हेपिएर बस्ने कि नेपाल बनाउने ?


- दीपेन्द्र पाण्डे

गत डिसेम्बर २३ तारिखमा सिड्नीबाट प्रकाशित हुने सिड्नी मर्निङ हेराल्डले नेपाल र नेपाली विद्यार्थीको मानमर्दन गर्दै समाचार प्रकाशित गर्‍यो । एक अनौपचारिक तथ्याङ्क अनुसार अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्दै रहेका करिब ६५ हजार विद्यार्थीको मानमर्दन गर्ने प्रतिवेदनमा अष्ट्रेलियाका अग्रणी शिक्षा विज्ञहरूले दिएको चेतावनी भन्दै नेपाल र नेपालीको अपमान गरिएको छ। अष्ट्रेलियन नेशनल युनिभर्सिटीका प्रोफेसर एन्ड्रयु नोर्टनको धारणा भन्दै प्रकाशित चेतावनीमा उल्लेख गरिएको छ, जहाँ नेपाली विद्धार्थीको वृद्धिबारे चिन्ता व्यक्त गरिएको छ । नेपाली विद्यार्थीहरू अष्ट्रेलियामा पढ्न पाउने वास्तविकता सम्भव छैन र उनीहरूको शिक्षण खर्च तिर्न शोषणको काममा संलग्न छन्। यससँगै सिड्नी युनिभर्सिटीका एसोसिएट प्रोफेसर साल्भाटोर बार्बोन्सले भने, नेपाली विद्यार्थीलाई रातो झन्डा देखाउनु पर्छ । उनले युनिभर्सिटी र सरकार गरिब परिवारको शोषणको पक्षमा रहेको आरोप लगाए । अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरूसँग नेपालको समस्या यति खराब छ कि अष्ट्रेलियालीहरू समेत चिन्तित छन् भन्ने प्रोफेसर नोर्टन र साल्भाटोरको धारणाले सिड्नी हेराल्डमा स्थान पाएसँगै नेपाली विद्यार्थीहरू तरङ्गित हुन बाध्य भएका छन् ।

पछिल्ला दिनहरूमा नेपाली विद्यार्थीहरूको मुख्य गन्तव्य नै अष्ट्रेलिया बन्दै छ । सिड्नी विश्वविद्यालयका प्रोफेसर नोर्टनको विचार अनुसार नेपाल एक गरिब देश हो। नेपालीको आर्थिक हैसियतले अष्ट्रेलियामा उनीहरूको अध्ययन सम्भव छैन । प्रति व्यक्ति वार्षिक आम्दानीलाई हेर्दा उनीहरू अत्यन्त गरिब छन् । नेपालीको आम्दानीलाई मध्यनजर गर्दा अष्ट्रेलिया ल्याउन उचित छैन । साथै उनीहरू कलेज फी तिर्न नसक्ने अनि काम र दामको पछि दगुर्ने गर्दछन् । प्रोफेसर नोर्टनको धारणालाई उच्च महत्त्व दिँदै सिड्नी मर्निङ हेराल्डले नेपाल र नेपाली विद्यार्थीको अपमान गर्दै प्रकाशित लेखको विरोधमा अष्ट्रेलियास्थित नेपाली राजदूतावासले अष्ट्रेलियन सरकारको ध्यानाकर्षण गराएको छ।

अष्ट्रेलियाको अर्थतन्त्रमा नेपाली विद्यार्थीले २.६ अरब डलर योगदान गरे जुन अघिल्लो वर्ष १.६ अरब डलरभन्दा बढी थियो। यस पक्षलाई नजर अन्दाज गर्दै गरिएको धारणाले अष्ट्रेलियामा नेपालीहरूको योगदानको अवमूल्यन गरिएको प्रष्ट भएको छ । अष्ट्रेलियाको शैक्षिक उद्योगमा तेस्रो ठुलो लगानी गर्ने नेपाल र नेपालीको मानमर्दन किन गरियो ? प्रोफेसर नोर्टनको धारणा र दाबीलाई सिड्नी हेराल्डले किन प्राथमिकतासाथ स्थान दियो ? औपचारिकतामा विरोध जनाए पनि नेपालको वास्तविक हैसियत र अष्ट्रेलिया मोहको पछाडि के कस्ता कारण लुकेका छन् ? प्रोफेसर नोर्टनको दाबीलाई अस्वीकार गर्न हतारिए पनि नेपाल र नेपाली विद्यार्थीको वास्तविक हैसियत कस्तो छ ? के साँच्चीकै नेपाल गरिब छ ? भन्ने गम्भीर सवाल एकसाथ खडा भएका छन् ।

