कमरेडलाई मनपर्ने ‘एनिमल फार्म’ !


सुँगुरहरू मानिसजस्तो देखिन्छन् । तिनीहरू सीधा हिँड्दा कोर्रा बोक्छन् । रक्सी पिउँछन् र लुगा लगाउँछन् । सात आज्ञाहरू केवल एउटा वाक्यांशमा कण्ठस्थ पारिएका छन् । ‘सबै जनावर बराबर छन्, तर केही जनावर अरूभन्दा बढी बराबर छन् ।’ अधिकतम ‘चार खुट्टा राम्रो, दुई खुट्टा खराब भन्ने उखानलाई ‘चार खुट्टा राम्रो, दुई खुट्टा झन् राम्रो’मा परिवर्तन गरिएको छ । नेपोलियनले सुँगुरहरू र स्थानीय किसानको लागि डिनर पार्टी राखे । उनले तिनीहरूसँग नयाँ गठबन्धनको उत्सव मनाए । उनले क्रान्तिकारी परम्पराको अभ्यासलाई रद्द गरे र ‘दि मानोर फार्म’को नाम पुनर्स्थापना गरे । पुरुष र सुँगुरहरू खेल खेल्छन् । चाप्लुसी गर्छन् । एक–अर्काको प्रशंसा गर्छन् । खेलमा धोखा दिन्छन् । नेपोलियन, पिल्किङ्ग्टन र किसान एकै समयमा Ace of Spades (तासको खेल) खेल्छन् र दुवै पक्षले ठूलो झगडा गर्न थाल्छन् । कसले पहिले धोखा दियो ? जब बाहिरका जनावरहरूले सुँगुरहरू र मान्छेहरूलाई हेर्छन् । तिनीहरूबीचमा भिन्नता राख्न सक्दैनन् ।

पुरानो मेजर, स्नोबल, नेपोलियन, स्क्वलर, बक्सर, मोली, बेन्जामिन, मोसा जोन्स, फ्रेडरिक र पिल्किङ्ग्टन मुख्य पात्र बनाउँदै लेखिएको काल्पनिक उपन्यासमा १९१७ को रुसी क्रान्ति र सोभियत सङ्घको शुरुका वर्षहरूको वर्णन हुन् । पशुवाद, भिड नियम, वास्तविकताको विकृति, झुट्टा निष्ठा, राजनीतिक भ्रष्टाचारविरुद्ध कटु आलोचना गर्दै लेखिएको एनिमल फार्ममा पशुवाद वास्तवमा साम्यवाद हो । मानोर फार्म रुसको रूपक हो, र किसान जोन्स रुसी जार हुन् । पुरानो मेजर भनेको भ्लादिमिर लेनिन हो, र स्नोबल नामको सुँगुरले बौद्धिक क्रान्तिकारी लियोन ट्राटस्कीलाई प्रतिनिधित्व गर्दछ । नेपोलियन स्टालिनको पक्षमा छ, जब कि कुकुरहरू उसको गोप्य पुलिस हो । घोडा बक्सर सर्वहारा वर्ग वा कामदार वर्गको लागि खडा छ ।

रुसी क्रान्तिपछि स्टालिनको शासनलाई व्यङ्ग्य गर्दै ओर्वेलले लेखे । त्यसप्रकारको क्रान्तिले केवल मालिकको मात्र परिवर्तन हुन सक्छ । हिंस्रक षड्यन्त्रवादी क्रान्ति, जसलाई अन्जानमा शक्तिले भोकाएका जनताले नेतृत्व गरेका थिए । क्रान्तिकारीप्रति आमजनता सचेत हुँदा आमूल सुधार हुन सक्छ । सन् १९४५ को अगस्टमा इंग्ल्यान्डबाट प्रकाशित उपन्यासमा ओर्वेलले विचित्र ढङ्गबाट रुसी क्रान्ति र नेतालाई कडा व्यङ्ग्य गरे । जनावरहरूको एउटा समूहको कहानी बताउँछ जसले आफ्नो किसानको विरुद्ध विद्रोह गर्दछ, एउटा समुन्नत समाज सिर्जना गर्ने आशामा जहाँ पशुहरू बराबर, स्वतन्त्र र खुसी हुन सक्छन् । अन्ततः विद्रोहलाई धोका दिइन्छ र नेपोलियन नामको सुँगुरको तानाशाही शासनको अन्तमा पहिलेको जस्तै खराब अवस्थामा पुग्दछ । फार्ममा मानवविरुद्ध एकजुट गरेर पशुलाई मानवको खराब बानी पछ्याउनबाट रोक्ने क्रममा राखिएको थियो । कमान्ड्सको संशोधनको माध्यमबाट ओर्वेलले देखाए कि कसरी राजनीतिक अल्पमतलाई खराब प्रचारमा रूपान्तरण गर्न सकिन्छ ।

