कोरोना भाइरसको आतंक र चीनको अवस्था


- दीपेन्द्र पाण्डे

शीतयुद्धको समाप्ति पछि विश्व राजनीति करिब करिब अमेरिकी पोल्टामा पुग्यो भन्नेहरू बिस्तारै चीनतर्फ आँखा गाड्न विवश बन्दै थिए । सन् २००३ पछि विश्व बजारमा आक्रमक ढङ्गले उदाएको चीनको अर्थ व्यवस्था पछि थुप्रै राजनीतिक शास्त्री र अर्थशास्त्रीहरु अमेरिकालाई टक्कर दिने शक्तिको उदय भएको मान्न मजबुर बन्दै थिए । बोल्ने भन्दा गर्नेमा विश्वास गर्ने चिनियाँ नेतृत्वको कारण चीनले दिन दुई गुणा रात चार गुणा तरक्की गरिरहेको देख्ने आँखा विश्वभर बढ्दै थिए । आफ्नो लक्ष्य प्राप्तिको निम्ति अहोरात्र खटिरहेको चीन गत डिसेम्बरको अन्तबाट अकस्मात् नयाँ समस्याको सामना गर्दै छ । आर्थिक प्रगतिमार्फत अमेरिकालाई टक्कार दिने एकल लक्ष्य लिँदै चुपचाप काममा तल्लिन चीन अकस्मात् आइलागेको कोरोना भाइरस(COVID-19)को कारण एकसाथ अनेक समस्यासँग जुध्दै छ । चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकार कोरोना भाइरससँग कसरी मुकाबिला गर्ने भन्ने गम्भीर चिन्तनमा डुबेको छ साथै कोरोना भाइरसको असर पत्ता लगाउन, यसबाट मुक्ति पाउन र दीर्घकालीन समाधानको बाटो पत्ता लगाउन जुटेको छ ।

कोरोनाको प्रभाव ‘भी(V)’ सेपमा !

सय डिग्री भन्दा माथि ज्वरो आउने, रुघा खोकी लाग्ने, श्वासप्रश्वासमा अत्यधिक समस्या हुने लक्षणले भरिपूर्ण नयाँ प्रजातिको भाइरसलाई कोरोना भाइरस भन्ने गरिएको छ । यस नयाँ प्रजातिको भाइरसको जन्म चीनको हुबेई प्रान्तको राजधानी वुहानमा भएको जनाइएको छ । कोरोना भाइरस सङ्क्रमण कसरी हुन्छ भन्ने यकिन जानकारी छैन। वर्तमान समयमा खासै उपचार नरहेको यस भाइरसले चीनमा थुप्रै मानिसको जीवन लिन सफल भएको छ । अझ खतरनाक कुरा त यस भाइरसलाई पहिलोपटक पहिचान गर्ने डाक्टर र यसको फैलावट पछी नियन्त्रणमा दिनरात एक गर्ने वुहान अस्पतालका निर्देशक नै कोरनाको शिकार भएसँगै यसको खतरापन कुनै युनिटमा मापन गर्नु हतारो हुनसक्छ । पछिल्लो समय हजारौँ मानिस भाइरसबाट सताइएका छन् । यस भाइरसले विश्वभर आतङ्क फैलाएको छ । चीनमा मात्र करिब २००० लाई आफ्नो शिकार बनाएको छ भने झन्डै ८०,००० को हाराहारीमा मानिसहरूलाई आक्रमण गरिसकेको छ । भाइरसको खतरापनलाई औल्याउदै गत १७ फेब्रुअरीमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जियाभाले दुबईमा ग्लोबल वुमन फोरमलाई सम्बोधन गर्दै भनिन, “अनिश्चितता अझै बाँकी छ। म सबैलाई सुझाव दिन्छु कि समयपूर्व निष्कर्षमा नजानुहोस्। हामी परिदृश्यहरूसँगै काम गर्छौँ, अनुमानका साथ भनेका छैनौ, १० दिनमा मलाई सोध्नुहोस् ।”