नेपाली वृहत् शब्दकोश अनुसार गरिब भन्नाले धन सम्पत्ति केही नभएको, निर्धन, निर्धो, दरिद्र, कङ्गाल, गरिप, दीनहीन, दुखी भन्ने पाइन्छ । अष्ट्रेलियन सरकारले बनाएको मापदण्ड पुरा गर्दै अध्ययनको सिलसिलामा अष्ट्रेलिया पुगेका करिब ६५ हजार विद्यार्थीको हैसियत प्रोफेसर नोर्टनको धारणा वृहत् शब्दकोशको गरिब शब्दसँग मेल खान्छ त ? यदि खान्छ भने नेपाली विद्यार्थीलाई किन स्वागत गर्‍यो ? खाँदैन भने नेपाल र नेपाली जनताको अपमान गर्ने कार्यलाई अष्ट्रेलिया सरकारले छाडा छोड्न मिल्छ ? भन्ने गम्भीर अवस्था अष्ट्रेलियावाशी नेपाली समुदाय सामु उपस्थित भएको छ ।

नेपाली विद्यार्थीलाई अपमान गरिरहेको समयमा प्रोफेसर नोर्टनले आफ्नै मुलुक पढ्न बिर्सिएका छन् । के अष्ट्रेलियन नागरिकहरू गरिब छैनन् ? उनीहरू सम्पूर्ण रूपले सम्पन्न छन् ? अष्ट्रेलियामा माग्ने , घरबार विहीन , चोर , फटाहा छैनन् ? सरकारले सम्पूर्ण नागरिकलाई सबै क्षेत्रमा समान अधिकार सहितको व्यवहार गरेको छ ? साथै केवल आर्थिक र भौतिक सम्पन्नता मात्र सबै हो ? दुई चार जना धनी मानिसको सम्पतिलाई जनसङ्ख्याले भाग गर्दै सम्पूर्ण जनतालाई धनी वा गरिब बनाउने राजनीतिक सिस्टम नै सबै कुराको मानक हुन ? सांस्कृतिक , युवा जनशक्ति , प्राकृतिक स्रोत र साधन , प्राचिन सम्पदा र भौतिक संरचना , भाषा , विविधता , प्राकृतिक सौन्दर्य, देशको इतिहास , कला , साहित्य , सामाजिक बनौट जस्ता कुरामा नेपाल भन्दा अस्ट्रेलिया गरिब छ कि छैन ? गरिबीको मापदण्ड केवल आर्थिक मात्र हो ? वा के हो ? हाम्रा पुर्खाले आफ्नै बलबुतामा निर्माण गरेका सम्पन्नता भत्काउँदै , आफै अरूको दासत्व स्वीकार गरेको कुरा बिर्सदैं नेपाल र नेपालीको अपमान गर्ने प्रोफेसर नोर्टनको विचार आलोच्य मात्रै होइन निन्दनीय समेत छ ।

युवा युवतीको विदेश रोजाई अध्ययनको लागि मात्र नभएर विश्वलाई हेर्नु पनि हो। नयाँ ठाउँहरू अन्वेषण गर्ने र भ्रमण गर्ने युवा युवतीको चाहनाले अत्यन्त प्रभावित हुँदा उनीहरू त्यस प्रति लालायित हुँदै आइरहेका छन् । अध्ययनसँगै अनेकौँ अवसर समेत समात्न पाइने लोभ या आसामा उनीहरू त्यसतर्फ आकर्षित भएका हुन भन्न सकिन्छ । आफूलाई जस्तो सुकै परिस्थितिमा सफल बनाउन, आफैले आफ्नो क्षमताको परीक्षण र विकास गर्न साथै स्वतन्त्र, परिपक्व, अझ बढी आत्मविश्वासी व्यक्तिको रूपमा खडा हुन चाहने वर्तमान युवा युवतीको चाहनाले उनीहरू विदेश जान हतारिएका छन् ।

