अमेरिका – चीन व्यापार युद्ध, अमेरिकन युगको रक्षार्थ !
सोभियत रुसमा समाजवादी सत्ता ढलेसँगै विश्वको एक मात्र बादसाह बन्न सफल अमेरिका चीनको तरक्कीबाट नाखुस थियो । विश्व व्यापार र युद्ध मार्फत एकलौटी प्रभुत्वको साथ छाडा राजनीतिक नृत्यमा रुमल्लिँदा चीनको शान्त ‘अर्थ राजनीति’ नजरअन्दाज गर्न पुग्यो । रुसी सत्तालाई पतन गराएको अभिमानले इराक देखी अफगानिस्तानको नोक्सानदायी यात्रामा निस्कँदा चिनियाँ प्रगतिबाट पछाडी परेको रिस व्यापार युद्ध मार्फत पोख्न हतारिदै छ ।
निर्वाचन पुर्व जनतासँग गरेको वाचा सम्झिँदै सन् २०१८ को मार्च महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीट गर्दै भने , ‘व्यापार युद्ध राम्रो हो र यसलाई जित्न सजिलो छ ।’ वास्तवमा व्यापार युद्ध ट्रम्पको सोचको उपज नभएर अमेरिकी वाध्यता भएको विश्लेषकहरुको धारणा छ । ट्रम्प प्रशासन चीनलाई उत्पादनको मौलिक डिजाइन चोरी गरेको ( इन्टेलेक्चुअल प्रपर्टीको चोरी )आरोप लगाउँदै ६० अरब डलरको व्यापारमा अरितिक्त शुल्क लगाउन चाहान्छ । व्हाइट हाउसको भनाई अनुसार १००० भन्दा बढि उत्पादनको सूची तयार भइसकेको छ । जसमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाउन सकिन्छ ।
राष्ट्रपति ट्रम्पको पटक पटकको धम्किसँगै हुँदै आइरहेको चीन – अमेरिका वार्ता कै समयमा ट्रम्प प्रशासनले २०० अरब डलरको चिनियाँ सामान माथी १० देखी २५ प्रतिशत सम्म अतिरिक्त कर बढाएको छ । आफ्ना कुरा चीनले नमाने थप ३०० अरब डलर सामान माथी कर लगाउने राष्ट्रपति ट्रम्पको धम्कीले व्यापार युद्ध नयाँ मोडमा प्रवेश गरेको छ ।
अन्तराष्ट्रीय व्यापारको मुल्य , मान्यता र कानुनलाई धज्जी उडाउने मात्र हैन विश्व व्यापार संगठनले निर्माण गरेका विधि ,विधानलाई राष्ट्रपति ट्रम्पले उलंघन गरेको पुष्टि डब्लुटिओले गरिसकेको छ । राष्ट्रपति ट्रम्पको आक्रामक शैलीको बावजुद अत्यन्त संयमित हुँदै चीनले शब्दहरु खर्च गरिरहेको छ । अमेरिकाको सन्तुष्टि र शान्तिको निम्ति थुप्रै परिवर्तन गर्न तयार भएको संकेत चीनले दिएको छ ।
के हो व्यापार युद्ध ?
कारोबार मार्फत युद्ध गर्नुलाई ‘ट्रेड वार ‘ भनिन्छ । व्यापार युद्धमा हतियारको स्थान विदेशी सामानलाई निसाना बनाइन्छ । यस्तो युद्धमा एक देशले अर्को देशबाट आउने सामान माथी कर बढाउने गर्छ । बदलामा अर्को देशले पनि करको दरमा वृद्धि गर्ने गर्छ । जसले व्यापारिक टकराव बढाउने छ । फलस्वरुप देशको अर्थव्यवस्था प्रभावित हुँदा राजनीतिक तनाव सिर्जना हुनेछ ।
अमेरिका – चीन व्यापार घाटा
पछिल्ला वर्षहरुमा अमेरिकाको व्यापार घाटा बढेको बढै छ । दुई देश बीच आयात र निर्यातको अन्तर ‘ट्रेड डेफिसिट’ वा ‘व्यापार घाटा’ रोकिने संकेत देखा पर्दैन । अमेरिका र चीनको बीच ठूलो ‘ट्रेड डेफिसिट’ छ । यसको मतलब चीनले अमेरिकालाई व्यापक मात्रामा सामान बेच्दै आएको छ । तर अमेरिकाबाट न्युन मात्रामा सामान खरिद गर्ने गर्छ । सन् २०१८ मा यसको अन्तर ३७५ अरब अमेरिकी डलर रहेको देखिन्छ । सामान्यतया ‘ट्रेड डेफिसिट’ नराम्रो कुरा नरहे पनि राष्ट्रपति