वुहान बाट V भी -आकारमा प्रभाव पार्न सफल कोरोना भाइरसले विश्वव्यापी आर्थिक वृद्धिदरमा नोक्सान पुर्‍याउन सक्ने छ । जर्जियाभाले महामारीको पूर्ण प्रभावको आंकलन गर्न “धेरै चाँडो” भएको बताइन । तर यसले पर्यटन र यातायात जस्ता क्षेत्रलाई प्रभावित गरिसकेको छ भन्ने स्वीकार गरिन । “यो भन्नु चाँडै चाँडो भएको छ किनकि हामीलाई यो भाइरसको प्रकृति के हो भनेर अझ राम्ररी थाहा छैन। हामीलाई थाहा छैन कि चीनले कत्तिको चाँडो यसबाट पार पाउने छ । हामीलाई थाहा छैन यो बाँकी ठाउँमा फैलिनेछ कि छैन ।”, उनले भनिन्।

राष्ट्रपति सी’को अग्नि परीक्षा !

चिनियाँ राजनीतिमा उदाएका राष्ट्रपति सी पछिल्लो समय विश्व राजनीतिमा सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छन् । आफ्नो आठ वर्षे कार्यकालमा अतुलनीय प्रगति सहित राजनीतिक उचाइ बढाएका राष्ट्रपति सी कोरोना भाइरसको कारण उत्पन्न नयाँ समस्याको ट्याकल कसरी गर्छन् ? के उनी यो समस्याबाट सजिलै उम्कन सफल हुने छन् ? भन्ने सवाल खडा गरिएका छन् । चीनको अर्थव्यवस्था विश्वव्यापी अर्थतन्त्रको १९ प्रतिशत रहेको वर्तमान समयमा कोरोना भाइरस र अमेरिकी व्यापार युद्धको सामना कसरी गर्छन् ? जब कि सन २००२ मा गम्भीर तीव्र श्वासप्रश्वास सिन्ड्रोम (सार्स) ले सताउँदा चीनको अर्थव्यवस्था विश्वव्यापी अर्थतन्त्रको ८ प्रतिशत मात्र रहेको थियो ।

अमेरिकासँग व्यापार तनाव घटाउँदा (सम्झौता पछाडि) चीनको प्रक्षेपणमा २०२० वास्तवमा केही सुधार हुने भविष्यवाणीलाई सही साबित गर्न राष्ट्रपति सी’को टिम कडा मेहनत गरिरहेका छन् । चिनियाँ अर्थव्यवस्था र अर्थतन्त्रलाई सूक्ष्म ढङ्गले बुझ्न सक्ने सी प्रशासन कोरोना भाइरसको मनोवैज्ञानिक आतङ्क समाप्त गर्न के कस्ता कार्यक्रम निर्माण गर्न हतारिन्छ ? त्यसको सफलताले चीनको आगामी प्रगति झल्किने छ ।

