनिसकेको ठोकुवा गर्न सकिन्छ ।
रोल्पाको शिक्षकदेखि ‘सम्माननीय’ सभामुखसम्म बन्न सफल मानिस आफ्नो मर्यादा कायम राख्न चुकेको घटना सेलाउन नपाउँदै अर्को काण्ड उजागर हुनु लोकतन्त्रको निम्ति सुखद मानिँदैन । रित्तो हात, भाषण, सपना र आशीर्वाद लिएर सञ्चारकर्मीदेखि मन्त्री ओहोदासम्म पुग्न सफल, प्रधानमन्त्रीका दाहिने हात बन्न सफल कमरेड अनुपयुक्त फोन सम्वादमार्फत ७० प्रतिशत कमिसनको मोहमा जेलिन पुग्छन् । आफूभन्दा सिनियरलाई पन्छाउँदै सूचना र सञ्चारजस्तो मन्त्रालय सम्हाल्ने मौका पाएका मन्त्री नै सञ्चारको सिकार हुनुले आफ्नो पदीय हैसियत, मर्यादा मात्र होइन जनता र प्रधानमन्त्रीको भरोसा तोड्ने कारण बन्न पुगे । मन्त्री बनेसँगै बैंक ब्यालेन्स घटेको बताउने कमरेड–मन्त्रीले अनुपयुक्त फोन संवादमा बैंक ब्यालेन्स बढाउने कुरा गर्न किन रुचाए ? प्रधानमन्त्री र लोकतन्त्रको खिल्ली उडाउने कारण बनेका निवर्तमान मन्त्रीले राजनीतिमाथि नै धब्बा लगाइदिएका छन् भन्न सकिन्छ । भित्ताको पनि कान हुन्छ भन्ने नेपाली उखान सुनेका र बुझेका निवर्तमान मन्त्री कुन परिबन्दले फोनमा मोलमोलाई गर्न राजी भए ? उनको असावधानीले निम्त्याएको सङ्कट र सवालको क्षतिपूर्ति राजनीतिमा कहिले र कसरी हुन्छ ? नेपाली राजनीति अनुत्तरित बन्दै छ ।
भनिन्छ– घमण्ड, यौन र सत्ताको प्रयोग गर्नुअघि तीनपटक सोच्नुपर्छ । तर विडम्बना ! तीनपटक प्रयोग गरेपछि सोच्ने अवस्था मुलुकमा स्थापित गरिएको महसुस हुँदै छ । फगत इज्जतको निम्ति पैत्रिक सम्पत्ति सक्दै राजनीतिमा असफल भएका असङ्ख्य उदाहरण हाम्रो समाजमा काफी भेटिन्छन् । पछिल्लो समय इज्जत गुमाउँदै सत्ता र शक्तिको दुरुपयोग गर्दै पैसा कमाउने रोग विश्वव्यापी बन्दै छ । उद्योगको रूपमा मौलाएको नेपाली राजनीतिले खपत गरेको जनशक्ति दिन–प्रतिदिन अनेक काण्डमा मुछिनुको अर्थ भ्रष्टाचार नेपाली राजनीतिको अभिन्न अङ्ग बनिसकेको ठोकुवा गर्न सकिन्छ । यस्तो भयावह अवस्थाको कारण र समाधान नेपाली राजनीतिले खोज्न रुचाएको देखिँदैन । देश छोड्न नसकेर बन्ने राष्ट्रवादी र खाने ठाउँ नपाएर बन्ने इमानदारहरूको रुवाई सामाजिक सञ्जालमा छरिएको हो भन्ने आरोप लगाउँदै राजनीति मख्ख परेको छ ।
राजनीति अक्सर अत्यन्त क्रूर र पीडादायी हुने गर्दछ । भावना र हल्ला बिक्ने हाम्रोजस्तो अल्पविकसित मुलुकको राजनीतिमा दया, माया, करुणाको स्थान हुँदैन भन्ने निवर्तमान मन्त्रीले बुझ्न रुचाएनन् । दोस्रो मौका कथा र कहानीमा मात्र पाइन्छ भन्ने बिर्सिएका उनी अक्षम्य असावधानीको सिकार भइसकेका छन् । मुलुकको कानूनले कमिसन र भ्रष्टाचारलाई अस्वीकार गरेको मात्र नभई सजायको हकदार नै मानेको जान्दाजान्दै उनीबाट सम्पन्न भूलको गम्भीर असर प्रधानमन्त्रीको प्रतिबद्धता र सुशासनमा पर्दै छ । इफ, बट, यद्यपि, तथापि, परन्तु जस्ता शब्द मिल्काउँदै प्रधानमन्त्री ओली एक्सनमा उत्रिन ढिला भइसकेको छ । पछिल्लो घटनालाई सामान्य सम्झँदै ढिलासुस्ती र असावधानीमा रमाए जनताको आक्रोश थाम्न मुस्किल हुनेछ । तत्पश्चात् समृद्धि र सुशासनको पिता ओलीले अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले जस्तो माफी मागेर छुटकारा पाउने सुविधा गुमाउनेछन् ।