‘धर्मनिरपेक्षता’को धर्म !
धर्मनिरपेक्षताले राज्यसत्ता सञ्चालनमा धर्मको कुनै योगदान लिन चाहँदैन । आफ्नो जन्म हुनुभन्दा अगाडि धर्मले निर्माण गरेका उपलब्धिलाई अस्वीकार गर्न धर्मनिरपेक्षता हतारिएको प्रमाण सन् १७८९ को फ्रान्सेली क्रान्तिलाई लिन सकिन्छ । नेपालको सवालमा युरोपियन मुलुकको ‘नुन’को ‘गुन’ तिर्न बाध्य भएको राजनीतिले संविधानमा ‘धर्मनिरपेक्षता’ राज्य लेख्दै स्पष्टीकरण दिएको घटना कति दुःखदायी र लाजमर्दो छ ? भविष्यमा हिसाब–किताब अवश्य हुनेछ । सिद्धान्ततः धर्मनिरपेक्षताले ‘धर्मको जरा उखेल्न’ कुनै कसर बाँकी नराख्ने बुझ्न नसकेको नेपाली राजनीति संविधानको धारा ४ (१) मा धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म–संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भन्ने ‘केटाकेटीपन’ देखाउन विवश भएको छ ।
सहिष्णुता धर्मनिरपेक्षता राज्यको आधारशिला मानिए पनि यसले नास्तिकताको पैरवीलाई अप्रत्यक्ष ढङ्गले वकालत गर्दछ । धार्मिक विषयमा सहनशीलता, उदारता, उदात्त विचारको बखान गर्दै राजनीति नै सबै कुरा हो भन्ने मान्न बाध्य बनाउँछ । धर्मलाई दैनिक सामाजिक, राजनीतिक तथा शासकीय जीवनस्तरबाट पृथक राख्ने धर्मनिरपेक्षताको मूल सिद्धान्तले धर्म र राजनीतिलाई एक–आपसमा मिलाउन इन्कार गर्छ । धर्मनिरपेक्षताले आममानिसको दिमागलाई दूषित बनाउँछ । व्यक्तिगत सफलताको निम्ति धर्म र समाजले स्थापित गरेका भावना, मूल्य र मान्यतालाई हाँसी–हाँसी लत्याउन मरिहत्ते गर्छ । साथै विभाजन र भ्रमलाई बढावा दिँदै विरोधाभासमा खेल्न रुचाउँछ ।
स्टालिनवाद, नाजीवाद, समाजवाद र नास्तिकवादले समान रूपले प्रयोग गर्न सक्ने र मिल्ने ‘धर्मनिरपेक्षता’ कसरी प्रगतिशील हुन सक्छ ? मुलुकले कहिल्यै सोच्न चाहेन । संविधान जारी गर्नुभन्दा अगाडि सर्वसाधारण जनतासँग अत्यधिक सोधिएको तर जनताको जवाफलाई लत्याउँदै विशेष गरी युरोपियन मुलुकहरूको दबाब र इसारामा संविधानमा अङ्कित गरिएको ‘धर्मनिरपेक्षता’ मुलुकको राजनीतिको निम्ति ‘अमृत’ वा ‘विष’ के हो ? ०६२÷६३ को दोस्रो जनआन्दोलनको बलमा युरोपियन मुलुकले कपटपूर्ण रूपले ‘नेपाली म्याग्नाकार्टा’ बनाएको धर्मनिरपेक्षता नेपालका राजनीतिक दलहरूले सामान्य ढङ्गले समेत नसोचेको बुझ्न यसको उत्पत्ति, विकास र लक्ष्यतर्फ ध्यान दिनु जरुरी देखिन्छ ।