ट्रम्पको अरुचीको विषय हो । अमेरिका सेवाको क्षेत्रमा अब्बल रहेको छ भने चीन उत्पादनको क्षेत्रमा सिक्का जमाउँदै छ । अमेरिकाले सन् २०१७ मा २७२ अरब डलरको सेवा निर्यात गरेको थियो जुन बैंकिङ्ग , ट्राभल र टुरिजमको क्षेत्रमा थियो । अमेरिकी अर्थव्यवस्थामा सर्विस सेक्टरको योगदान ९० प्रतिशत रहेको छ । यस्तो अवस्थामा राष्ट्रपति ट्रम्पको ‘ट्रेड डेफिसिट’को कुरा सर्वसाधारण मानिसको रुचीको विषय बन्न सकिरहेको छैन । आलोचकहरु ट्रम्प प्रशासनको यस बयान संरक्षणवादको तर्फ आकर्षित भएको देख्दै छन ।
ट्रम्प प्रशासनको बिरोधाभास – मुक्त व्यापार र संरक्षणवाद सँगसँगै
आफ्नो देशको उद्योगलाई बढाउन विदेशी सामान माथी अनेक किसिमका बन्देज लगाउने कदमलाई संरक्षणवाद भनिन्छ । राष्ट्रपति ट्रम्प स्टील र एल्युमिनियम माथी अतिरिक्त शुल्क लगाउँदै संरक्षणवादको अभ्यास गर्दै छन ।
मुक्त व्यापार संरक्षणवादको ठिक उल्टो हुने गर्छ । मुक्त व्यापारको मतलब उत्पादन माथी कम भन्दा कम कर लगाइन्छ, जसले गर्दा संसार भरका उपभोक्ताले सस्तोमा सामान किन्न पाउँछन । फलस्वरुप कम्पनीलाई अत्यधिक फाइदा हुन जानेछ । उनीहरु सदैब लागत कम गर्न लागिरहने छन । मुक्त व्यापारले कार, स्मार्टफोन, खाद्य उत्पादनदेखी फूल जस्ता सामान तपाँईको घरसम्म पुर्याउने छ । मुक्त व्यापारको कारण कम्पनीहरु सस्तो कच्चा पदार्थ जता पाउँछ त्यतै आकर्षित हुने हुँदा स्वदेशी सामान खरिद गर्न अनिच्छुक बन्ने छन । जसको कारण समृद्ध देशमा रोजगारीमा कमी वा असामान्य वृद्धि हुनेछ ।
गत मार्च महिना देखी चीनको विरुद्ध अमेरिकाले स्टील आयातमा २५ प्रतिशत र एल्युमिनियममा १० प्रतिशत अरिरिक्त शुल्क लिन शुरु गरेको छ । अमेरिका धातुको क्षेत्रमा बाहिरी देशसँग निर्भर रहँदै आएको छ । व्यापार युद्ध भएमा अमेरिका आफ्ना हतियार उद्धोगको निम्ति आवश्यक कच्चा पदार्थ क्यानडा र युरोपियन देशबाट लिने छ । सैद्धान्तिक रुपमा विदेशी स्टील र एल्युमिनियम माथी अतिरिक्त शुल्क लागे पछि अमेरिकी स्टील र अल्युमिनियम उद्धोगलाई फाइदा हुनेछ ।
अर्थशात्रीहरु पुर्णतया विश्वस्त छन , कर बढेकोले अक्सर उपभोक्ताले खरिद गर्ने सामानको मुल्य बढाउने कारण बन्ने छ । जसको कारण अर्थशास्त्रीहरु ट्रम्प प्रशासनको व्यापार युद्धको खिलाप छन । मुक्त व्यापारको समर्थक र वकालत कर्ताहरु ट्रम्प प्रशासन कारण दुनियाँभरका उपभोक्तालाई नोक्सान पुग्नेमा चिन्तित छन ।
व्यापार युद्धको असर
विश्लेषकहरूको अनुसार घट्दो अर्थव्यवस्था र अमेरिकासँग चलिरहेको व्यापारिक युद्धले अर्थतन्त्रमा गुणस्तर क्षेत्रको ठूलो कदम चाल्न चीनको हात बाँधिएको छ । १४ जुन २०१९ मा नेशनल ब्युरो अफ स्टाटिक्सले प्रकाशित गरेको सम्पति बिक्रीको नवीनतम डाटा अनुसार , सन् २०१९ को जनवरी – मे महिनाको अवधिमा मूल्यको कुल बिक्री ६.१ प्रतिशत बढ्यो । वर्षको पहिलो चार महिनामा ८.१ प्रतिशतबाट घट्यो । फ्लोर स्पेसद्वारा बिक्री १.६ प्रतिशतले घट्यो, पहिलो चार महिनामा ०. ३ प्रतिशतको तुलनामा गिरावट आएको छ । व्यापार युद्धका कारण चीनले बहुतले घर निर्माण गर्ने व्यवसायमा लगानी घटाउँदै छ ।
