समाज, झुट र राजनीति


कौशल, तत्परता, विविधता मात्र होइन शारीरिक दुःखमा पनि मानसिक सन्तुष्टिसहित जीवन चलाउने निपुणतामा रमेको थियो नेपाली समाज । सहयोग, सम्मान, आदर, माया, ममता, दयाको मानवीय भावले भरिपूर्ण नेपाली समाजमाथि दुष्टहरूको आँखा लागेको छ, वर्तमानमा ! सकारात्मक राजनीति र रचनात्मक परिवर्तन मुलुकबाट गायव पारिएको अवस्थामा थिलथिलो बनेको नेपाली समाज अत्यावश्यक ‘जडुली’ औषधि खोज्नसमेत अनिच्छुक बन्दै छ । विश्वभर न्यायसङ्गत, शान्तिपूर्ण र पर्यावरण–मैत्री समाजको चाहनासहितको वकालत चलिरहेको समयमा नेपाली समाज आफ्नै विरासत जोगाउन नसक्ने अवस्थामा पुगेको छ । विगतमा मातृ, पितृ, गुरु, ऋषि-ऋणसमेत तिर्नुपर्छ भन्ने मान्यतालाई जीवित राखेको हाम्रो समाज आज आफैँले खाएको ऋणसमेत नतिर्ने अवस्थामा पुगेको छ ।

अनेक कुप्रभावको चपेटामा नेपाली समाज सत्तामुखी बन्दै छ । सोचविचारबिना राम्रा कुरा छाडिदिने, रणनीतिक चालबाजको अनुपयुक्त कुरालाई सर्वस्व ठान्ने नवीन विचार मुलुकमा विचित्रसँग हाबी गराइएको छ । व्यक्ति सबै हो । समाज केही होइन भन्ने धारणा जबर्जस्ती स्थापित गर्ने कोसिस गरिँदै छ । व्यक्तिको सत्तालाई प्रमुखता दिँदै समाजको नयाँ व्याकरण बनाउन ठूलो लगानी मुलुक प्रवेश गराइएको छ । मुलुकमा जनताभन्दा ज्यादा अभियन्ता जन्माइएका छन् । घरघरै भ्रष्टाचारविरोधी व्यक्ति र संस्था बढाउँदै भ्रष्टाचारको नौलो तरिका बीजारोपण गरिँदै छ ।

निजी विद्यालयको उत्पादन धनी मुलुकको निम्ति गरिँदै छ भने सामुदायिक विद्यालयको उत्पादन भारत, मलेसिया र खाडी मुलुकको कच्चा पदार्थ बनाइँदै छ । गाउँघर खाली गरिँदै छ । मलामी विदेशबाट ल्याउने तयारी करिब अन्तिम अवस्थामा पु¥याइँदै छ । भूमाफियाको चङ्गुलमा खेतीयोग्य जमिन परेको छ भने सरकारको उपस्थिति दयनीय बन्दै छ । कर्मचारी, राजनीति र भूमाफियाको मिलेमतोमा निर्माण गरिएका नीतिको कारण खेती गर्नुभन्दा किनेर खान सस्तो पर्दै छ । ‘नेपालीपन र वैदिक सनातन धर्म’ जोगाउन इसाईहरूसँग आर्थिक सहयोग लिनुपर्ने अवस्था सिर्जना गरिएको छ ।

समाज राम्रो खोज्दै छ । भावनामा बग्नुलाई नैसर्गिक अधिकार ठान्दै छ । समाजलाई आफ्नै हैसियत, तर्क, औचित्यतर्फ ध्यान दिने जाँगर छैन । समाजले सजिलै कसैप्रति विश्वास नगर्ने विगतलाई भुल्दै हावाको भरमा कुद्ने नयाँ रोडम्याप निर्माण गरिएको छ । जसको कारण हाम्रो भविष्य अदृश्य शक्तिको निगाहमा बाँच्न पुगेको छ । समाज पढ्नमा भन्दा सुन्नमा लालायित छ । सर्वसाधारणसमेत सामाजिक सञ्जाल र सामाजिक अभियन्तामार्फत जिउन सिक्दै छ ।