धर्मनिरपेक्षताको अवधारणाअनुसार ‘धर्मनिरपेक्षता राज्य’ बनाउने युरोपियन मुलुकले बुझेको ‘धर्म’को अर्थ व्यापक छ । राज्यको कुनै धर्म हुँदैन भन्ने नाराभित्र लुकेको अर्थ झनै खतरनाक रहेको छ । धर्मको अर्थ गहिरोसँग बुझ्ने हो भने कर्तव्य, आचारसंहिता, नियम, रीतिरिवाज, साम्प्रदायिक आचार–विचार, नैतिक आचरण, शिष्टाचार आदिको समावेश रूप नै सही मानेमा ‘धर्म’ हो । धर्मको अर्थ जीवन–प्रणालीसमेत हो । धर्मनिरपेक्षता राज्य बनाउने लक्ष्य राख्नेहरूले राज्यको कुनै धर्म हुँदैन भन्ने राजनीतिको न्यूनतम ‘धर्म’ निभाउन बिर्संदा मुलुकले गुमाएको पहिचान अनिष्टकारी थियो भन्ने पुष्टि हुँदै छ ।
जर्ज ज्याकोब होलियोकले धर्मनिरपेक्षतालाई परिभाषित गरेसँगै सेकुलरको अर्थ खोज्ने कार्य व्यापक रूपमा हुँदै आएको छ । अङ्ग्रेजी शब्द सेक्युलरलाई नेपालीमा अनुवाद गर्दा ‘लौकिक’ भन्ने गरिएको छ । ‘लौकिक’को अर्थ लोकसम्बन्धी, सांसारिक, लोकप्रिय, सामान्य, अभ्यास, उपयोग, प्रसिद्ध, प्रचार, लुकेको वा उत्पन्न भएको, व्यावहारिक वा अन्तिम भन्ने देखिन्छ । देवीप्रसाद चट्टोपाध्यायले प्राचीन भारतीय भौतिकवादको अध्ययन गर्दै भारतीय दर्शनको मूल चेतना परलौकिक र आध्यात्मिक रहेको बताएका छन् । जहाँ जीवन र जगत्को यथार्थलाई महत्वहीन मानिएको छ । अथवा यसको उपेक्षा गरिएको छ । उनले प्राचीन ग्रन्थ, पुरातात्विक र ऐतिहासिक प्रमाणको आधारमा यस कुराको खण्डन गरेका छन् । उनको भनाइअनुसार राजसत्ताको उदयपश्चात् शासक वर्गले लौकिक चिन्तनलाई आफ्नो स्वार्थको लागि नेपथ्यमा राखिदिए । परलौकिक चिन्तनलाई बढावा दिए ।
धर्मनिरपेक्षताप्रति सङ्केत गर्दै महात्मा गान्धीले भनेका छन्, ‘धर्म तथा राजनीति दुई विषय हुन् । एक–आपसमा मिलाए उल्झन र अलग राखेमा जीवन सरल तथा सुन्दर हुन्छ ।’ मुलुकमा केही मानिसलाई लाग्न सक्छ– धर्मनिरपेक्षताले इसाई धर्मलाई फाइदा गर्नेछ । वास्तवमा धर्मनिरपेक्षताको जन्म युरोपमा भएको र तत्कालीन अवस्थामा इसाईहरूले ‘चर्च’मार्फत गरेको शासन समाप्त गर्न सफल ‘धर्मनिरपेक्ष’ राज्यको अवधारणा नेपालमा इसाईको निम्ति वरदान बन्छ भन्ने कल्पना ‘घाम चुसेर तिर्खा मेटे’जस्तै हो ।
अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले सन् १८६३ मा स्पष्ट भनेका थिए, ‘म यो र यति भन्न चाहन्छु कि संयुक्त राज्य अमेरिका चर्चले चलाउने कार्य नगरोस् । यदि कुनै नागरिक चर्च अथवा चर्चको बाहिर खतरनाक साबित हुन्छन् भने उसलाई रोकिनेछ ।’ विश्वका राजसंस्था वा राजतन्त्रहरू कुनै न कुनै धर्मसँग गाँसिएका छन् । राजसंस्थाको विकास र निरन्तरताको निम्ति धर्मको अहम् भूमिका हुने गर्दछ । बेलायत, नेदरल्यान्ड, डेनमार्कलगायत मुलुकका राजसंस्था इसाई धर्मसँग जोडिएका छन् भने थाइल्यान्ड भुटानका राजसंस्था बौद्ध धर्मसँग जोडिएका छन् । साउदी राजसंस्था इस्लाम धर्मसँग जोडिएको छ । नेपालको पुर्व राजसंस्था हिन्दूधर्मसँग गाँसिएको थियो । धर्मनिरपेक्षतावादीले अत्यन्त राम्रोसँग बुझेको सत्य के हो भने उनीहरूको सबैभन्दा ठूलो दुस्मन राजतन्त्र नै हो । राजसंस्था र धर्म एक सिक्काको दुई पाटा हुन् । राजसंस्थाले धर्मको रक्षा गर्ने र धर्मले राजसंस्थाको वकालत गर्ने हुँदा धर्म समाप्त गर्न राजसंस्थालाई बिदा गर्नुपर्ने धर्मनिरपेक्षतावादीको प्रमुख लक्ष्य नै हो ।
धर्मले पुऱ्याएको तमाम योगदानलाई अवमूल्यन गर्दै केवल आर्थिक लगानीमार्फत शिक्षित युवाहरूलाई धर्मनिरपेक्षताको बहस र पैरवी गर्न लगाउने युरोपियनहरूको कुटिल खेलमा नेपालको राजसंस्था परेको कसैसँग छिपेन । वर्तमान मुलुक निर्माणमा वा नेपालको विश्व राजनीतिक पहिचानमा हिन्दूधर्मले पुऱ्याएको योगदान अतुलनीय रहेको फेला पर्दछ । हिन्दूधर्मले निर्माण गरेको सभ्यता, विकास, परम्परा, मूल्यमान्यता, रीति, थीति, संस्कार नेपालको शक्ति हो । ती चजि समाप्त नगरेसम्म नेपाल विघटन असम्भव छ भन्ने युरोपियन बुझाइपछि धर्मनिरपेक्षतावादीहरूको मायाजालमा नेपाली नेताहरू परेको मान्न सकिन्छ ।
नेपालको हिन्दूधर्मको संरक्षक राजसंस्था रहेको, त्यसलाई समाप्त नगरेसम्म नेपाल विघटनको जग बसाउन नसकिने युरोपियन निचोडपश्चात् माओवादी ध्वंसको निम्ति गरिएको लगानीको प्रतिफल संविधानमा अङ्कित गरिएको सजिलै बुझ्न सकिन्छ । माओवादी ध्वंसको समयमा चर्च निर्माणमा ठूलो लगानी गर्नुको मतलब नेपालमा इसाई बढाउन नभई नेपालको सनातन धर्मलाई कसरी कमजोर बनाउने भन्ने नीतिअन्तर्गत थियो । युरोपमा इसाई सत्तालाई समाप्त गर्दै उठेको धर्मनिरपेक्षताले सही मानेमा संसारमा मौजुद कुनै पनि धर्मको रक्षा गर्दैन । यदि नेपाली नेता वा इसाईहरूले धर्मनिरपेक्षताले इसाई धर्मको रक्षा गर्छ भन्ने मान्नु भनेको ‘सूर्य चिसो’ हुन्छ भने जस्तै हो ।
धर्मनिरपेक्षता र युरोप :
रोमन इम्पायरले ३८० एडीदेखि इसाई धर्म स्वीकार गरेसँगै युरोपमा फैलिएको धर्म फ्रान्सेली क्रान्ति सम्पन्न हुँदासम्म करिब सम्पूर्ण युरोपमा पुरोहित (पादरी ) हरूले चर्चमार्फत शासन गर्दथे । धर्मले शासन गर्दा राजनीतिले जन्म नै नलिएको दुःखले मर्माहत भएका धर्मनिरपेक्षतावादीहरू राजतन्त्र र धर्मले मिलेर शासन गरेको रुचाउन तयार भएनन् । फलस्वरूप धर्मनिरपेक्षतावादीहरूले राजतन्त्र र चर्चबीच शक्ति बाँडफाँड गर्दै गरिएको शासनलाई समाप्त गर्न फ्रान्सेली क्रान्तिको नेतृत्व गरे । क्रान्तिपश्चात् राजतन्त्रसँगै