ओर्वेलका अनुसार यो कथाले घटनाक्रमलाई प्रतिविम्बित गर्दछ जुन १९१७ को रुसी क्रान्ति र त्यसपछि सोभियत सङ्घको स्टालिनवादी युगमा शुरु भयो । ओर्वेल, एक प्रजातान्त्रिक समाजवादी, जोसेफ स्टालिनको आलोचक थिए र मस्को निर्देशित स्टालिनवादको विरोधी थिए । यस्तो धारणा स्पेनको गृहयुद्धको क्रममा उनको अनुभवले आलोचनात्मक रूप लिएको थियो । ओर्वेलले एनिमल फार्मलाई स्टालिनको विरुद्ध व्यङ्ग्यात्मक कथा भनेर वर्णन गरे । ‘जसमा उनले राजनीतिक उद्देश्य र कलात्मक उद्देश्यलाई एकै ठाउँमा फ्युजन गर्न’ के गर्दै थिए भन्ने कुरामा सचेतताका साथ पुस्तक लेखेका थिए ।

‘व्यङ्ग्य’ र ‘एक समकालीन व्यङ्ग्य’लाई ओर्वेलले नोभेम्बर १९४३ र फेब्रुअरी १९४४ को बीचमा लेखेका थिए । जब बेलायतले नाजी जर्मनीविरुद्ध सोभियत सङ्घसँगको युद्धकालमा गठबन्धन गरिरहेको थियो र बेलायती जनता र बुद्धिजीवीहरूले स्टालिनलाई उच्च सम्मानमा राखेका थिए । रुसमा १९१७ को कम्युनिस्ट क्रान्तिपछि पुँजीवादी वर्ग प्रणालीलाई उखेल्नुको सट्टा क्रान्तिले यसलाई अर्को पदानुक्रमको साथ बदल्यो । सत्तामा रहेका मानिसहरूले भाषालाई आफ्नै फाइदाका लागि चलाउँछन् भन्ने ओर्वेलको मान्यता विशिष्ट ढङ्गले स्थापित हुन पुग्यो ।

०२८ सालमा झापाली कमरेडहरूले ओर्वेलको एनिमल फार्म सायद पढ्न भ्याएका थिएनन् । झापापारि दार्जिलिङसम्म आइपुगेको चारुको किसान आन्दोलनको हावाको प्रभाव तत्काल झापामा पोखिँदा आलाकाँचा कमरेडहरूले ‘सामन्ती’ काटेर ‘साम्यवाद’ ल्याउने सपना देखे । सत्ता र शक्ति नबुझेका उनीहरू पञ्चायतको चर्को दमनको फन्दामा परे । करिब समाप्त नै पारिएको झापा आन्दोलनको झिल्को बुर्जुवा शिक्षालाई बहिष्कार गर्ने ठिटाहरूले गाउँगाउँ पुऱ्याइदिए । जनताको घरआँगनमा विद्यार्थी र गायककारहरूले पुऱ्याएको सन्देश सोझासीधा जनताले सत्य मान्न राजी भए । भोको पेट र दमित इच्छा लुकाउँदै भूमिगत राजनीति गर्ने कमरेडहरूले सामन्तवादको अन्त्यको निम्ति गरेका तमाम राजनीतिक, गैरराजनीतिक घटनालाई जनताले जायज मानिदिए ।

आफ्नै विचार र सिद्धान्त स्थगित गर्दै जसरी पनि पञ्चायत फाल्ने आन्दोलनको सफलताले कमरेडहरूलाई संसद्वादी बनाइदियो । संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर बाख्रीको मासु बेच्ने पसल मान्ने कमरेडहरू आफैँ मासु बेच्न तम्सिए । मासु खान नपाउने जति कथित जनयुद्धको नाममा विदेशीको मोहरा बन्दै लुटपाट, हिंसा र हत्याको व्यापार गर्न राजी भए । अन्ततः सामन्तवादलाई समाप्त गरेको उन्मादमा ‘दलाल पुँजीवाद’सँग मितेरी गाँस्दै नवसामन्तवादी बनेर देखापरे । अक्टोबर क्रान्ति गर्न नसके पनि संसदीय क्रान्ति गर्न सफल कमरेडले पार्टी र कार्यकर्तालाई एनिमल फार्ममा रूपान्तरण गर्न नरुचाउने भएन । स्टालिन बन्न चाहने तर परिस्थितिले त्यस्तो इजाजत नदिने हुँदा जबजको सफल नाटक मञ्चन गर्दै नयाँ सिद्धान्त प्रतिपादन गर्न हतारिए ।