नेपाली समाज वैदिक सनातन धर्म वा आर्य संस्कृतिमा आधारित समाज हो । वैदिक कालमा महिला र पुरुषको समान अधिकार र हैसियत रहेको पढ्न पाइन्छ । वेदविज्ञ महिलालाई ब्रह्मवादिनी भन्ने हाम्रो समाज आज पश्चिमा विचारको प्रवचन सुन्न बाध्य पारिएको छ । गार्गी, मैत्रेयी, अश्वपालाजस्ता प्रसिद्ध ब्रह्मवादिनीहरूमार्फत दीक्षित महिलाहरू पछिल्लो कालखण्डमा विदेशी दानापानीमा नारी उत्थान, महिला सशक्तीकरण, नारीमुक्ति, अग्राधिकारलगायत अनेक आयातीत एजेन्डाको भरिया बनाइँदै छ । ‘जहाँ नारीहरूको पूजा हुन्छ, त्यहाँ देवताहरू पनि रमाउँछन्’ भन्ने शास्त्रलाई आँखा चिम्लँदै मध्ययुगमा उत्पत्ति भएको सामन्ती प्रथाको दोष नियोजित रूपमा वैदिक सनातन धर्ममाथि थोपर्दै छन् ।

विश्व राजनीतिमा उपादेयता गुमाइसकेका एजेन्डाहरूलाई नयाँ रङरोगनसहित नेपाली समाजमा मिसाउन हतारिएका शक्तिहरूको कारण मुलुक विचित्रको दलदलमा फसिसकेको छ । धर्म, जाति, भाषा, क्षेत्र, लिङ्ग, अभाव, कुरीति, गरिबीजस्ता विषयमा रणनीतिक ढङ्गले समाजलाई विद्रोही बनाउने, अधिकार प्राप्तिको नाममा अनिष्ट निम्त्याइँदै आफ्नो स्थान सुरक्षित गर्ने विदेशी रोगहरू मुलुकमा जरा गाड्न सफल भएका छन् । राजनीति गर्नेले मात्र होइन समाज परिवर्तनको नाममा कर्तव्य निभाउन नदिने, अधिकार मात्र माग्न प्रेरित गर्नेहरूको अनौपचारिक शासनमा समाज जकडिएको छ । ‘मानसिक दासत्व’को कारण पछि परेको समाजलाई सकारात्मक परिवर्तन गर्नुको सट्टा दिग्भ्रमित गर्ने काम सम्पन्न गरिएको छ ।

भनिन्छ, बालक र जनावरले झुट बोल्दैन । कमजोरी, नियत र स्वार्थको कारण नभएको कुरा गर्ने हाम्रो बानी छ । झुटको कारण हुन्छ । अर्थात् मानिस आफ्नो सुविधाको निम्ति झुट बोल्छन् । वर्तमान वैश्य युगमा झुटको फैलावट नियन्त्रण बाहिर जाँदै छ । राजा युधिष्ठिरदेखि भगवान् कृष्णले समेत झुट बोलेको भन्दै झुटलाई संस्थागत गरिँदै छ । व्यक्ति र समाजले वैश्य युगमा झुटसँग विचित्रको नाता गाँसेका छन् । राजनीतिले मानिसलाई मात्र होइन भगवान्लाई समेत झुट बेच्दै छ । लोकतन्त्रमा विरोध प्रदर्शन सामान्य मानिए पनि बाध्यात्मक बन्नु अत्यन्त दुःखद मानिन्छ । निर्वाचनको सफलतापछि बन्द हुने सत्ताको कान खोल्न प्रदर्शन अनिवार्य मानिन्छ । परिष्कृत लोकतन्त्रमा ‘आफ्नो लागि आफैँ’ लडाइँ लड्ने मान्यता स्थापित भएको मुलुकमा सामान्य कुरामा चुक्दा सरकार प्रमुखले कुर्सी त्याग्न बाध्य हुन्छन् । जसको पछिल्लो उदाहरण फिनल्यान्डका प्रधानमन्त्री बनेका छन् । फिनल्यान्डका प्रधानमन्त्रीले ‘पोस्टल स्ट्राइक’को बारेमा संसद्लाई गुमराहमा राखे । उनको झुट छोटो आयुको बन्न पुग्यो । उनले सजिलो बाटो रोजे । प्रधानमन्त्री एन्टी रिनेले झुटलाई निरन्तरता दिँदै बदनाम हुनुको सट्टा राजीनामाको बाटो रोजे ।

सिद्धान्त र नैतिकता नै सबैभन्दा ठूलो मान्नेहरूसमेत मौका मिल्दा झुट बोल्ने राजनीतिमा हाम्रोजस्तो लोकतन्त्रको ‘अक्सिजन’ झुट, धोका, षड्यन्त्र हुनु आफैँमा जायज नै मान्नुपर्ला । धोका, हिंसा र छलकपटको जगमा जन्माइएको हाम्रो लोकतन्त्रमा ‘सुन्दर पक्ष’ बनेर स्थापित झुट जनताको प्रिय वस्तु बनिसकेको छ । निर्वाचन जित्न र सरकार बनाउन सबैभन्दा बढी बोलिने विषय नै झुट हो भन्ने जान्दाजान्दै जनता त्यही सुन्न र पत्याउन राजी भएको अनगिन्ती प्रमाण भेटिन्छन् । राजनीतिको सुरुवात नै झुटबाट हुने मुलुकको लोकतन्त्रमा फिनल्यान्डको कहानी अनौठो, अनुपयुक्त र हास्यास्पद नै मान्नुपर्ला !