वर्तमान समय अष्ट्रेलिया कै कारण शिक्षित युवा मात्र हैन वैदेशिक मुद्रा समेत मुलुकबाट पलायन हुँदै छ । अध्ययनको दौरान नेपालबाट पैसा लिएर जाने, अध्ययन पश्चात् पिआर लिँदै उतै सेटल हुने नवीन रोगको कारण मुलुकले एकसाथ डबल नोक्सानी बेहोर्दै छ । अष्ट्रेलिया जाने र उतै बस्ने रहर चुलिएको कारण मुलुकमा शिक्षित जनशक्तिको कमी बढ्दै छ भने उनीहरू आफै अनेकौँ झमेलामा फस्दै छन् । वैदेशिक बसाईको क्रममा आफ्ना महत्वकाँक्षाहरु पुरा नहुँदा डिप्रेसनको सिकार हुनेको सङ्ख्या डरलाग्दो ढङ्गले बढ्दै छ । व्यक्तिगत जीवन , पारिवारिक जीवन भत्किँदो अवस्थामा छ । दुर्घटना , आत्महत्या र बेरोजगारी समेत बिस्तारै बढ्दै छ । हरेक कुरा तुलना गर्ने बानीको विकास बढ्दै गएको कारण मुलुक फर्कनेको सङ्ख्या न्यून बन्दै छ । राजनीतिक स्थिरताको वाबजुद विकासले गति लिन नसक्नु , मुलुकमा बढ्दै गरेको भ्रष्टाचार , ढिलासुस्ती राष्ट्रिय रोगको रूपमा स्थापित गरिनुले शिक्षित युवा युवती पलायन गम्भीर समस्या बनेर उदाएको छ ।

प्लस टु गरेका नेपाली युवा युवतीहरू अष्ट्रेलिया जान आँतुर छन् । यो एक कटु सत्य हो । उनीहरू अष्ट्रेलिया केवल उच्च शिक्षाको निम्ति जान लागेका हैनन् । अपवादमा बाहेक भौतिकवादी सोच र संसार बसाउन उनीहरूको रोजाई अष्ट्रेलिया बनेको हो भन्न सकिन्छ । संसारका कुनै पनि मुलुकको विकास , उन्नति र प्रगतिमा प्रमुख हात शिक्षा र युवाको हुने गर्दछ । नेपाली युवाहरू शिक्षित बन्दै अष्ट्रेलिया मै बस्न मरिहत्ते गर्ने अवस्था पछि मुलुकमा समृद्धि कसरी आउला ? हालसम्म करिब ६५ हजार दक्ष युवा अष्ट्रेलियामा रहेको तथ्याङ्कले बताई रहेको अवस्था पछि मुलुकको भविष्य कसरी अगाडि बढ्ला ? नीति निर्माताहरुलाई कुनै मतलब छैन । आफ्ना सन्तानलाई अष्ट्रेलियाको ‘पिआर ‘ लिन उकास्ने, मिल्दा आफै विदेशमा सेटल हुने राजनीतिक नेतृत्व र नीति निर्माताको अघोषित एकता झनै मौलाउँदो छ ।

अन्तमा, मुलुकको राजनीतिले शिक्षित र अर्ध शिक्षित मात्र हैन सम्पूर्ण समुदायलाई अनेक ढङ्गले पिरोलिरहेको समयमा विदेशमा रहेका नेपाली समेत अपमानित हुनु झनै चिन्ताको विषय बन्दै छ । आफ्नो कौशल , सिप , जोस , जाँगर , शिक्षा , जवानी , इमान्दारिता , लगनशीलता मात्र हैन तन , मन र धन समेत विदेशी भूमिमा खर्च र लगानी गर्दा समेत अपमानित हुनुपर्ने पछिल्लो अवस्थापछि तमाम नेपालीले गम्भीर भएर सोच्ने बेला आएको छ । । फगत आर्थिक प्रगति र भौतिक उन्नतिको पछि लाग्दा पिउन परेको तमाम पिडाबाट मुक्ति पाउन आफ्नै मुलुक बनाउनु पर्छ भन्ने पुष्टि भएको छ । विदेशमा जतिसुकै गरे पनि त्यस मुलुकले हामीलाई स्वीकार गर्दैन । आजको पुस्ता फगत भौतिकवादी सुख सुविधाको पछि लाग्दै विदेश पलायन भए पनि उनीहरूको सन्तानले पहिचानको लडाई लड्नु पर्ने अवस्था आउन नदिन आफ्नै देश निर्माणको विकल्प छैन भन्ने फेरि एक पटक प्रमाणित भएको छ ।