कोरोना भाइरसले २०२० मा विश्वव्यापी विकासलाई हानि पुर्‍याउन सक्दछ भन्ने आईएमएफ प्रमुखको भनाइलाई राष्ट्रपति सी’ले चीनको सन्दर्भमा कसरी बुझ्ने छन् ? विश्लेषकहरू गम्भीर छलफल गर्दै भन्छन् । चिनियाँ नेता सङ्कटबाट बाहिर निस्कने छन्, वा राजनीतिक र सामाजिक अस्थिरताको सामना गर्नेछन्। क्रोध र निराशाको बिचमा, चीनको सबैभन्दा शक्तिशाली शासकीय निकायले यस हप्ताको शुरुतिर सङ्कटको प्रतिक्रियामा “कमजोरी र कठिनाइ”लाई स्वीकार्यो। डिसेम्बरको अन्तमा पहिलो पटक पत्ता लागेको यस रोगको तीव्र प्रसारले चिनियाँ अधिकारीहरूलाई मध्य सहर र वरपरका क्षेत्रहरूलाई अभूतपूर्व तालाबन्दीमा राखेर लाखौँ मानिसहरूलाई आफ्नो घरमै बसाउन प्रेरित गर्‍यो। चीनको वुहानमा एक घातक कोरोना भाइरस प्रकोप राष्ट्रपति सी’को आठ वर्षे नेतृत्वको सबैभन्दा ठुलो परीक्षण साबित भइरहेको छ। सरकारी समाचार एजेन्सीका अनुसार बैठकको अध्यक्षता गरेका सी’ले “महामारीको फैलावट रोक्न ठोस कारबाही” गर्न आग्रह गरे र समितिको आदेश उल्लङ्घन नगर्न चेतावनी दिए। सिन्ह्वाका अनुसार समितिका सदस्यहरूले पनि प्रकोपलाई “चीनको प्रणाली र शासनको क्षमताको एउटा ठुलो परीक्षा” भनी निर्धारित गरे र भने “हामीले अनुभवको सार तयार गर्नुपर्दछ र यसबाट पाठ सिक्नुपर्दछ” ।

वुहानको तमाम परिस्थितिलाई मध्यनजर गर्दै चिनियाँ सरकारले गत मङ्गलवार राज्य परिषद्को कार्यकारी बैठक मार्फत कोरोना भाइरस प्रभावित कम्पनीहरुलाई सहयोग पुर्‍याउन केही निवृत्तिभरण योगदान र बिमा शुल्क घटाउने निर्णय गरेको छ । हुबेई प्रान्तमा रहेका कम्पनीहरूले पेन्सन ,बेरोजगार बिमा र काममा हुने चोटपटक बीमामा फेब्रुअरी देखी जूनसम्म छुट पाउने छन् । अन्य प्रान्तहरुमा साना र मध्यम उद्धोगहरुलाई विभिन्न शीर्षकमा जुनमहिनासम्म छुट दिने निर्णय गरेको छ ।

चिनियाँ मान्यता, कोरोना भन्दा खतरनाक भाइरस अमेरिकी संरक्षणवाद

कोरोना भाइरसको कारण चिनियाँ उद्योगमा काम गर्ने लाखौँ कामदारहरू बेरोजगार छन् । उत्पादन कार्य रोकिएका छन् ।अमेरिका-चीन व्यापार युद्ध नयाँ चरणमा प्रवेश गराइएको छ । समस्या संसारभर रहेका हुन्छन् । यसको वस्तुनिष्ठ समाधान खोजिनु पर्छ । “त्यहाँ अर्को प्रकारको भाइरस छ जुन चीन-अमेरिका व्यापारलाई असर गरिरहेको छ … जुन संरक्षणवाद हो। हामीले याद गर्‍यौँ कि अमेरिकाले चीन-अमेरिका व्यापारको अवरोधको रूपमा शुल्कहरू पूर्ण रूपमा चरणबद्ध गर्न रुचाएको छैन । हामी अमेरिकालाई छिटो कम गर्न वा हटाउन गम्भीर भई विचार गर्न आग्रह गर्दछौँ। यी अवरोधहरूले चीन र अमेरिकाको व्यापारलाई रोकिरहेको छ ” लियू भन्छन् । अमेरिकाले कोरोना भाइरसको प्रकोप कहीँ पनि हुन सक्छ भन्ने कुरा बुझ्नै पर्छ र यो केवल चीनको समस्या मात्र होइन विश्वव्यापी चुनौती हो, जहाँ अमेरिकाले पनि यसमा भूमिका खेल्नु पर्छ। पहिलो व्यापार सम्झौता अनुसार चीनले अमेरिकी उत्पादन र सेवाहरूको आयात आगामी दुई वर्षमा कम्तीमा २०० अरब अमेरिकी डलरले बढाउने प्रतिबद्धता जनाएको छ । तर “स्पष्ट रूपमा भाइरसको प्रकोपले चीन र अमेरिका बिच व्यापार सम्झौताको कार्यान्वयनमा अनिश्चितता ल्याउनेछ। चिनियाँ सरकारका केन्द्रीय वित्त र अर्थशास्त्र विश्वविद्यालयका प्राध्यापक लियूले भने ।