चर्चको अधिकार खोस्दै धर्मनिरपेक्ष राज्य निर्माण गरियो । तत्कालीन समयमा इसाई धर्मलाई शासनबाट वञ्चित गर्न राज्यमा धर्म प्रचारप्रसारमा लोक लगाइयो । धर्मबारे बोल्न, लेख्न बन्देज गरियो । वास्तवमा धर्मनिरपेक्षताले कुनै पनि धर्मको उन्नति, प्रगति र प्रचारप्रसार गर्नमा जाँगर देखाउँदैन । जबसम्म धर्मलाई कमजोर गर्न सकिँदैन तबसम्म राजनीति धर्मनिरपेक्षतावादीको नियन्त्रणमा ल्याउन सकिँदैन भन्ने उनीहरूको बुझाइ रहेको भेटिन्छ ।
कम्युनिस्ट र धर्मनिरपेक्षता :
लौकिकवादले धर्मको उपेक्षा, स्तुति वा अस्वीकार गर्दछ । कार्लमार्क्सले सर्वप्रथम सन् १८४६ मा लौकिक विचारधाराको वकालत गरे । उनले सन् १८४८ मा कम्युनिस्ट घोषणपत्र निकाल्दै समाजवादी विचार विश्वसामु पस्किए । विशेषगरी कार्लमार्क्सले धर्मलाई अफिमसँग तुलना गरेसँगै नेपाली कम्युनिस्टहरूले धर्मनिरपेक्षतालाई गायत्री मन्त्र नै बनाए । सारा विश्व एक हो । हामीहरू अन्तराष्ट्रवादी हौँ भन्ने माक्र्सको सिद्धान्तमा नेपाली वाम नराम्रोसँग रुमल्लिन पुगे । मार्क्सले तत्कालीन युरोपको इसाई राजनीति, इसाई धर्मको तागतलाई छिन्नभिन्न नबनाई सर्वहारा क्रान्ति असम्भव देखेसँगै प्रयोगमा ल्याएको धर्मनिरपेक्ष शब्दको गहिरो अध्ययन र विश्लेषण गर्न नेपाली वाम अनिच्छुक रहे । गर्भपात, गर्भनिरोधक, भ्रुण स्टेमसेल अनुसन्धान, समान–लिङ्ग विवाहजस्ता विषयमा उदारता राख्ने धर्मनिरपेक्षतावादीको राजनीतिक चाहना मुलुकले बुझ्नै चाहेन । इसाई धर्म समाप्त गरेर कम्युनिस्ट क्रान्ति सम्पन्न गर्ने सिद्धान्त र सबै धर्म समाप्त गर्दै राष्ट्रहरूलाई व्यक्तिवादमा हिँडाउने युरोपेली धर्मनिरपेक्षतावादको अघोषित एकता नेपालको निम्ति दुर्भाग्य बन्ने नेपाली राजनीतिक दल र वामहरूले बुझ्न चाहेनन् ।
धर्मनिरपेक्षताले चोर बाटोबाट नै सही नेपालको संविधानमा बस्न सफल भएसँगै मुलुक अस्तित्वरक्षाको लडाइँमा होमिन बाध्य भएको छ । धर्मनिरपेक्षताले युरोपमा निभाएको धर्म अन्देखा गर्दै फगत कुर्सी र पैसाको निम्ति स्वीकार गरिएको ‘कालकुट विष’ पचाउने तागत नेपाली राजनीतिसँग तत्काल देखा परेको छैन । नेपालको अस्तित्वसँग गाँसिएको हिन्दूधर्म जसको रचयिता, लेखक वा श्रष्टा कोही फेला पर्दैन । केवल श्रुतीको जगमा निर्माण भएको सनातन धर्मले बाँधेको मुलुक भत्काउने धर्मनिरपेक्षतालाई स–सम्मान बिदा गर्न ढिला गरे नेपालको राजनीति, राजनीतिक दल र नेताहरूले आफ्नो धर्म भुले पनि धर्मनिरपेक्षताले आफ्नो ‘धर्म’ भुल्ने छैन ।https://www.ghatanarabichar.com/159627