व्यापार युद्धको तिब्र हल्लाको समयमा चीनको अमेरिकी लगानीको वृद्धिमा तीव्र गिरावट आएको छ । १४ जुनमा जारी गरिएको डाटाले बताएको छ कि व्यापार युद्धले लगानीकर्तामाथि विश्वास राखेको छ। चिनियाँ वाणिज्य मन्त्रालयबाट प्राप्त तथ्याङ्कले देखाएको छ कि चीनमा अमेरिकी लगानीले जनवरी र मे महिनाको बीचमा ७.५ प्रतिशत वृद्धि गरेको छ। डाटा अनुसार , अमेरिका चीनमा लगानी गर्ने देश मध्य मार्च महिनामा तेस्रो , अप्रिलमा छैटौं ठूलो विदेशी लगानीकर्ता थियो । पछिल्लो मे महिनामा अमेरिकी लगानीको कुनै पनि आंकडा उपलब्ध छैन ।
व्यापार युद्धले विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थाको बीचको व्यावसायिक सम्बन्धमा ठूलो तनाव बढदै छ । जसको कारण पछिल्लो १७ वर्षमा औद्धोगिक विकास दर सबै भन्दा कम भएको छ । चिनियाँ वाणिज्य प्रवक्ता गुआ फेंगले १३ जुनको प्रेस सम्मेलनमा भने “व्यापार युद्धमा कुनै विजेता हुने छैन । जसले अमेरिका र विश्वव्यापी अर्थतन्त्रमा मन्दी ल्याउन सक्छ । चीन र अमेरिका बीच ११ पटक भएका असफल बैठक जुन १४ मा अन्तिम पटक सम्पन्न भएको छ । चीनका उप-प्रधानमन्त्री एवम शीर्ष वार्ताकार लियूले भने अमेरिकासँग व्यापार वार्ता टुटेको छैन ।
व्यापार युद्ध , अमेरिकन – युरोपियन युगको रक्षार्थ
विश्लेषक टम फ्रिडम्यानको बुझाई र लेखाईमा व्यापार युद्धको असली मकसद भविष्यमा लेखिने इतिहासको पहिलो च्याप्टर हो । अहिले जे भइरहेको छ । त्यो पुराना र नयाँ महाशक्तिबीच भविष्यको आर्थिक र राजनीतिक शक्ति सम्बन्ध पुन: परिभाषित गर्ने संघर्ष हो । चिनियाँ विश्लेषकहरु समेत टम फ्रिडम्यानको भनाईसँग सहमत छन । उनीहरु मान्छन , व्यापार र युद्धमा व्यापार र भन्सार शुल्क भन्दा ठूला कुरा छन । यो भविष्यको निम्ति भइरहेको लडाई हो ।
सन् २००१ मा डब्लुटिओको सदस्यता लिएको चीनलाई हेर्ने दृष्टिकोण अमेरिकाको तब बदलियो जब चीनले सन् २०१५ मा ‘मेड इन चाइना -२०२५ ‘ रणनीति घोषणा गर्यो । आफूलाई महाशक्तिशाली मान्ने अमेरिका र युरोपियनहरुको नजरमा सन् २०१५ सम्म चीन केवल ‘सस्तो र कमसल ‘ सामान उत्पादन गर्ने मुलुक थियो । राष्ट्रपति सीको आक्रामक र परिपक्क व्यापार नीति पछि चीन ‘ टेक्नोलोजिकल सुपरपावर ‘ बन्ने तर्फ निर्बाध बढेको अमेरिकी प्रशासनको टाउको दुखाईको विषय हुन पुग्यो । पुँजी , प्रविधि र बजार संरक्षणको प्रतिबद्धता सहित अघि बढेको चीनको यात्रा रोक्नु अमेरिकी बाध्यता बन्दै थियो ।
‘ट्रेड डेफिसिट’ र चीनको आर्थिक छलाङलाई रोक्ने एक मात्र अन्तिम विकल्पको रुपमा मान्ने ट्रम्प प्रशासन चीनसँग व्यापार युद्ध गर्न ढिला भएको मान्दै छ । सी प्रशासनको आर्थिक र व्यापारिक चाल बिना अवरोध अगाडी बढेमा युरोपियन र अमेरिकी युग समाप्त हुने निचोड नै व्यापार युद्धको बाध्यात्मक कडि हो । बिसौं शताब्दीमा स्थापित अमेरिकी प्रभुत्वको निरन्तरताको निम्ति बाध्यात्मक बनेको व्यापार युद्ध चीनले जितेमा चीन आर्थिक मात्र हैन सामरिक महाशक्ति राष्ट्र बन्ने छ ।
http://nepalpati.com/bichar/america-chin…