राजनीतिक परिवर्तनको नाममा लाखौँ युवाको सुन्दर भविष्यसँग गम्भीर खेलबाड गर्दै जनताका छोराछोरीलाई आन्दोलनमा प्रयोग गर्ने कमरेडले विश्व कम्युनिस्ट आन्दोलनबाट भन्दा सत्ताबाट सिक्न हौसिएका छन् । कमरेड भन्ने गर्थे, ‘खेलपूर्व नियम बनाइनेछ । खेलको बीचमा नियम परिवर्तन गरिनेछैन । तर, यो नियम मलाई लाग्दैन ।’ जर्मनीको विरोध गर्दा स्टालिन चम्केको राम्रोसँग बुझ्ने कमरेड भारतको विरोध गर्दै सिंहदरबार पुगे । सबैलाई बराबरी गरिनेछ, तर आफूलाई अलि बढी बराबरी गर्ने खेलको निम्ति आफ्नै सहयोद्धाहरूको चीरहरण गर्दैछन् । संसदीय क्रान्तिले केवल मालिकको मात्र परिवर्तन हुन सक्छ भन्ने गुरुमन्त्रलाई अत्यन्त मन पराउने कमरेडले ओर्वेलको कल्पनालाई विपना बनाउन मरिहत्ते गर्दै छन् । फलस्वरूप मुलुकका साधन र स्रोतको चरम दुरुपयोग गर्दै भ्रष्टाचारको स्थायी नेटवर्क बिछ्याउन लाग्दै छन् । भक्त, सेवक र दासहरूको सञ्जाल खडा गर्दै लोकतन्त्रको सतित्व हरण गर्दै पार्टीलाई एनिमल फार्ममा बदल्न अन्तिम कोसिस गर्दै छन् ।

नगद र कुर्सीको निम्ति गरिने विचित्र किसिमको सौदाबाजीलाई महान् कार्य भन्ने–भनाउने पछिल्लो गतिविधि कमरेडले पाँच हजार मारेको सगौरव घोषणा गर्ने अर्का कमरेडसँग सौदाबाजी गर्दै पुष्टि गरिदिएका छन् । विधान र विधि भन्ने सुन्नासाथ आफ्नोविरुद्ध राजनीतिक ‘कु’ हुन लागेको महसुस गर्ने कमरेडको कार्यकालमा केन्द्रीय समिति भन्ने निकाय विवाहित महिलाको सिउँदोमा राखिने ‘सिन्दूर’ जस्तो बनाइएको छ । आफ्नो भजनमण्डली लिएर केरुङ पुग्दा ‘जबज’को अभ्यास हुने, तर त्यस्तै किसिमको भेटघाट भैँसेपाटीमा हुँदा आफ्नोविरुद्ध राजनीतिक ‘कु’को तयारी गरिएको मान्ने कमरेडको मानसिकता ओर्वेलको ‘पशुवाद’सँग ठ्याक्कै मेल खान्छ ।

लोकतन्त्र प्राप्तिको निम्ति गरिएका अवैधानिक गतिविधिको कानुनी निकास निकाल्ने, जान-अञ्जानमा गरिएका रणनीतिक गडबडीको राजनीतिक समाधान खोज्नु, लोकतन्त्रको विश्वव्यापी मूल्य र मान्यतालाई संस्थागत गर्न स्वयम्ले राज्य र कानुनसँग सम्झौता गर्नुपर्नेमा खोजी–खोजी दण्डहीनतालाई मलजल गर्ने कथित अराजनीतिक गतिविधि कमरेडको ‘एनिमल फार्म’मा सामान्य बन्दै छ । कमरेडको राजमा झुट्टा निष्ठा र राजनीतिक भ्रष्टाचारको जगजगी छ । नागरिकको सपना हेर्न भ्युटावर निर्माण गरिँदै छ । राजनीतिले बिरलै प्राप्त गर्ने बहुमूल्य समय ख्यालख्याल र ठट्टामा फालिएको छ ।

कुस्मामा रेल स्टेसन, हनुमाननगरमा पानीजहाज र आफू जन्मेको गाउँमा तपाईंलाई म्युजियम बनाउन कति सफलता मिल्यो ? वाइडबडी घोटाला, ३८ क्विन्टल सुन, बालुवाटार जग्गा हिनामिना, कालापानी, लिम्पियाधुरा र लिपुलेक के हुँदै छ भनौँ भने ‘मेरो पालामा भएको हो र ?’ भन्ने रेडिमेड जवाफ सुन्नुपर्ने हुनाले त्यतातिर कष्ट नगर्ने निधो गरियो । आफूलाई मित्रराष्ट्रबाट आएको चिट्ठी नदिएको भन्दै ६ महिनाभित्र मुलुकवासीलाई विष खान रोक्ने वाचा सोध्न पनि जाँगर छैन । साथै नयाँ युगको सुरुवात, बिजुली बस, घरघरमा ग्यासको पाइपलाइन सायद उनले बिर्सिसकेको हुनुपर्छ ।

मुलुकमा समृद्धि ल्याउन होली वाइनको स्वागत अनिवार्य थियो । भारतीय आइफा अवार्ड टुँडिखेलमा सम्पन्न गर्न एक अर्ब दिन नसकेको कारण समृद्धि आउन सकेन भन्ने नवीन विचार कमरेडले ओर्वेलको किताबबाट सापटी लिएको हो कि भन्ने शङ्का मुटु नभएका सम्पादकहरूले गर्दै छन् । लोकतन्त्र र पार्टीलाई एनिमल फार्म बनाउन उत्तराधिकारीको खोजीमा रहेका कमरेडलाई अत्यन्त मनपर्ने ओर्वेलको व्यङ्ग्य जहाँ पशुहरू बराबर स्वतन्त्र र खुसी हुन सक्छन् भन्ने भनाइलाई कमरेडको कार्यकालमा मुलुकले कसरी लिन्छ ? थप उत्सुकता बढ्दै छ ।