लोकतन्त्र, ओलीगार्की र सुशासन


- दीपेन्द्र पाण्डे

मिडियाले पछिल्लो समय लोकतन्त्रको अनुहार चम्काउने समाचार फेला पार्न सकेको छैन । बाटोको अनुगमन गर्न जाँदा स्थानीयले पूर्व प्रधानमन्त्रीलाई घेर्न बाध्य भएको समाचार सर्वसाधारण जनताले नमिठो मान्दै सुन्न विवश छन् । प्रधानमन्त्री रोगी शरीर लिएर मुलुकवाशीको सेवा गर्ने भन्दै ठेक्का सम्झौता नविकरण गर्न हतारिएको खबर आएको छ । गोकर्ण रिसोर्टले प्रयोग गर्दै आएको २८ रोपनी जग्गा कौडीको भाउमा २५ वर्षको लागी भाडामा दिएको हतारोले मुलुकको लोकतन्त्र र सुशासन ओलीगार्कीको मुट्ठीमा पुगेको हल्ला व्यापक छ ।

हरेक मानिस, निकाय, जात, धर्म र क्षेत्रले आफ्नै ढङ्गले बुझ्दै अर्थ लगाउन मिल्ने लोकतन्त्र नेपालमा ल्याइएको छ । सामान्य रूपमा हेर्दा लोकतन्त्रमा जनता सर्वोपरि हुनु पर्ने हो । परिष्कृत लोकतन्त्रमा सरकारका निर्णयहरू जनताको सल्लाह, दबाब र जनमतका आधारमा गरिन्छ। राजनीतिक शक्तिलाई जनताको नासो सम्झिँदै सुरक्षित राख्ने लोकतन्त्रले जनताको अधिकारको सुरक्षा कहिल्यै भुल्दैन। निष्पक्ष न्यायालय, कानुनको शासन, विभिन्न राजनीतिक दल तथा दबाब समूहको उपस्थितिलाई सकारात्मक ठान्दै अगाडि बढ्ने लोकतन्त्र नेपाल र नेपालीले अनेकौँ त्याग र बलिदानपछि पनि पाउन कठिन हुँदै गएको छ।

प्रत्येकको एक मत हुन्छ र हरेक मतको एक र बराबर मूल्य हुन्छ भनिने लोकतन्त्रमा अन्तिम निर्णय लिने शक्ति जनताबाट चुनिएका जन प्रतिनिधिहरूले उपभोग गरिरहेका हुन्छन् । लोकतान्त्रिक सरकार अरू सरकार भन्दा बढी जनता प्रति उत्तरदायी हुन्छ साथै यसको निर्णय लिने तरिका र प्रक्रियाको कारण गुणस्तरमा सुधार हुन्छ भन्ने मानिँदै आएको छ । भनिन्छ, लोकतन्त्रले नागरिकहरूको मर्यादा बढाउँछ। साथै लोकतन्त्रले नागरिक र सरकारलाई आफ्नो गल्ती सच्याउन अनुमति दिन्छ।

हाम्रो मुलुकमा नेताहरू आफ्नो स्वार्थको लागी लोकतन्त्रको मूल्य र मान्यता माथि खेलवाड गर्नुलाई आफ्नो नैसर्गिक अधिकार ठान्छन् । जसले अस्थिरतालाई निम्त्याई रहेको छ। लोकतन्त्रमा राजनीतिक प्रतिस्पर्धा शक्ति प्राप्तिको निम्ति हो । त्यसैले नैतिकताको यहाँ कुनै स्कोप छैन । साधारण व्यक्तिहरूलाई थाहा हुँदैन उनीहरूको लागि के राम्रो हुन्छ । फास्ट ट्रयाकबाट सबैकुरा प्राप्त गर्न चाहिरहेका जनताहरू लोकतन्त्र विश्वकै महँगो, अल्छी र कुरौटे व्यवस्था हो भन्ने बुझ्न चाहँदैनन् । लोकतन्त्रले निर्णय प्रक्रियामा पुग्न ढिलाइ पुर्‍याउँछ । किनकि धेरै विभाग र मन्त्रीहरूको स्वीकृति आवश्यक पर्दछ। छानिएका नेतालाई मानिसहरूको चासो थाहा छैन। यसले खराब निर्णयहरू निम्त्याउँछ। जसरी पनि जित्नु पर्ने लोकतन्त्रले भ्रष्टाचार निम्त्याउँछ किनकि यो चुनावी प्रतिस्पर्धामा आधारित छ।

लोकतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण कुरा देशको स्रोत र साधनको वितरण कसरी हुन्छ वा गरिन्छ ? भन्ने नै हो । अभिव्यक्तिको स्वतन्त्रता जसले हामीलाई निर्णयकर्ताको गल्तीको आलोचना गर्ने अनुमति दिन्छ तर आलोचना गर्न सक्षम हुनु नै सही निर्णय गर्न सक्षम हुनु हो भन्ने मान्दैन । उत्तम निर्णयहरू सबैभन्दा राम्रो जानकारीको साथ गरिन्छ भन्ने लोकतान्त्रिक मान्यता हाम्रो लोकतन्त्रमा बोझ मानिन्छ ।

ओलिगार्की ग्रिक शब्द हो। जसको अर्थ ‘थोरै’ हुन्छ । अर्थात् थोरै मानिसले ‘शासन गर्नु वा आदेश दिनु’ हुन्छ । यो शक्ति संरचनाको एक रूप हो। जसमा शक्ति थोरै मानिससँग टिकेको हुन्छ। यी व्यक्तिलाई कुलीन, धन, शिक्षा वा कर्पोरेट, धार्मिक, राजनैतिक वा सैन्य नियन्त्रणद्वारा छुट्ट्याउन सकिन्छ। त्यस्ता राज्यहरू प्रायः परिवारहरूद्वारा नियन्त्रित हुन्छन् जसले सामान्य रूपमा एक पुस्ता देखि अर्को पुस्तामा उनीहरूको प्रभावलाई स्थापित गरिन्छ । उत्तराधिकारीको चयन गर्दा अवधिको लागि आवश्यक सर्त राखिँदैन ।

इतिहासभरि, ओलिगार्कीहरू निरङ्कुश थिए र जनताको आज्ञाकारिता वा अस्तित्वको दमनमा भर परिरहे। जसको स्थानमा आज सबैभन्दा बढी प्रयोग हुने अर्को शब्द बहुमतवाद हो । २० औँ शताब्दीको शुरुमा रोबर्ट माइकलले यो सिद्धान्त विकास गरे कि प्रजातन्त्रमा ठुला सङ्गठनहरू ओलिगार्कीमा परिणत हुन रुचाउँछन् । “ओलिगार्कीको फलामको कानुन”मा उनले सुझाव दिएका छन् कि ठुला सङ्गठनहरूमा श्रमको आवश्यक विभाजनले शासक वर्गको स्थापना गर्दछ जुन प्राय उनीहरूको आफ्नै शक्तिको सुरक्षामा सम्बन्धित हुने गर्छ ।

ओलीगार्कीको प्रमुख विशेषता अल्पमतको शासन हो । आर्थिक अभिजात वर्ग र व्यवसायीक हितको प्रतिनिधित्व गर्ने समूहहरूले सरकारको नीतिमा ठोस प्रभाव पार्छ, जबकि औसत नागरिक र जन-आधारित रुचि समूहको स्वतन्त्र प्रभाव हुँदैन। मुलुकमा धनी व्यक्ति र व्यवसायीक हितको प्रतिनिधित्व गर्ने संस्थाहरूको राजनीतिक प्रभाव पर्याप्त छ, जबकि औसत नागरिकहरू विचित्रको शासन भोग्न विवश छन् ।

जर्मन समाजशास्त्री रोबर्ट माइकलले पहिलोपटक सन १९११ मा ओलीगार्कीको असली तागत र रुपलाई व्याख्या गरेका छन्। माइकलको थ्योरीमा भनिएको छ कि सबै जटिल सङ्गठनहरू जतिसुकै प्रजातान्त्रिक भए पनि अन्ततः ओलीगार्कीमा विकसित हुन्छन् । माइकलले भने कि कुनै पनि ठुलो र जटिल सङ्गठनले प्रत्यक्ष लोकतन्त्रको रूपमा काम गर्न सक्दैन, त्यसैले सङ्गठन भित्रको शक्ति जहिले पनि त्यस समूहका व्यक्तिलाई सुम्पिनेछ । माइकलको तर्क छ कि नेतृत्वको पदलाई उत्तरदायी बनाउने प्रजातान्त्रिक प्रयासहरू असफल हुने सम्भावना हुन्छ, किनकि शक्तिसँगै बफादारीलाई इनाम दिने क्षमता, सङ्गठनको बारेमा जानकारी नियन्त्रण गर्ने क्षमता र निर्णय लिने बेलामा सङ्गठनले पछ्याउने प्रक्रियाहरू नियन्त्रण गर्ने क्षमता आउँछ।