राजनीति झुटबाट महाझुटतिर लम्कँदै छ । समाज र सामाजिक सञ्जाल तात्ने र सेलाउने गर्नमै व्यस्त छन् । राजनीतिक पार्टी झुटमा बिउँझिन्छ । दिनभर झुट बेच्छ । अनि झुटमै निदाउँछ । मन्त्रीहरू हरेक माइकको अगाडि झुट पस्कन्छन् । स्रोताहरू झुट सुन्दै झुटो हाँसो हास्छन् । काठमाडौंका खाल्डाखुल्डी १५ दिनभित्र पुरिने, दसैँअगाडि मेलम्ची घर–घर आउने, काठमाडौं धुवाँधुलो मात्र होइन मास्कमुक्त हुनेछ । भ्रष्टाचारीको अनुहार हेरिनेछैन । सुखी नेपाली र समृद्ध नेपाल झुटको जगमा जवान बनाइनेछ । रेल, पानीजहाज, कालापानी, लिपुलेक, लिम्पियाधुरा, फास्ट ट्र्याक, निजगढ विमानस्थलले समेत झुटमा बाँच्न सिकिसकेको छ । यति धेरै झुट बोलिएको छ कि ‘राजनीति झुटो कि झुटचैँ राजनीति’ भन्ने छुट्याउन मुस्किल भइसकेको छ । तैपनि लोकतन्त्रको विकल्प लोकतन्त्र भने जस्तो ‘झुटो राजनीतिको विकल्प पनि झुटो राजनीति’नै भन्ने मान्यता स्थापित गरिएको छ ।

समाज र राजनीतिमाथि आलोचना अब बौद्धिक मानिसको कब्जामा नरहेको पछिल्लो उदाहरण हामीसँग उपलब्ध छ । भारतमा चर्चित निर्भया बलात्कार काण्डका दोषीमध्ये एक अक्षयकुमार सिंहले सुप्रिम कोर्टमा फासीको खिलाफ गरेको अपिलमा उठाएको तर्क गम्भीर र सोचनीय छ । अक्षय सिंहलाई दिल्ली हाइकोर्टले दिएको फासीको फैसलालाई सुप्रिम कोर्टले सदर गरेसँगै अदालतको आदेशलाई पुनर्विचार गर्न गरिएको निवेदनमा बलात्कारी सिंहले तर्क गरेका छन् । वेद, पुराण र उपनिषदमा मानिसहरू हजारौँ साल जीवित रहन्थे । त्रेता युगमा समेत मानिस हजार साल जिउन सफल भए । तर, कलियुगमा मानिसको उमेर ५०–६० वर्षमा सीमित भएको छ ।

जब मानिस आफ्नो सोच र परिस्थितिको उल्टो हिँड्न मजबुर हुँदै छ भने ऊ केवल एक जीवित लाससिवाय केही रहेको छैन । राजधानी दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा छ । दिल्ली ग्यास च्याम्बरमा परिणत भएको छ । साथै यहाँको पानी विषाक्त छ । जब खराब हावा र पानीको कारण पहिले नै उमेर घट्दै छ भने फासीको जरुरत किन ? सिंहको तर्क छ ।

अन्त्यमा, बेथितिको जगमा खडा गरिएको लोकतन्त्रमा समाजले कहिल्यै सोच्दैन । के उसलाई रिसाउने अधिकार छ ? नकारात्मकताको अभ्यास गर्न समाज र राजनीतिबीच अघोषित प्रतिस्पर्धा चलिरहेको समयमा मुलुकको राजनीति ‘खरी झरेको मादल’जस्तो ‘ताल र सुर’ नमिल्दा पनि बजिरहेको छ । राजनीति, प्रविधि, खाद्यान्न, औषधि मात्र होइन सर्वचिज आयात गर्ने हाम्रो मुलुक ‘अक्षय सिंहको दिल्ली’ बनाइएको छ । भत्किएको समाज, भ्रम र झुटमा मौलाएको राजनीतिले देश र जनताको अवमूल्यन गरेको गर्‍यै छ । हरेक क्षेत्रमा घोलिएको ‘विष’ पिउन मजबुर जनतालाई ‘समृद्धिको’ सपनामा जीवित राखिएको छ । फलस्वरूप मुर्छित सपनाको राजनीतिमा रमाउँदै नगरेको गल्तीको सजाय भोग्ने कि अर्थपरक जीवन जिउन सङ्घर्ष गर्ने ? रोज्ने समय आएको छ ।