कोरोना भाइरस नियन्त्रण गर्न सूक्ष्म गतिविधि सञ्चालन

चिनियाँ बैङ्कहरू भाइरस प्रभावित क्षेत्रहरूबाट सङ्कलन गरिएको बैङ्क नोटहरू नष्ट गर्दै छन् । चीनको केन्द्रीय बैङ्कको गुन्झाउ शाखा भन्छ कि यसले अस्पताल, बजार र बसले सङ्कलन गरेका सबै बैंक नोटहरू नष्ट गर्नेछ किनकि नगद लेनदेनको सुरक्षा सुनिश्चित गर्न देशले कोरोना भाइरसको महामारीको विरुद्ध लड्छ। दक्षिणी सहरमा पीपुल्स बैङ्क अफ चाइना (पीबीओसी) शाखाका अधिकारीहरूले गत शनिवार वित्तीय समाचार पत्र क्याक्सिनले रिपोर्ट गरे कि कोरोना भाइरसको उच्च जोखिममा रहेका क्षेत्रहरूबाट सबै कागजी मुद्रा विनाशको लागि फिर्ता लिन आदेश दिए। प्रान्तमा वाणिज्य बैंकहरूले यी क्षेत्रहरूबाट बैङ्क नोटहरू अलग राख्नुपर्दछ, उनीहरूलाई कीटाणुरहित पार्नुपर्दछ र उनीहरूलाई पीबीओसीमा हस्तान्तरण गर्नुपर्दछ। केन्द्रीय बैङ्कले भनेको छ । सामान्यतया संकलीत मुद्रालाई उच्च तापक्रम वा अल्ट्राभायोलेट लाइटमा एक दिन भन्दा बढी भण्डारण गर्दै प्रयोगमा ल्याउनु जरुरी देखिन्छ ।

अन्तमा, 

आगामी केही वर्ष भित्रैमा विश्वको प्रमुख तागत बन्ने सङ्केत देखाएको चीनले कोरोना भाइरससँग लड्न परिरहेको समयमा उसको उन्नति, प्रगति केवल सीमित क्षेत्रमा मात्र रहेको आरोप समेत खेप्न विवश छ । विश्वमा एकछत्र राज गरिरहेको अमेरिकाले चीनलाई बौद्धिक चोरीको आरोप लगाउँदै व्यापार युद्ध मार्फत दु:ख दिन चाहेको कारण खोज्न र बुझ्न चाहने शक्ति बढिरहेको समयमा एउटा नवीन भाइरसको सामना गर्न आच्छु आच्छु परिरहेको विश्वले देख्दा चीन अमेरिकालाई सबै क्षेत्रमा टक्कर दिन समर्थ नरहेको सन्देश गइरहेको छ भन्नेहरू अकस्मात् हौसिएका छन् । अर्का थरी मानिसहरू चीनले अधिक तरक्की गरेकै कारण कोरोना जस्तो खतरनाक भाइरसको सामना समेत न्यून क्षतिमा सल्टाउन सफल हुँदै छ । अमेरिकी र चीन समर्थकले जे जसरी तर्क गरे पनि वर्तमान समय चिनियाँ नेतृत्व गम्भीर चिन्तनमा डुबेको छ । चिनियाँ अर्थव्यवस्थामा अस्थिरता न्यूनीकरण गर्न चीनले वित्तीय बजारमा ठुलो पैसा लगाएको कारण कोरोना भाइरस कै कारण सी प्रशासनको तरक्की रोकिने कल्पना यथार्थपरक नहुन सक्छ । यद्धपी चीनले ठुलो आर्थिक र मनोवैज्ञानिक क्षति भने लामो समयसम्म भोग्न बाध्य हुनेछ ।