व्यापारी र स्वार्थ समूहसँग नाजायज सम्बन्ध स्थापित गर्दै उनीहरूको आर्थिक, भौतिक सहयोगमा सङ्गठन कब्जा गर्ने र सङ्गठनको तागतमा सरकारी सत्तामा पुग्ने खेल लोकतन्त्रको जगमा सम्पन्न गरिदा ओलीगार्कीको अभ्यास गर्ने अवसर प्रधानमन्त्री ओलीलाई प्राप्त भएको छ । अभिजात र कुलिन वर्गको सेवा गर्ने र उनीहरूको शैलीमा जीवन गुजार्न लोकतन्त्रमा ओलीगार्की सिद्धान्तको सफल अभ्यास हुँदै छ । आफ्नो लहड, रुचि , चाहनाको अगाडि पार्टी, विधि, नीति, नियम, सबै नतमस्तक हुने विचित्रको अवस्था पछि सबै क्षेत्रमा भक्त, सेवक र नालायकहरूलाई पुरस्कृत गरिदैं छ । अख्तियार, अदालत, कर्मचारी प्रशासन, प्रहरी मात्र हैन अभियन्ता, मिडिया र दलालहरूसम्म आफ्नै मानिसको घेरा तयार गरिदैं छ । यस्तो अवस्थामा लोकतन्त्र कसरी हुर्कँदै छ ? भन्ने बुझ्न माइकलको किताब काफी छ ।

लोकतन्त्रको रणनीतिक आगमनसँगै मुलुकमा घटाइएका भद्धा मजाक लोकतन्त्रको अनुहार कुरूप बनाएको गर्व गरेर बस्दै छ । एउटा सामान्य ठेकेदारले पूर्व प्रधानमन्त्रीको खिल्ली उडाएको सडक अझै बन्न सकेको छैन । क्रमभंग, छलाङ, क्रान्ति सम्पन्न गरेर जंगलबाट सिंहदरबारको यात्रा पुरा गरेका दुई पटके पूर्व प्रधानमन्त्री किन अनसन बस्छु भन्न विवश छन् ? मुलुकभर जुनसुकै घरमा वास पाउने उनी दिनरात ‘यक्ष प्रश्न’को जवाफ दिन नसकेर गन्हाएका ठेकेदार कै घरमा वास बस्दै किन बद्नाम हुन राजी छन् ? चौधवर्ष जेलमा बसेर कमाएको सम्पत्ति समेत राष्ट्रलाई दिन्छु भन्ने, हरेक बैठकमा अब एक्सनमा जान्छु भन्ने प्रधानमन्त्रीको हातखुट्टा कसले बाँधेको छ ? मुलुकको संविधान र दुई तिहाइ भन्दा शक्तिशाली सरकार सत्तामा विराजमान हुँदा पनि भ्रष्टाचार र दलालतन्त्र कसको आशीर्वादमा टिकेको छ ? ओलीगार्कीको सामान्य अध्ययन गर्नासाथ छर्लङ्ग हुनेछ ।

लोकतन्त्रलाई व्यवहारमा उतार्न अत्यन्त कठिन र पेचिलो छ। सर्वसाधारण जनताले जीवनसँग जोड्न र महसुस गर्न नपाएको वर्तमान लोकतन्त्र केवल टाठाबाठाको पेवा बनिरहेको छ । नेपाली राजनीतिको विशेषता भनेको सङ्कट आएपछि उपाय खोज्ने हो। दिगो विकासका निम्ति चाहिने विधि र सुशासनको प्रयोग भाषणमा मनग्गे सुन्न पाएपनि व्यवहारमा देख्न पाइएन। मुलुकको राजनीति पेसा र व्यवसायमा सीमित रहेन। लोकतन्त्रमा राजनीतिको अपराधीकरण र अपराधको राजनीतिलाई शुद्धीकरण गर्न प्रधानमन्त्री ओलीले जाँगर देखाएनन् । अंसख्य कुकर्मले थला परेको नेपाली लोकतन्त्रलाई सुन्दर, परिष्कृत र आधुनिक बनाउने ठुलो अवसर प्रधानमन्त्री ओलीले खेर फालेका छन् ।

नाकाबन्दी पछि उदाएका ओली कालापानी, लिपुलेक र लिम्पियाधूरा फिर्ता ल्याउँदै ‘राष्ट्रवाद देखी राष्ट्रवाद’ सम्म, ‘मुर्छित सपना देखी समृद्धि’ सम्म पुग्न चाहेनन् । लोकतन्त्रको सुन्दर पक्ष भनेको पारदर्शिता, जवाफदेहिता र सुशासन हुन् । मुखले चर्को सुशासन र व्यवहारमा ठेकेदार र अभिजात वर्गसँग लञ्च राजनीति गर्ने ओलीको विगत परिवर्तन हुने अपेक्षा निराशामा बदलिएको छ । पार्टी र सिंहदरबारको नसाले अपारदर्शी जीवनशैलीमा रमाउने ‘ओली शासन’ सुशासन र पारदर्शितालाई ‘निगाह’को वस्तु मान्ने अवस्थामा पुगेको छ । फलस्वरूप ‘मण्डेला भन्दा पुटिन’ बन्न लालायित प्रधानमन्त्री ओली स्वास्थ्य समस्याको कारण ओलीगार्कीको हस्तान्तरण गर्न लागिपरेको सङ्केत सौरभले गरिसकेका छन् ।